
काठमाडौ । काठमाडौमा दोश्रो चरणको निषेधाज्ञा निकै कडा पारिएको छ । निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रहरीले ठाउँ का ठाउँ जरिवाना तिराएको छ । विहिवार दोस्रो पटक लगाइएको निषेधाज्ञाको पहिलो दिन हो । पहिलो दिन काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा उल्लंघन गर्नेलाई जरिवाना गरिएको छ।
काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा विहीबार निषेधाज्ञा उल्लंघन गर्नेहरुमाथि जिल्ला प्रशासन कार्यालयको रसिदमा प्रति व्यक्ति १ सय रुपैयाँ जरिवाना लिइएको छ । उनीहरुलाई सडकमै होल्डिङ पनि गरिएको छ ।
संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको रसिदका आधारमा प्रहरीले १ सय रुपैयाँ जरिवाना गरेको महानगरीय प्रहरी परिसर टेकूका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले जानकारी दिए।
उनका अनुसार, विहीबार काठमाडौं उपत्यकामा मात्रै निषेधाज्ञा उल्लंघन गर्ने १ सय बढीलाई जरिवाना तिराइएको छ । त्यसैगरी, ६ सय ४९ जना पुरुष र २ सय २३ जना महिलालाई होल्डिङमा राखिएको छ। निषेधाज्ञा उल्लंघन गर्ने २ सय ७० चार पाङग्रे सवारीसाधन र ६ सय ९८ दुई पाङग्रे सवारीसाधन लाई पनि होल्डिङमा राखिएको प्रवक्ता बस्नेतले जानकारी दिए।
निषेधाज्ञामा उल्लंघन गर्ने क्रम बढेपछि दोश्रो चरणको निषेधाज्ञा सुरु भएकै दिन विहीबार देखि निकै कडा पारिएको हो । त्यस्ता व्यक्तिबाट जरिवाना लिन सुरु गरिएको हो। अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र स्वास्थ्य सर्तकता मापदण्डको पूर्ण पालना गर्न सबैमा अपिल गर्दै गर्दा निषेधाज्ञा उल्लंघन हुने क्रम पनि नरोकिएपछि जरिवाना गरिएको प्रहरीले जनाएको छ।