खाने तेलको मूल्य अस्वभाविक रुपमा बढेको छ । ६ महिना अगाडीको तुलनामा अहिले खाने तेलको भाउ लिटरमै १ सयसम्म बढेको छ । यसलाई उपभोक्ता र खुद्रा व्यापारीले अस्वभाविक भनेपनि उद्योगीहरु भने कच्चा पदार्थको मूल्य बढ्दा त्यसको असर तयारी तेलमा परेको बताउँछन् ।
४ महिना अगाडीसम्म १२० देखि १४० रुपैयाँ प्रतिलिटर पर्ने खाने तेलको मूल्य अहिले लिटरमै २४० देखि २५० सम्म पुगेको खुद्रा व्यापारीको गुनासो छ । भटमासको तेलको भाउ २२० रुपैयाँ प्रतिलिटर घटी पाउन छोडिएको छ । आफूहरुले थोक व्यवसायीबाट ल्याएकै मूल्यमा तेल बिक्रि गर्दा पनि ‘ठगी’ र ‘कालोबजारी’ को आरोप लाग्ने गरेको खुद्रा व्यवसायीहरुको गुनासो छ ।
पछिल्लो ३ महिनामा खाने तेलको मूल्य ग्राहकको क्रयशक्ति भन्दा बाहिर गएको खुद्रा व्यापारीहरु नै बताउँछन् । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राज कुमार श्रेष्ठ उद्योगी र थोक विक्रेता यसको मुल्य जिम्मेवार हुनुपर्ने बताउँछन् ।
‘हामी त थोक विक्रेतासँग ल्याएर बेच्ने हो, मूल्य बढ्नुमा हाम्रो कुनै संलग्नता हुँदैन’ उनी भन्छन्, ‘तर, सिँधै उपभोक्तासँग हामी ठोकिन्छौँ, गाली हामीले खानु परेको छ । तर, यसको मूल्य जिम्मेवार उद्योगी र थोक व्यापारी हुन् ।’