आइतबार १९ चैत्र २०७९

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबी गर्दै १४९ जना सांसदको पत्र राष्ट्रपति कार्यालयमा दर्ता भएको छ । एमाले नेता माधव कुमार नेपाल समेतका नेताहरुले राष्ट्रपतिलाई भेटेर बहुमत हस्ताक्षर सहितको दाबी दर्ता गराएका हुन् ।

विपक्षी गठबन्धनका नेताहरुले १४९ जना सांसदको हस्ताक्षर बुझाएर बाहिरिएका छन् ।नेपाली कांग्रेस, माअ‍ोवादी केन्द्र, जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्ष र नेकपा एमाले नेता माधव नेपाल समूहका केही सांसदसहित १४९ जना सांसदको हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएर बाहिरिएका हुन् ।

राष्ट्रपतिले संविधान र कानून हेरेर विज्ञहरुसित सल्लाह गरेपछि निर्णय लिने बताएको शीतलनिवास पुगेका एक नेताले जानकारी दिए ।त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीमा पुनः दाबीगरेका छन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले १५३ सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले दाबी गर्नु एक घण्टा अगाडि दाबी पेस गरेका हुन् ।

दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीकाे हस्ताक्षर रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।

विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबी प्रस्तुत गर्न राष्ट्रपति कार्यालय शितल निवासमा पुग्नु केहीबेर अघि पुगेका प्रधानमन्त्री केपी शर्मा ओली शितल निवासबाट बाहिरिएका छन्। उनले नेकपा एमालेका १ सय २१ जना सांसद नै आफूसँग रहेको दाबी गरेका छन् ।

साथै उनले माधव नेपाल पक्षीय ५ सांसदको हस्ताक्षर दुरुपयोग भएको जानकारी पनि राष्ट्रपतिलाई गराएको स्रोतले जानकारी दियो ।सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, नारायण खतिवडा र गणेश पहाडीले हस्ताक्षर दुरूपयोग गरेको भन्दै ओलीलाई गराएको र सोही सन्देश ओलीले राष्ट्रपतिलाई दिएको स्रोतको दाबी छ ।

६२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया