
काठमाडौ । लुम्बिनी प्रदेशमा गएराति करिब ५ घन्टाको अन्तरालमा कोरोनाबाट ४ जनाको ज्यान गएको छ । भैरहवा मेडिकल कलेज र भेरी अस्पतालमा ४ जनाको मृत्यु भएको हो ।
साँझ ५ बजेर ५० मिनेट जादा भैरहवा मेडिकल कलेज रुपन्देहीको मायादेवी गाउँपालिका ५ की ६५ वर्षीया महिलाको कोरोनाबाट ज्यान गएको छ ।
त्यस्तै, नेपालगन्जको भेरी कोरोना विशेष अस्पतालमा साँझ ७ बजे बर्दियाको राजपुर गाउँपालिका–१ का ७३ वर्षीय पुरुष, ७ . ४० बजे बाँके जिल्लाको बैजनाथ गाउँपालिका–८ की ७८ वर्षीया महिला र दैलेखको नारायण गाउँपालिका –१ की ६८ वर्षीया महिलाको ९
बजेको समयमा कोरोना संक्रमणबाट मृत्यु भएको भेरी कोरोना विशेष अस्पतालले जनाएको छ । हाल सम्म भेरी अस्पतालमा ९६ जना संक्रमितमध्ये ६० जनाको ज्यान गएको जनाइएको छ ।
सीमावर्ती प्रवेश बिन्दुमा गरिएको परीक्षण र त्यसवाट आएको परिणामले १४ जिल्लालाई कोरोनाको उच्च जोखिममा सूचीकृत गरेको छ। हेलचेक्र्याइँका साथै विद्यालयमा पठनपाठन नियमित गर्ने वा बन्द गर्ने विषयमा सरोकारवाला निकाय र स्थानीय तहबीच समन्वय हुन नसक्दा संक्रमितको संख्या ह्वात्तै बढेको छ।
पीसीआर परीक्षण संख्याको १५।१ प्रतिशतमा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमितको ४१।६ प्रतिशत काठमाडौं उपत्यकामा देखिएको छ। पछिल्लो २४ घण्टामा ६ हजार १ सय ५८ जनामा पीसीआर र एन्टिजेन परीक्षण गर्दा ९ सय जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
एक महिनायता सीमावर्ती बिन्दुमा गरिएको एन्टिजेन परीक्षणमा सबैभन्दा बढी सुदूरपश्चिमका प्रवेश बिन्दुमा कोरोना भाइरसको पोजिटिभ पाइएको छ।
त्यस्तै एक महिना अवधिमा कञ्चनपुरस्थित त्रिनगर हेल्थ डेस्कमा गरिएको परीक्षणमा ५ सय ४८ जनामा पोजिटिभ पाइएको छ। पछिल्लो २४ घण्टामा ४७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। सीमापारि भारतमा दैनिक २ लाखभन्दा बढी संक्रमित थपिँदा नेपाल पनि प्रभावित हुन पुगेको छ।