
काठमाण्डौ। ब्रोइलर कुखुराको मासु हालसम्मकै महंगो भएको छ । काठमाण्डौ उपत्यकामा अहिले तयारी ब्रोइलर कुखुराको मासुको मूल्य किलोमा ४३० रुपैयाँ पुगेको छ ।
बजारमा मागको तुलनामा ब्रोइलर कुखुराको उत्पादन कम भएपछि मासुको मूल्य बढेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । तयारी मासुको कोल्ड स्टोर थोक मूल्य बढेसँगै खुद्रामा मासुको भाउ प्रतिकिलोमा ४५० रुपैयाँसम्म पुगेको हुनसक्ने संघले जनाएको हो ।
लकडाउनका कारण मझौला तथा साना कुखुरा पालक किसान व्यवसायबाट विस्थापित हुँदा कुखुराको उत्पादन घटेको कुखुरापालक व्यवसायीहरु बताउँछन् ।
यसअघि देशभर दैनिक झण्डै १० लाख किलो कुखुराको मासु उत्पादन एवं खपत हुँदै आएपनि अहिले उत्पादनमा ४० प्रतिशतसम्मले ह्रास आएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।