
काठमाडौं । रंग पत्रकार प्रकाश सुबेदीले एपीवान टेलिभिजनमा सञ्चालन गर्ने दुई विवादित मनोरञ्जनात्मक कार्यक्रम निलम्बनमा परेका छन् ।नायिका शिल्पा पोखरेलले दिएको उजुरी पछि उक्त कार्यक्रम निलम्बनमा परेका हुन् । शिल्पाले एपीवान टेलिभिजनमै पुगेर कार्यक्रम र प्रकाश सुवेदी विरुद्ध उजुरी दिएकी थिइन् । टेलिभिजन स्रोतका अनुसार गत २ वैशाखमा बसेको एपीवान टिभीको बोर्ड वैठकले शिल्पाका विषयमा थप सामग्री नबनाउन सुबेदीलाई निर्देशन दिएको थियो । तर, त्यसको अटेर गरी सुबेदीले आफ्नो कार्यक्रममा शिल्पाका पूर्वपति छवि ओझाको अन्तरवार्ता लिएर शिल्पावारे थप नकारात्मक कार्यक्रम प्रसारण गरे ।
टिभी स्रोतले भन्यो, ‘२ गतेको बोर्ड वैठकले शिल्पाको अन्तरवार्ताबाहेक उनको विषयमा अरु खालका सामग्री प्रशारण नगर्न भनेको थियो, जसलाई उहाँले अटेर गर्नुभयो ।’सुबेदीले शिल्पाका विरुद्ध अर्को कार्यक्रम पनि बनाएपछि ५ गते वसेको अर्को वैठकले वाध्य भएर कार्यक्रम निलम्बन गरेको स्रोतको भनाइ छ ।
अर्को निर्णय नभएसम्मका लागि कार्यक्रम बन्द गर्ने टेलिभिजन बोर्डले निर्णय लिएको हो । टीभी बोर्डको निर्णयपछि सुबेदीले सञ्चालन गर्ने ‘ग्ल्यामर गफ’ र ‘रजतपट’ कार्यक्रम बन्द भएका छन् ।शिल्पाले सो निर्णयका लागि टेलिभिजनलाई धन्यवाद दिएकी छन् । सुबेदीले आफ्नो कार्यक्रममा एक विवाहित पुरुषसँग शिल्पाको नाम जोडेर सामग्री बनाएका थिए ।