मंगलबार ०२ कार्तिक २०७८

अस्पताल ल्याइएको बिरामीको स्वास्थ्य अवस्था गम्भीर हुन्छ । तत्काल अक्सिजन दिएर उपचार गराउनुपर्ने अवस्थाका बिरामीलाई पनि बेड छैन भन्नुपर्ने हाम्रो बाध्यता छ ।’

भेरी अस्पतालको कोभिड वार्डकी नर्सिङ इन्चार्ज शिला शर्माको यो भनाइले कोरोना संक्रमणको हटस्पट बनेको बाँकेको अवस्था दर्शाउँछ ।

हरेक दिन सय भन्दा बढी संक्रमित थपिएका छन् । उनीहरुमध्ये धेरै होम आइसोलेनसमा छन् भने कतिपयलाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छन् । तर अस्पतालहरुमा बेड पाइन छाडेको छ । तत्काल अक्सिजन सपोर्ट दिएर उपचार गराउनुपर्ने कोरोना संक्रमितहरु समेत कहिले बेड खाली होला भनेर अस्पताल बाहिर कुरिरहेका छन् ।

बाँकेमा भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमितको उपचार हुँदै आएको छ । दुवै अस्पताल संक्रमित बिरामीले भरिएका छन् । गम्भीर प्रकृतिका कोरोना संक्रमित बिरामीलाई राखेर उपचार गराउने बेड अभावका कारण बिरामीहरुले पालो कुरेर उपचार गराउनुपर्ने अवस्था आएको बाँकेका फोकल पर्सन तेज ओलीले अनलाइनखबरलाई बताए ।

भेरी अस्पतालको कोभिड वार्डकी नर्सिङ इन्चार्ज शिला शर्माका अनुसार होम आइसोलेसनमा बसेकाहरु स्वास्थ्यमा समस्या आएपछि र अन्य अस्पतालबाट रिफर भएर आउने बिरामीको संख्या एकसाता यता बढ्दो छ । ‘अस्पतालमा रहेका बिरामीको अवस्था र उपचार गराउन आउनुभएका बिरामीको अवस्था उस्तै देखिन्छ’ शर्माले भनिन्, ‘कसलाई राख्ने कसलाई नराख्ने भन्ने समस्या हुन्छ ।’

उनले अघि भनिन्, ‘अस्पताल आइसकेका बिरामीलाई हामीलाई फर्काएका छैनौं । अन्य ठाउँको बेड तानेर भएपनि जसोतसो उपचार गरिरहेका छौं । यसरी उपचार गर्दा बिरामीलाई असहज महसुस भएको त अवश्य हुनसक्छ । तैपनि यसरी उपचार गर्नुको विकल्प हामीसँग छैन ।’

एकसाता यता दैनिकजसो उपचार गराउन आएका बिरामीहरुले अस्पतालको गेटमा पालो कुरेर बस्नुपर्ने अवस्था आएको उनले बताइन् । शर्माका अनुसार अस्पतालमा कोभिड संक्रमितको उपचारका लागि १०२ र शंकास्पद बिरामी राख्नका लागि ४० वटा बेड छुट्याइएको भएपनि कोरोना पुष्टि भएका बिरामी बढी देखिएपछि सबैजसो बेडमा संक्रमित बिरामी राखेर उपचार भइरहेको छ ।

‘बिहीबार साँझसम्म १३९ जना कोरोना संक्रमितको अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये एक/दुई जनाबाहेक सबै बिरामीलाई कुनै न कुनै मोडबाट अक्सिजन सपोर्ट दिएर उपचार गराइरहेका छौं,’ इन्चार्ज शर्माले भनिन् । अस्पतालमा उपचार गराइरहेकामध्ये १५ जनालाई आईसीयूमा, ९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको उनले बताइन् ।

मेडिकल कलेजमा पनि बेड अभाव

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पनि गम्भीर प्रकृतिका कोरोना संक्रमितलाई राखेर उपचार गर्न बेड अभाव रहेको अस्पतालका सहायक निर्देशक डा. नितेशकुमार कनौडियाले जानकारी दिए ।(अनलाइन खबर बाट)

११६ पटक हेरिएको

तपाईको प्रतिक्रिया