बुधबार १५ चैत्र २०७९

विराटनगरमा थप सात संक्रमितको मृत्यु : विराटनगरका विभिन्न अस्पतालमा थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा तीन, नोबेल अस्पतालमा तीन र विराट मेडिकल शिक्षण अस्पताल बूढीगंगामा एक संक्रमितको मृत्यु भएको हो । विराटनगरस्थित कोसी अस्पतालमा रहेको कोभिड–१९ उपचार केन्द्र विराटनगर ११ का ३८ वर्षीय पुरुष, विराटनगर–६ का ५६ वर्षीय पुरुष र इटहरी–५ का ७९ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार मृत्यु भएको उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले बताए ।

यस्तै, महोत्तरीको पिपरा गाउँपालिका–१ का ७७ वर्षीय पुरुष, सुनसरीको धरान–१ का ३८ वर्षीय पुरुष र धनकुटाको छथर–जोरपाटी गाउँपालिका–४ का ५६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । विराटनगर महानगरका ४९ वर्षीय पुरुषको पनि कोरोनाले मृत्यु भएको विराट मेडिकलको कोभिड अस्पतालका इन्चार्ज डा. सुनील देवले जानकारी दिए ।

सुदूरपश्चिममा आफ्नै नेतृत्वमा सरकार बनाउन एमाले अग्रसर, माओवादी नेतृत्वको सरकार ‘धराप’मा : नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको सुदूरपश्चिम प्रदेश सरकारको भविष्य पनि धरापमा परेको छ । विभाजनको दिशातर्फ अघि बढेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालपक्ष पार्टी एकता कायम गर्दै सहमतिको साथ अघि बढ्ने मिलन बिन्दुमा पुगेपछि यहाँको राजनीति समेत प्रभावित बन्ने देखिएको हो ।

अब नेकपा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने जनाएको छ । नेकपा एमाले सुदूरपश्चिमका सचिव राजेन्द्र रावलले एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने उपयुक्त समय आएको बताउँदै आवश्यक गृहकार्य थालिएको जनाए । ‘कोभिड महामारीका बेला प्रदेश सरकारले प्रभावकारी रुपमा काम गर्न सकेको देखिएन’ रावलले भने, ‘अब सरकारको विकल्प खोज्नुपर्ने देखिन्छ । हामीले एक महीना पहिले नै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरिसकेको छौं।

त्यो निर्णय कार्यान्वयनको दिशामा जान्छ । हाम्रै नेतृत्वमा सरकार बन्छ ।’ उनले नेपाली कांग्रेस वा जनता समावादी पार्टी कुन दलसँग गठबन्धन गरेर सरकार गठन गर्ने भन्ने कुरा भने खुलाएनन् । ‘त्यसबारे अहिले नै बोलिरहनु परेन । हामी शुरुमा सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौँ’ रावलले भने, ‘त्यसपछि मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुहोला । त्यसो भएन भने अविश्वासको प्रस्ताव ल्याउनुपर्ने हुन सक्छ । अन्य दलसँग पनि सहकार्य हुन्छ ।’

मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा रहेको प्रदेश सरकारमा अहिले माओवादी केन्द्रका एक र नेकपा एमालेका तीनजना मन्त्री छन् । एमालेबाट आन्तरिक मामिल तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी छन् । उनीहरू सबै एमालेको माधव नेपाल खेमाका हुन् । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको खेमाबाट भौतिक पूर्वाधार विकास मन्त्री रहेका पठानसिंह बोहरालाई तत्कालीन नेकपा विभाजित भएका बेला मुख्यमन्त्री भट्टले पदबाट हटाएका थिए भने माओवादीबाटै आर्थिक मामिला तथा योजनामन्त्री बनेका झपट बोहरा पनि पदबाट राजीनामा दिंदै ओलीतर्फ लागेका थिए । त्यही बेलादेखि यी दुवै मन्त्रालय मुख्यमन्त्री आफैँले सम्हाल्दै आएका छन् ।

आजका केहि विशेष समाचारहरु हेर्नुहोस्

३८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया