
काठमाडौँ – काठमाडौँ जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको आदेशलाई कडा रुपमा कार्यान्वयन गराउने भएको छ । मंगलबार बसेको समिति बैठकले कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको आदेशलाई प्रभावकारी र कडा रुपमा कार्यान्वयन गराउने निर्णय गरेको हो । सरकारले जारी गरेको आदेश कार्यान्वयन भए/नभएको अनुगमन गर्न उपत्यकाका तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालयले अनुगमन टोली बनाउने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
त्यस्तै, कोरोना न्युनिकरण गर्न आवश्यक अन्तरक्रिया, छलफल र जनचेतनामूलक कार्यक्रम गरिने उनले बताए । सरकारले सोमबार ‘नयाँ भेरिएन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’ जारी गरेको थियो । जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न सूचना जारी गरेको छ। सुरक्षा मापदण्ड अपनाउन भन्दै प्रशासन कार्यालयले १३ बुँदामा सूचना जारी गरेको हो।
सोही पत्र अनुसार प्रशासन कार्यालयले भीडभाड नगर्न, अनिवार्य मास्कको प्रयोग गर्न, २५ जना बढी भेला नहुन, सवारीसाधनमा सिट क्षमताभन्दा बढी नराख्न, यात्रुबाहक सवारीसाधनमा चालक र सहचालकले अनिवार्य मास्क र भाइजर लगाउन अनुरोध गरिएको छ। प्रशासन कार्यालय तोकेको स्वास्थ्य मापदण्डको पालना नगरिए संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गर्ने चेतावनी समेत दिएको छ।