कोरोना नियन्त्रणका लागि उपत्यकामा जारी गरिएको निषेधाज्ञा थप गरिने भएको छ। सोमबार बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेको छ । बैठकले निषेधाज्ञालाई थप कडाइ गर्ने र फेरि एक साता निषेधाज्ञा थप गर्नुपर्ने निष्कर्ष निकालेको छ । मंगलवार पनि बैठक बसेर थप निर्णय गर्ने सिडिओहरुले बताएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले मंगलवार पनि बैठक बस्ने बताए।
यसअघि उपत्यकामा प्रमुख जिल्ला अधिकारीले संयुक्तरुपमा एकसाताका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेका थिए। तर सरकारले भने उपत्यकामा वैशाख मसान्तसम्म निषेधाज्ञा गर्ने निर्णय गरिसकेको छ।
‘सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा भएकाले उपत्यकामा भीडभाड घट्न नसकेको उनीहरुको तर्क छ । मंगलवार बस्ने बैठकले यसवारे पनि थप निर्णय गर्ने भएको हो । अहिलेको निषेधाज्ञाले सवारी चाप नघटेको र भीडभाड पनि कायम रहेको निष्कर्ष प्रजिअहरुको बैठकले गरेको छ । यस्तो निषेधाज्ञाले मात्र कोरोनाको चेन ब्रेक गर्न मुस्किल हुने भएकाले थप निर्णय गरिने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।
बैंक तथा वित्तीय संस्थाको हकमा राष्ट्र बैंकले नै थप कडाइ गर्ने तयारी गरेको छ। प्रधानमन्त्री ओलीले पनि सोमबार सम्बोधनका क्रममा निषेधाज्ञालाई थप कडाइ गर्ने घोषणा गरेका कारण पनि प्रजिअहरु सोही अनुसारको योजनामा लागेका छन्।
सरकारले हवाई उडान पनि बन्द गर्ने निर्णय गरिसकेकाले थप कडाइ गर्न प्रमुख जिल्ला अधिकारीलाई सहज भएको हो। उपत्यकामा १६ गते बिहानदेखि निषेधाज्ञा जारी छ। कोरोनाको दर बढ्दै गएपछि निषेधाज्ञा थप कडा र लम्बिने देखिएको छ।