शुक्रबार १७ चैत्र २०७९

काठमाडौं। कोरोनाभाइरस संक्रमित भएर निको भइसकेका बिरामीको आँखाको दृष्टि खोस्ने र ज्यानसमेत लिन सक्ने कालो ढुसी (म्युकरमाइकोसिस)को प्रकोप देखिएको भारतमा अहिले अर्को सेतो ढुसी पनि देखिएको छ । कालो ढुसीभन्दा धेरै घातक मानिने सेतो ढुसी (क्यान्डिडोसिस) का ४ जना बिरामी नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारको पटनामा भेटिएका हुन् । सेतो ढुसी फोक्सोमा संक्रमणको मुख्य कारक हो । फोक्सोका अलावा छाला, नङ, मुखको भित्री भाग, अमाशय, मृगौला, गुप्तांग मस्तिस्क आदिमा पनि यसले संक्रमित गर्छ ।

पटना मेडिकल कलेज एण्ड हस्पिटलमा माइक्रोबायोलोजी विभागका प्रमुख डा. एसएन सिंहका अनुसार अहिलेसम्म यस्ता ४ बिरामी भेटिएका छन् जसमा कोभिढ–१९ जस्तै लक्षण थिए । तर, उनीहरु कोरोनाभाइरसबाट नभइ सेतो ढुसीबाट संक्रमित थिए । यी बिरामीहरुको र्यापिड एन्टिबडी, र्यापिड एन्टिजेन र आरटी पीसीआर गरी तीनवटै परीक्षण गरिएका थिए तर सबै परीक्षणमा कोरोना नेगेटिभ देखियो । उनीहरु एन्टिफंगल औषधिबाट उपचारपछि ठिक भए । बिरामीहरुमध्ये एक जना पटनाको चर्चित अस्पतालका शल्यचिकित्सक पनि हुन् । उनलाई एउटा ठूलो अस्पतालको कोरोना वार्डमा भर्ना गरिएको थियो । जाँचमा उनी सेतो ढुसीबाट संक्रमित भएको खुलासा भयो । एन्टिफंगल औषधिको उपचारपछि उनको अक्सिजन लेभल ९५ पुग्यो ।

चिकित्सकहरुका अनुसार ह्वाइट फंगसका कारण मानिसको फोक्सोमा देखिने लक्षण एचआरसिटीमा कोरोनाको जस्तै देखिन्छन् । यी लक्षणमा फरक छुट्याउनु निकै कठिन छ । यस्ता बिरामीकोर्यापिउ एन्टिजेन र आरटी पीसीआर नेगेटिभ रिपोर्ट आउँछ । एचआरसिटीमा कोरोनाको जस्तो लक्षण देखिएमा सेतो ढुसीको पुष्टिको लागि कफको कल्चर गर्नुपर्छ । अक्सिजन सपोर्टमा रहेका कोरोना बिरामीलाई यो सेतो ढुसीले संक्रमित गर्न सक्छ ।

सेतो ढुसीको कारण पनि कालो ढुसीको जस्तै हुन् । मधुमेह, एन्टिबायोटिक्सको सेवन र स्टोरेयड औषधि लामो समय सेवन गर्दा यसको जोखिम बढ्छ । औषधि खाइरहेका क्यान्सरका बिरामीलाई यसको जोखिम उच्च हुन्छ । नवजात शिशुमा पनि यो संक्रमण डाइपर क्यान्डिडोसिसको रुपमा हुन्छ । यसमा क्रिम रंगका सेता धब्बा देखिन्छन् । साना बालबालिकामा यसले ओरल थ्रस्ट गराउँछ र महिलाहरुमा यो ल्युकोरियाको मुख्य कारण हो ।

बुधबार पटनामा कालो ढुसीका पनि १९ बिरामी पाइएका छन् । एम्समा ८, आइजीआइएमएसमा ९ बिरामी भर्ना भएका छन् । आइजीआइएमएसमा बुधबार २ बिरामीको शल्यक्रिया गरियो । यहाँ अहिलेसम्म ७ बिरामीको शल्यक्रिया भएको छ । अझै शल्यक्रिया गराउनुपर्ने ५ बिरामी लाइनमा छन् ।

४७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया