आइतबार ०६ आषाढ २०७८

सर्लाहीको बरहथवामा छतबाट लडेर एक महिलाको ज्यान गएको छ । बरहथवा नगरपालिका–५ स्थित शनिबार आफ्नै तीनतले घरको छतबाट लडेर महिलाको ज्यान गएको हो । छतमा लुगा सुकाउने क्रममा अचानक छतबाट भुइँमा खस्दा पूर्णबहादुर थापामगरकी ५१ वर्षीय श्रीमती गीता थापामगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

छतबाट लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्ज लगिएको थियो । घाइते महिलाको त्यहाँ उपचार हुन नसकी थप उपचारका लागि वीरगञ्जकै न्यूरो अस्पताल लाने क्रममा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो ।

त्यस्तै राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश कार्यालयमा कार्यरत कार्यालय सहयोगी भोलानाथ पौडेललाई पत्नीशोक परेको छ । पौडेलकी श्रीमती भगवतीको आज पोखरास्थित फेवासिटी हस्पिटलमा ५५ वर्षका उमेरमा उपचारका क्रममा निधन भएको हो ।

केही वर्षयता नसाको समस्या रहेकी भगवतीको तीन दिनअघि टाउकाको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापश्चात आज घर फर्कने क्रममा बेहोश भएपछि तत्काल सघन उपचार कक्षमा उपचार गरिएकामा सोही क्रममा उहाँको निधन भएको पारिवारिका सदस्यले बताएका छन् । स्वर्गीय भगवतीको आजै पोखरा महानगरपालिका वडा नं १७ स्थित सीताघाटमा अन्तिम संस्कार गरिएको छ । उहाँका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

१०० पटक हेरिएको

तपाईको प्रतिक्रिया