काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदलमा माधवकुमार नेपाल पक्षबाट भीम रावल र प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सुवास नेम्वाङले नेतृत्व गर्ने नेता नेता नेपालले बताएका छन्।
अध्यक्ष ओली र नेता नेपालबीच सिंहदरबारमा आज दिउँसो भएको छलफलबाट सो सहमति भएको हो। एमाले वार्ता टोलीमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।
आइतबार ओली र नेपालबीच वान टु वान वार्ता भएको थियो । सिंहदरबारमा बसेको एमाले अध्यक्ष र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वान टु वान वार्ताले दुबै तर्फबाट ५–५ जना रहने गरी वार्ता टोली बनाउने सहमति जुटेको बताइएको छ ।
बैठकपछि बाहिर निस्केका नेता माधव नेपालले ३ दिनभित्र वार्ता टोलीले पार्टी विवादका सन्दर्भमा प्रतिवेदन बुझाउनुपर्ने धारणा आफूले राखेको जानकारी दिए । वार्ताबाट बाहिरिदै गर्दा प्रधानमन्त्री ओलीले पनि पार्टी विवाद समाधानतर्फ जाँदै गरेको प्रतिक्रिया दिएका थिए।