काठमाण्डौ । बैशाख १६ गतेदेखि काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञा जेठ महिनाभरसम्म लागू गर्ने तयारी थालिएको छ। काठमाण्डौ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच भएको अनौपचारिक छलफलले कम्तीमा जेठ मसान्तसम्म निषेधाज्ञा लम्ब्याउनुपर्ने निश्कर्ष निकालेको हो ।
‘बैशाख १६ गतेदेखि जारी निषेधाज्ञाले समेत कोरोना संक्रमणको चेन ब्रेक भइनसकेको विज्ञहरुले निश्कर्ष सुनाएका छन् ।’ एक प्रमुख जिल्ला अधिकारीले बिजशालासँग भने-‘निषेधाज्ञाले कोरोना संक्रमणलाई धेरै बढ्न नदिएको, तर संक्रमणको चेन नै ब्रेक भने गरिनसकेको विज्ञहरुको विश्लेषणमा हाम्रो पनि सहमति छ ।’
ती प्रजिअकाअनुसार यही निश्कर्षसहित कोरोना संक्रमणलाई नियन्त्रणका लागि जारी निषेधाज्ञालाई जेठ अन्तिमसम्म लम्ब्याउनुको विकल्प छैन । ‘कम्तीमा पनि जेठ मसान्तसम्म निषेधाज्ञा लम्बिन्छ ।’ ती प्रजिअले बिजशालासँग भने-‘बरु जारी निषेधाज्ञालाई थप कडा बनाउँदै लगिनेछ ।’
प्रमुख जिल्ला अधिकारीहरुको अनौपचारिक छलफलले हालै सरकारले जारी गरेको अध्यादेशमा समेत निषेधाज्ञालाई कडा बनाउनुपर्ने व्यवस्थाहरु आएकाले सोहीअनुसार कडाई गर्ने निश्कर्ष समेत निकालेको छ । ‘अब यो वा त्यो बाहानामा घरबाहिर निस्किनेहरुलाई कारबाही गर्ने कुरामा कुनै कम्प्रोमाइज हुने छैन।’ प्रजिअले अगाडि भने-‘अत्यावश्यक कामबाहेक निस्किनेलाई जेल सजायसम्म गर्न थालिनेछ । अब पनि कडाई गरिएन भने कोरोना संक्रमणको ग्राफ नियन्त्रणमा आउने देखिएन । चेन ब्रेक हुनै गाह्रो हुने भयो ।’
पछिल्लो निर्णयअनुसार काठमाण्डौ, ललितपुर र भक्तपुरको निषेधाज्ञा जेठ १३ गतेसम्म कायम छ । जेठ ११ वा १२ गते बैठक बसेर अनौपचारिक रुपमा भएको सहमतिअनुसारकै निर्णय हुने बताइएको छ । सोही बैठकले निषेधाज्ञालाई लम्ब्याउने निर्णय लिनेछ ।