
काठमाडौँ । चितवनमा भएको ट्याक्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । घाइते मध्य पनि केहीको अवस्था चिन्ताजनक भएको बताइएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा भएको ट्र्याक्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार साँझ ७ः३० बजे भएको दुर्घटनाको खबर एकाविहानै आइपुगेको हो । मजदूर बोकेको ट्र्याक्टर दुर्घटनामा परेको हो । मृत्यु भएका मध्य ४ जनाको मात्र परिचय खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सनाखत हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खडक लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ रहेका छन् ।
एक जना अन्दाजी २५ वर्षीय पुरुषको नाम थर ठेगाना खुल्न नसकेको प्रहरीको भनाई छ । थाकलटारबाट चिउँडेखोलातर्फ आउँदै गरेको ना१त ६२८२ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई आमपानीस्थित चिउँडेखोलामा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका मध्य ७ जनाको अवस्था चिन्ताजनक रहेको र एक जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ । सबै घाइतेको उपचार सुरु गरिएको छ । तस्बिर रातोपाटी