काठमाडौ । संसदवाट विश्वासको मत नपाएपनि केपी शर्मा ओली नै फेरी प्रधानमन्त्री हुने संकेत देखिएको छ । दिउसो ४ वजे सम्म आफ्नो माग पुरा नभए राजिनामा दिने सर्त राखेका माधव नेपाल पक्ष पनि अलमलिएको छ । राजिनामाको पत्र खल्तीमा राखेर अध्यक्ष ओलीसंग वार्तामा बसेका माधव कुमार नेपाल वार्तावाट अझै निस्किएका छैनन् ।
उनी वार्तामा अलमलिदा राजिनामा दिने संसद सचिवायलयको समय पनि घर्किएको छ । संसद सचिवालय बन्द गरेर कर्मचारी घर फर्किएका छन् । माधव नेपाल पक्षले एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ २ मा फर्कने प्रतिवद्धता नजनाए आजै सांसदहरुको सामूहिक राजीनामा दिने तयारी गरेका थिए ।
विहिवार विहानै देखि ओली समुह माधव नेपाललाई फकाउन लागेको थियो । प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसँग चपलीहाइटस्थित रामेश्वर थापाको घरमा लामो वार्ता गरेपछि संसद सचिवालयमा राजीनामा बुझाउने कार्यालय समय घर्किएको छ ।
ओली र वरिष्ठ नेता नेपालबीच बूढानीलकण्ठस्थित चपली हाइटमा २ बजेदेखि सुरु भएको वार्ता अझै सकिएका छैन । बिहीबारको कार्यालय समय अपरान्ह ५ बजे सकिएसँगै संसद सचिवालयका कर्मचारीहरु कार्यालय बन्द गरेर घरतिर हिँडेका छन् ।
राष्ट्रपति विद्या देवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय सिमा साँझ ९ वजे सकिन्छ । तर देउवाले पनि वहुमत पुर्याउन नसक्दा उनको सरकारको नेतृत्व दावी गर्ने सम्भावना पनि कम हुँदै गएको छ । उता राष्ट्रपति कार्यालयका कर्मचारीहरुले भने राति ९ बजेसम्म काँग्रेस–माओवादी गठबन्धनलाई कुरेर बस्ने भएका छन् । राति ९ बजेसम्म देउवाको टोली नआएमा केपी ओलीलाई नै ठूलो दलको प्रधानमन्त्री नियुक्त गर्ने शीतलनिवासको तयारी छ ।