बिहिबार २३ बैशाख २०७८

रसियाले निर्माण गरेको पहिलो अन्तरिक्ष विमान स्पुतनिकदेखि अहिले स्पेस एक्सले निर्माण गरिरहेको कार्गो रकेटसम्म आइपुग्दा थुप्रै अन्तरिक्ष विमान तयार भएका छन्।थालिएका १३० अन्तरिक्ष प्रोजेक्टहरुमा सबै यात्रा सफल नभए पनि ६३ अन्तरिक्ष यानले सफलतापूर्वक पृथ्वीको गुरुत्व क्षेत्रभन्दा बाहिरको यात्रा गरिसकेका छन्।

यता, आउँदो सात वर्षमा विभिन्न देशले ३४ वटा अन्तरिक्ष यात्राको तयारी गरिरहेका छन्। त्यसमध्येको एक हो- डियरमुन प्रोजेक्ट। त्यही प्रोजेक्टअन्तर्गत चन्द्रमामा जान छनोट चरणमा रहेका एकमात्र नेपाली युवा वैज्ञानिक हुन्- सुरेश भट्टराई। त्रिचन्द्र कलेजका लेक्चरर तथा नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्षसमेत रहेका भट्टराई यसमै लागिपरेका छन् अहिले।

के हो डियरमुन प्रोजेक्ट ?

डियरमुन प्रोजेक्ट स्पेस एक्सको हो। चन्द्रमामा जाने जहाज भने विश्वकै धनाढ्य उद्योगपति एलन मस्कले बनाइरहेको छ। यो जहाजमा ५० जनाभन्दा बढी चन्द्रमामा जाने दाबी गरिएको छ। त्यसमध्ये आठजनाको टिकट बुकिङ जापानी उद्योगपति युसाकु मायजाभाले किनेका छन्।

मायजाभाले विश्वभरिबाट छानेर आठ जनालाई चन्द्रमामा लैजाने घोषणा गरेको थाहा पाएपछि सुरेशले यसमा चासो दिएका हुन्। प्रोजेक्टबारे सुरुमा आफूलाई थाहै नभएको भट्टराईले सुनाए। ‘यो प्रोजेक्टमा सुरुमा कलाकारलाई लिएर जाने भन्ने थियो। तर पछि विश्वका सबै मानिस कलाकार हुन्, त्यसैले सबैले यसमा अप्लाइ गर्न सक्छन् भनेर उनले (मायजाभाले) आवेदन खुला गरे। मैले पनि इन्डियाका एक जना साथीबाट यो कुरा थाहा पाएर आवेदन दिएँ,’ उनले भने।

उनले आवेदन दिएपछि फलोअप इमेल पनि प्राप्त गरिसकेका छन्। त्यसअन्तर्गत अहिले उनी तेस्रो चरणको छनोटमा पुगेका छन्। पहिलो, दोस्रो चरणको छनोट कस्तो थियो त ? उनी भन्छन्, ‘पहिलो चरणमा केही प्रश्न सोधिएको थियो। त्यसमा प्रोफेसन झल्काउने तीन तस्बिर, सामाजिक सञ्जालको जानकारी, कुन देश हो जस्ता प्रश्नहरु थिए। त्यसमा चुनौतीलाई सामना गर्न सक्ने भावनाका प्रश्नहरु पनि थिए।’

छनोट प्रक्रियाको दोस्रो चरणमा व्यक्तिको क्षमता परीक्षण गरिएको थियो। त्यसक्रममा उनले प्रोजेक्टबारे आफ्नो विचार र आफूले प्रोजेक्टमा दिन सक्ने सहयोगको पनि व्याख्या गरेका थिए। त्यो राउन्ड पनि उनले मार्चको अन्तिमतिर पास गरे। अहिले उनी तेस्रो चरणमा छन्। तेस्रो चरणमा मेल कन्फरमेसनसहित अन्तरिक्षबारे आफ्नो जानकारी उनले भिडियोमार्फत दिएका थिए। अहिले त्यसको उत्तर आइसकेको छैन। त्यही कुरेर बसिरहेका छन् सुरेश।

चन्द्र धरातलमा जाने धेरैको सपना हुन्छ। तर धेरैको पूरा हुँदैन। तर उनी यो प्रोजेक्टमा सहभागी भएदेखि निकै उत्साहित छन्। भन्छन्, ‘मैले जुन काम गरिरहेको छु, त्यो मेरो प्यासन पनि हो। त्यसमा लागेर धेरै कुरा सिकेँ। अन्तरिक्ष यात्रमा जाने मेरो पनि सपना थियो। तर अन्तरिक्ष यात्रामा जान सक्दिन भन्ने लाग्दा त्यहाँ जान सक्ने जनशक्ति निर्माणमा लागेको थिएँ।’

आफ्नै पालामा चन्द्रमा पुग्ने अवसर आएपछि त्यो सपनाको नजिक पुगेको उनी बताउँछन्। भन्छन्, ‘आउँदा अत्यन्तै उत्साहित छु। छनोट भएको खण्डमा त त्यो सपना पूरा हुने भयो नि। त्यसले विश्व मानचित्रमा नेपाल र नेपालीको नाम राख्ने भयो।’

तर अन्तरिक्षमा जाने सबै मानिस कुशलतापूर्वक घर फर्किन सकेका भने छैनन्। एक हिसाबले यो चुनौतीपूर्ण पक्ष पनि हो। १२ जनाले मात्र चन्द्रमामा पाइदा टेक्दा १५ जना अन्तरिक्ष यात्रीको भने अन्तरिक्षमा निधन भइसकेको छ। यो कुरा आफूले पनि मनन् गरेको सुरेश बताउँछन्। ‘साथीहरुले त्यसो भनेर सम्झाउँछन्। यहिँ बसेर धेरै काम गर्न सकिन्छ भनेर सम्झाउँछन्। तर, मान्छेलाई एकदिन मर्न पर्छ नै। इतिहास बनाउन सक्नु देशको लागि पनि राम्रो कुरा हो। छनोट सफल भएमा परिवारको पनि सपोर्ट रहनेछ,’ उनले सुनाए।

सपना देख्नेले मर्नबाट डराउनु हुँदैन। डराउने हो भने सपना देख्न छोड्नु पर्छ। यस्तै भावनाले नै युवाको अन्तरिक्षमा जाने सपना कायम राख्ने सुरेश बताउँछन्। ‘नेपाली युवालाई प्रेरणा बन्न सकेँ भने त्यो नै मेरो जीवनको मूल्य हुनेछ,’ उनी भन्छन्, ‘झन्डै चार लाख किलोमिटरको यात्रा हो यो। दोहोरो भन्ने हो भने साढे सात लाख किमिभन्दा धेरै हुन्छ। यो विश्वकै लागि एक सिकाइ पनि हो।’

स्पेस एक्सले बनाएको यो अन्तरिक्ष विमान कार्गो विमान हो। सय टनभन्दा धेरै वजन बोक्न सक्ने सुरेशको दावी छ। उनले सन् २०११ मा नासाका हेड चार्ल्स बोल्डेनसँग पनि अन्तरिक्षमा मानव यात्री जानेबारे कुरा गरेका थिए। त्यतिबेलाको कुराकानीमा बोल्डेनले सन् २०२८ मा पृथ्वीबाट मानिस चन्द्रमामा घुम्न जान सक्ने बताएका थिए।

‘तर अहिलेको यो विमानको प्रविधि र विज्ञान हेर्दा चन्द्रमा जानका लागि २०२८ सम्म पर्खिनु पर्दैन जस्तो लाग्छ,’ उनी सुनाउँछन्, ‘खासमा यो चाहिँ मंगल ग्रहमा मानिस ओसार्नका लागि बनाएको जहाज पनि हो। मंगलमा मानव बस्ती बसाउने सपना जो छ।’

यो सपनामा विश्वस्त हुने आधार के त ? उनी भन्छन्, ‘चन्द्रमामा नासाको आर्टिनेस मिसन छ । त्यसका एस्ट्रोनटहरु चन्द्रमामा उतार्ने जुन उसको मिसन छ त्यसलाई पृष्ठभूमिमा राखेर हामी यो स्पेस एक्सको मिसन पनि सफल हुन्छ भनेर विश्वास गर्न सक्छौं। नासोको त्यो प्रोजेक्ट सञ्चालन गर्ने अवसर पनि स्पेस एक्सले पाएको छ।’

यो प्रोजेक्ट धेरै महत्वाकांक्षी छ र पहिलो पटक हुँदैछ। यसमा के गल्ती हुनसक्छ भन्ने केरै कुराहरु कसैलाई थाहा छैन। जब सञ्चालन हुन्छ तबमात्र थाहा हुनेछ। तर आयोजक टिमले गल्ती घटाउने काम गरेको छ। त्यसको स्टाटिक्स फायर टेस्ट पनि सफल भइरहेको भट्टराई बताउँछन्। उनले भने, ‘रिस्क नलिने हो भने त केही सम्पन्न नै हुँदैन नि।’

अहिलेको विश्वमा ठूलो लगानी अन्तरिक्षको अध्ययन गर्न र त्यहाँ बसाइँ सर्नका लागि भइरहेका छन्। यता भएको एउटा पृथ्वीलाई पनि सम्हाल्न सकेका छैनौं। जलवायु परिवर्तन अत्यधिक बढिरहेको छ। कोभिड–१९ को महामारीले एउटा विश्वलाई त बचाउन सकिएको छैन। यस्तो अवस्थामा अन्तरिक्षमा यत्रो लगानी आवश्यक छ ? उनी उत्तर दिन्छन्, ‘यसरी दुई कुरालाई तुलना गर्दा अलिक न्याय नहोला। तर मानिसको प्रकृति हेर्ने हो भने पनि जहाँ महामारी र रोगव्याधी छ, त्यहाँबाट मानिस सरेर नयाँ ठाउँ खोज्ने गरेको इतिहास छ। बरु हामीले वास्तविकतालाई यसरी अर्थ्याउनु पर्छ कि पृथ्वीमा समस्या भए अन्य ग्रहमा जान सकियो।’

स्पेसको माया कहिलेबाट लाग्न थाल्यो सुरेशलाई ? उनलाई नै याद छैन। अन्तरिक्ष विज्ञानमा लाग्नुका पछि उनको लामो मनोविज्ञान लुकेको छ। उनी सानो छँदा आमासँग मन्दिर जान्थे। बिहानै जाँदा आकाशबाट उल्काहरु झरिरहेको देख्थे। यसले उनलाई आकाशसँग माया बसायो। त्यही समयबाटै हजारौं माइल टाढा रहेका वस्तुहरुसँग सुरेश रमाउन थाले।

अन्तरिक्षको माया लागेर बच्चैबाट एस्ट्रोनट बन्न मन लगेको थियो। पढाइले पनि उनलाई बीएससीसम्म डोर्‍यायो। तर त्रिचन्द्र कलेजमा पढ्ने र पढाउने शैली उनी अन्तरिक्ष विज्ञानमा लाग्ने केही विद्यार्थीलाई चित्त बुझेन। र, त्यतिबेलै उनले एक संस्थाको सुरुआत गरे– नेपाल एस्ट्रोनोमिक सोसाइटी (नासो)।

त्यसले आज देशका धेरै विद्यार्थीलाई अन्तरिक्षको अध्ययनबारे सिकाइरहेको छ। यो समितिका सदस्यहरु परिवर्तन भइरहे पनि नासोले आजसम्म आफ्नो मोटिभेसन गुमाएको छैन। उनले विश्वको धेरै मुलुकका विद्यार्थीलाई सहभागी गराएका छन्। ‘अहिले मैले स्ट्रोइड सर्चबारे सिकाइरहेको छु। जसमा यूएई, इन्डिया, भुटान, पाकिस्तान र केही अफ्रिकन मुलुकका विद्यार्थीहरु भर्चुअल माध्यमबाट जोडिएका छन्,’ उनले भने।

उनी अन्तरिक्ष अध्ययनबारे कसैको इच्छा भए यसलाई प्यासन बनाउने काम नासोले गरिरहेको बताउँछन्। साथै नासोले अवसरहरुबारे जानकारी दिने पनि उनले बताएका छन्।

५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया