काठमाडौँ– पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । उनीसँगै छोरी प्रेरणा शाहसमेत अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि काठमाडौँको नर्भिक अस्पतालमा भर्ना भएकी शाह आज अपराह्न ४ बजे डिस्चार्ज भएको अस्पतालले जानकारी दिएको हो ।
उनीसँगै पूर्वराजा ज्ञानेन्द्र शाह पनि संक्रमण भएपछि अस्पताल भर्ना भएका थिए । पूर्वराजा शाह भने वैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए । कोरोना संक्रमणपछि अक्सिजन लेबल घटेपछि पूर्वरानी शाहलाई आईसीयूमा राखेर उपचार थालिएको थियो । उनको स्वास्थ्य अवस्था सामान्य बनेपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
यो पनि, पार्टी कार्यालयमा आइसोलेसन कक्ष
नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराले गठन गरेको सेवादलले पार्टी कार्यालय किसुनजी भवनमा आइसोलेसन निर्माण गरेको छ । कूल १३ शय्याको आइसोलेसन बनाइरहेको सेवा दलका सदस्य राम विष्टले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै डडेल्धुरा अस्पताल सङ्क्रमितले भरिएपछि पार्टी कार्यालयमा आइसोलेसन बनाइरहेको उहाँले बताउनुभयो ।
आइसोलेसन निर्माणपश्चात उक्त स्थानमा अक्सिजन व्यवस्थापन गरिने जनाइएको छ । विशेषगरी गाउँघर तथा सदरमुकाम पुगेर बस्न समस्या भएकालाई निर्माण गरिएको आइसोलेसनमा राखिने कांग्रेस डडेल्धुराका पार्टी सभापति तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले बताउनुभयो ।
कोरोना सङ्क्रमणको पहिलो लहर फैलिएका बेला सोही सेवा दलले गत वर्ष लकडाउनमा अलपत्र परेका करिब १० हजार जनालाई निःशुल्क खाना खुवाएको थियो । त्यस्तै जिल्लाका स्थानीय तहमा स्वास्थ्य सुरक्षाका सामग्री मास्क, स्यानिटाइजर, ग्लोब्स्जस्ता सामग्री सेवा दलले वितरण गरेको थियो ।