काठमाडौं–अर्थोपेडिक सर्जन डा. मुराद हुसेनको कोभिड–१९ को संक्रमणबाट निधन भएको छ । आइतबार विहान ६ बजे नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा ३४ वर्षीय डा. मुरादको निधन भएको हो ।
कलेजमा पढ्दा उनका सिनियर रहेका डा. सन्तोष बटाजुले कोभिड–१९ कारण डा. मुरादको निधन भएको पुष्टि गरे । ‘आज विहान ६ बजे मेडिसिटी अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो,’ उनले भने, ‘हामीले एउटा होनहार युवा चिकित्सक गुमायौं ।’
१० दिनअघि उनलाई वीरगन्जस्थित वीरगन्ज हेल्थकेयर हस्पिटलमा भर्ना गरिएको थियो । त्यहाँ स्वास्थ्यमा सुधार हुन नसकेपछि उनलाई ८ दिनअघि एयर लिफट गरेर मेडिसिटीमा ल्याएर उपचार थालिएको थियो ।
वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सक डा. उदय सिंहले पनि कोभिड-१९ का मुलुकले एक युवा र उर्जाशील चिकित्सक गुमाएको बताए । वीरगन्ज स्थायी घर भएका डा. मुरादले बंगलादेशबाट एमबीबीएस गरेका हुन् । उनी केही समयअघि मात्रै त्यहीबाट अर्थोपेडिकमा एमएस गरेर फर्किएका थिए ।