काठमाडौं । गम्भीर प्रकृतिका कोरोना संक्रमित बढ्न थालेको मौका छोप्दै केही निजी अस्पतालले विभिन्न शीर्षकमा चरम शुल्क असुल्न थालेको पाइएको छ ।
विरामीका आफन्तका अनुसार ‘नर्मल बेड’मा एकैदिन राखेको १५ हजारदेखि २० हजार रुपैयाँसम्म लिने गरिएका छन् । संक्रमितका आफन्त भने चर्को शुल्क तिर्न बाध्य बनेका छन् । काठमाडौं मेडिकल कलेजले प्रतिदिन १० हजारदेखि ३० हजारसम्म लिने गरेको छ ।
सो कलेजद्वारा जारी सूचनामा ‘कोभिड क्याबिन सिंगल बेडको प्रतिदिन २० हजार, कोभिड क्याबिन डबल बेडको प्रतिदिन १० हजार, कोभिड क्याबिन डिलक्स प्रतिदिन २५ हजार र कोभिड क्याबिन सुपर डिलक्सको प्रतिदिन ३० हजार रुपैयाँ दररेट निर्धारण गरिएको’ उल्लेख छ ।
यो सरकारले निर्धारण गरेको शुल्कभन्दा अत्यधिक हो । त्यस्तै, ह्याम्स अस्पतालले ७ हजारदेखि ५० हजारसम्म लिएको पाइएको छ । सो अस्पतालद्वारा जारी कोभिड–१९ उपचारसम्बन्धी मञ्जुरीनामाअनुसार जनरल बेडको ७ हजार, आईसीयू बेडको २२ हजार, चार्ज आइसोलेसन÷सुइट रुमको ५० हजार रुपैयाँ शुल्क पर्छ ।
अन्य केही निजी अस्पतालले समेत सरकारले तोकेभन्दा दोब्बर शुल्क लिन थालेका छन् । सरकारी मापदण्डअनुसार निजी अस्पतालले आइसोलेसन शुल्क दैनिक ३ हजार ५ सय, मध्यम जटिल केस का लागि दैनिक ७ हजारको ५० प्रतिशत जोडेर लिनसक्ने प्रावधान छ ।
गम्भीर विरामीको आईसीयूमा भेन्टिलेटरसहितको उपचारका लागि दैनिक १५ हजारको ५० प्रतिशत जोडेर लिनसक्ने व्यवस्था छ । तर, केही निजी अस्पतालले यो नियम बेवास्ता गर्दै अत्यधिक शुल्क लिइरहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निजी अस्पतालले सरकारले तोकेको शय्या शुल्कभन्दा ५० प्रतिशत जोडेरमात्रै लिन मिल्ने प्रस्ट पारेका छन् । यसैबीच, स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित उपचारका लागि भन्दै तोकिएभन्दा बढी शुल्क लिने निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई कारबाही गर्ने भएको छ ।
मन्त्रालय सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार अत्यधिक शुल्क लिएको पाइए कडा कारबाही गरिने छ । उनले कुनै पनि अस्पतालले तोकिएभन्दा बढी शुल्क लिएको पाइए स्थानीय प्रशासन वा स्वास्थ्य मन्त्रालयमा खबर गर्न आग्रहसमेत गरेका छन् ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।