शुक्रबार १७ चैत्र २०७९

प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न नसकी प्रधानमन्त्री केपी शर्मा ओली स्वतः पदमुक्त भएको जनाउँदै बहुमतको सरकार गठनको आह्वान गर्न प्रमुख तीन दलले राष्ट्रपतिसँग आग्रह गरेको छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र्र यादवले आज संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिलाई संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकारको आह्वान गर्न आग्रह गरेका छन् ।

‘ओली पदमुक्त भएकाले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त हुने गरी प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिसँग आह्वान गर्दछौंँ’, तीन दलका नेताले जारीे गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएको पत्र राष्ट्रपति कार्यालयमा पठाएका छन्। बैठक सकिएलगत्तै सभामुख सापकोटाले विश्वासको मत गुमाएको पत्र राष्ट्रपति कार्यालयमा पठाएका हुन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्रीको तर्फबाट प्रस्तुत विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १ सय २४ मत आएको थियो। सरकारको नेतृत्वका लागि आफू नै उपयुक्त पात्र रहेको भन्दै प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाउँ भनी संसदमा प्रस्ताव दर्ता गराएका थिए।

मतदानमा प्रधानमन्त्री ओलीकै दलका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहका २८ सांसदहरु भने बैठकमा नै उपस्थित भएनन्। यसअघि नेकपा एमालेले संसदीय दलले प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन दिएको थियो।

एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसदले पार्टीको ह्वीप उल्लंघन गरेका हुन्। खनाल–नेपाल समूहले आफ्ना पक्षका सांसद मतदानमा अनुपस्थित रहने निर्णय गरेको थियो ।

ओलीले संसदबाट विश्वासको मत नपाएसँगै मुलुक नयाँ सरकार निर्माणको बाटोमा लागेको छ। अब संविधानको धारा ७६ को उपधारा २ बमोजिम अर्को सरकार गठनका लागि प्रक्रिया अगाडि बढाउनुपर्ने संवैधानिक व्यवस्था छ।

४७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया