काठमाण्डाै – कोरोना सङ्क्रमित बाट नेपाल पत्रकार महासंघ काठमाण्डाै शाखाका सदस्य दिनेश दाहालको ४० बर्षको उमेरमा निधन भएको छ । गएको १ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि घरमै आइसोलेशनमा रहनुभएका दाहाललाई श्वास फेर्न समस्या भएपछि १० गते ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।
सुमेरु अस्पतालको भेन्टिलेटरमा उपचाररत क्रममा शनिबार निधन भएको हो । विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रुपमा काम गर्नुभएको थियो । पत्रकार दाहाल पछिल्लो समय सिपोष्ट न्यूज डटकमका सम्पादक/प्रकाशकका रुपमा पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो ।
काभ्रेको मेथिनकोट घर भएका दाहालका श्रीमती एक छोरा र एक छोरी छन् । कोरोनाकै कारण अहिलेसम्म ८ जना पत्रकारको निधन भएको छ भने ६ सय ५० भन्दा धेरै पत्रकार सङ्क्रमित भएका छन् ।