शनिबार ०५ आषाढ २०७८

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा यतिखेर काेराेना संक्रमितहरूकाे उपचार भइरहेछ । तर अक्सिजन अभाव र अन्य अस्तव्यस्ताका कारण कोरोना संक्रमितकाे ज्यान जान थालेपछि अन्य संक्रमित तथा कुरुवाहरू विचलित बनेका छन् । सँगै उपचार भइरहेका संक्रमितहरुको अक्सिजनको मात्रा नपुगेर एकाएक मृत्यु हुन थालेकाे दृश्यले अन्यलाइ झन् बिचलित बनाउने नै भयाे ।

कोरोना संक्रमित बिरामीका धेरै कुरुवाहरूले अक्सिजन अभावमा आफ्नै छेउमा उपचार गराइरहेका संक्रमितको मृत्यु भएको देखेको सुनाउनुभयो । काठमाडौंबाटै कोरोना संक्रमित आफ्नो दाइलाई राति भर्ना गराउन र अक्सिजन दिलाउन अत्यन्तै सकस परेको एक कुरुवाको भनाइ थियाे ।

आफ्नै आँखाअगाडि बिरामीहरुको मृत्यु भएकाे देख्दा आफ्ना बिरामीहरूको पनि मृत्यु हुने हाे कि भन्ने डरले कुरुवाहरू अत्याधिक मानसिक पीडाबाट गुज्रिनुपरेको बताउँदै थिए ।

एक कुरुवा भन्नुहुन्छ, ‘एक सिकिस्त कोरोना संक्रमित आउनुभएको थियो, बेलुका उहाँको अक्सिजन अभावका कारण हाम्रै अगाडि निधन भयो । यहाँका डाइरेक्टर साबहरुले अक्सिजन ल्याउन धेरै प्रयासरत हुनुहुन्थ्यो । तर अक्सिजन आइपुगेको थिएन । ती संक्रमितका आफन्तहरु पनि आफैँ अगाडि बढेर अक्सिजन ल्याउन खोजिरहनुभएको थियो । ट्रक लोड पनि आएको थियाे । मुख्यगरी आइसीयू र वार्डहरुमा आउने अक्सिजन थिएन । अक्सिजन प्लाण्टमा अक्सिजन आइरहेको थिएन । यता मेरो दाइको पनि अवस्था उही थियो । हामी बेड पाउने आशामा थियौँ । हामीले ५ घण्टामा पनि बेड पाएनौं । अक्सिजन पनि पाएनौं । डेड बडी निकाल्नु परेकाले ५ घण्टामा दाइको स्थिति गम्भीर बनिसकेकाे थियो । डाइरेक्टर साबहरुले एउटा सिलिण्डर ट्याङ्क दिनुभएको थियो । तर त्यो सकियो । त्यसपछि आफ्नो लागि मैले आफैँ अक्सिजनको व्यवस्था गरेँ । मैले चिनेको एक क्षेत्रपाटीको क्लिनिकमा मागेर ल्याएँ । त्यो व्यवस्था नभएको भए मेरो दाइको पनि हालत उही हुने थियो । यताको अस्पताल र उताको अस्पतालको अक्सिजनले मात्रै उहाँ दाइलाई बचाउन सकेँ । अहिले दाइ आइसीयूमा हुनुहुन्छ ।’

यद्यपि बिहीबार बिहानसम्ममा भने अस्पतालको अनेक प्रयासले अक्सिजनको अभाव हल भएको उहाँको भनाइ छ । त्यसअघि बुधबार रातिको घटनालालई चाहिँ उहाँले अक्सिजनको मात्रै अभाव नभएर व्यवस्थापनको पनि लापरबाही भएको बताउनुहुन्छ । त्यो समय लिफ्ट नचलेको र अक्सिजन सिलिण्डरहरु आफैँ काँधमा बोकेर आइसियू कक्षसम्म तलमाथि गर्नुपरेको उहाँले सुनाउनुभयो । त्यस्तै औषधि किन्न चिकित्सकहरुले लगाउने तर औषधि ल्याएपछि कुन कसरी खुवाउनुपर्ने हो, त्यो नभनेको उहाँको आरोप छ । उहाँले सँगैको बिरामीलाई त्यो खालको व्यवहारले एक बिरामीको मृत्यु भएको बताउनुभयो ।

‘सँगै बिरामी आमा हुनुहुन्थ्यो । उहाँका आफन्तलाई औषधि ल्याउन लगाउनुभयो चिकित्सकहरुले,’ उहाँले सुनाउनुभयाे, ‘तर के कति र कसरी खुवाउने चाहिँ भन्नुभएन । बिरामीको कुरुवा औषधि ल्याएर बोकिरहनुभएको थियो । औषधि के गर्ने भनेर बस्दाबस्दै उहाँको आमाको निधन भइसक्यो । जबकि चिकित्सकहरु नै आउनुभएन । बिरामीलाई औषधि दिनुपर्ने थियो कि ? यसरी अन्यमनस्क भएर पनि धेरैले धाेका पाइरहेका छन् ।’

बिरामी फिर्ता लैजान उर्दी

त्यस्तै बुधबार राति नै अक्सिजन अभावले आफ्नो कोरोना संक्रमित बिरामीलाई अफ्ठ्यारो परेको र अन्य संक्रमितहरुको भने मृत्यु नै भएको ती कुरुवाले सुनाउनुभयो । त्यस राति अस्पतालका डाक्टरहरुले बोलाएर अस्पतालमा अक्सिजन रित्तिएको र आफ्नो बिरामी फिर्ता लैजान उर्दी गरे । कि त अक्सिजन ल्याइदिनु भनेर सूचना गरेको उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘राति हामीलाई बोलाएर अस्पतालले भन्यो कि हाम्रो अस्पतालको अक्सिजन प्लान्ट कोल्याप्स भयो । हामी सक्दैनौँ अब । तपाइँहरुको बिरामी लैजानुहोस्न, कि त हामीलाई आफैँ अक्सिजन ल्याइदिनुस् । अनि हामी सबै कुरुवाहरु आत्तियौँ । सबै दौडिएका थियौँ, अक्सिजन कताबाट ल्याउने भनेर । अब बिरामी कता लैजाने भनेर हामी भयावह स्थितिमा थियौँ । कोल्याप्स भएकै कारणले मेरै नजिकको ११ नम्बर वार्डको एक कोरोना संक्रमित बिरामीको राति नै निधन भइसकेकाे थियाे । उहाँ ठाउँको ठाउँ निधन भयो, जाबकि राम्राे अवस्थामा नै उहाँ आउनुभएको थियो ।’

अक्सिजन अभावमा बिरामीको मृत्यु हुनु सरकारको दोष भएको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो । बिरामीका कुरुवाले कसरी अक्सिजन ल्याउन सकिन्छ र ? उहाँले प्रश्न छ । उहाँले भन्नुभयो, ‘हामी बिरामी कुरुवाले कहाँबाट ल्याउने अक्सिजन ? कसरी ल्याउने ? देशैभरि अभाव छ अक्सिजनकाे, यत्रा अस्पतालले जाेहाे गर्न नसकेकाे खक्सिजन हामी बबुरा कुरुवाले कसरी लिने ? त्यो पनि एक सिलिण्डर अक्सिजनले कति नै पुग्छ र ? त्यो त सरकारको काम हो, देश-विदेश जहाँबाट भए पनि जनताका लागि अक्सिजन ल्याउनुपर्यो ।’

अक्सिजनको अभावका कारण वार्डका सबै संक्रमित बिरामीहरु नीलो भइसहेको उहाँले देख्नुभएकाे थियो ।

गम्भीर संक्रमितसँगै सामान्यलाई राखेर उपचार

त्यस्तै अनामनगरबाट कोरोना संक्रमित छोराको उपचार गर्न ल्याएका एक बाबुले आफ्नो बिरामी गम्भीर नभए पनि अक्सिजनको भने अत्यन्तै अभाव भएको बताउनुभयाे । ‘मेरो छोराको कोरोना पोजेटिभ भए पनि भम्भीर त छैन,’ उहाँले सुनाउनुभयाे, ‘तर अक्सिजनको अभाव भने कति हो कति देखे यहाँ । आँखै अगाडि अक्सिजनको अभावले मान्छे मरेको देखेँ । साह्रै दुःखलाग्दो भयो ।’

त्यस्तै, सर्वसाधारणको लागि एक गम्भीर समस्या भनेकाे कोरोना संक्रमित भएका गम्भीर अवस्थाका पोजेटिभ र नर्मल अवस्थाका पोजेटिभ दुवैलाई एकै ठाउँमा राखेर उपचार गरिनु रहेकाे पनि उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पोजेटिभ भएर उपचारका लागि यहाँ आइयो तर गम्भीर र नर्मल अवस्थाका संक्रमितलाई एकै ठाउँमा राखेर उपचार हुन्छ ।’

फिजिकल र सोसियल डिस्टान्समा राखेर उपचार गर्दा हुँदैन ? भनेर सोध्दा डाक्टरहरूले आफूहरु पनि समस्यामा नै रहेकोले भुइँमै उपचार गर्न बाध्य भएको जवाफ दिएको उहाँ बताउनुहुन्छ ।

नर्मल बिरामीलाई अस्पतालले घर लैजान दबाव दिँदा झन् समस्यामा परेको गुनासो गर्नुभयो । ‘बल्लतल्ल उपचार गराउन अस्पताल ल्याएको, फेरी घर लैजाँदा घरबेटीले घरभित्र पस्नै दिँदैन,’ चिन्तीत हुँदै उहाँले सुनाउनुभयो । उता आफ्नो घर लैजानु भने गाउँपालिकाले नदिने उहाँको भनाइ थियो ।

१३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया