बिहिबार ३० बैशाख २०७८

काठमाडौ । गुल्मीको रेसुङ्गा नगरपालिकामा महिलालाई लक्षित गरेर गाडी चलाउने तालिम दिए पछि सोही कारमा चढेर जनप्रतिनिधिहरुले उनीरुको हौसला बढाएका छन । जनप्रतिनिधिहरुले महिलाले चलाएको कारमा चढेर आफुहरु ढुक्क भएको बताएका छन् । पुरुष भन्दा महिला संवेदनशिल भएकाले सुरक्षित हुने पनि उनीहरुको भनाई छ । गाडी चलाउन निस्केका महिला यस्तो अवसर र जनप्रतिनिधिले दिएको प्रतिकृयावाट उत्साहित भएका छन् ।

रेसुङ्गा नगरपालिका वडानम्बर–९ को उपल्लो तम्घासमा सञ्चालन गरिएको १ महिने सिपमूलक ड्राईभिङ्ग तालिमले महिलाहरु उत्साहित भएका हुन् । महिलाहरु चालकको रुपमा तयार भएपछि अब लाइसेन्स र चालकको जागिर खुलाउँदा महिलाका लागि आरक्षणको ब्यवस्था गर्ने स्थानिय जनप्रतिनिधिले जनाएका छन् । उद्घाटनका बेला सहभागीहरुले प्रमुख अतिथिलाई आफूले सीप सिकेर आफै गाडी चलाएर घुमाउने बाचा गरेका थिए । सोही अनुरुप समापनको दिन उनीहरुले आफै गाडी चलाएर अतिथिहरुलाई घुमाएका थिए ।

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले अब सरकारी कार्यालय र अन्य क्षेत्रमा चालकको जागिर खुलाउँदा महिलाका लागि आरक्षणको ब्यवस्था गरिने पनि आश्वासन दिए । महिला चालक झनै सचेत हुने भएकाले सुरक्षित हुने भएकाले अब महिलालाई यो क्षेत्रमा प्रोत्साहन गर्नुपर्ने उनको भनाई छ । हिमालयन टिभीले सार्वजनिक गरेको भिडियोमा महिलाहरु कार चलाउने अवसर पाएर निकै खुसी भएको देखिएको छ ।

एक महिनासम्म तालिम लिएकाहरुले यस्ता कार्यक्रम निरन्तरता दिन आग्रह गरेका छन् । बेरोजगारलाई स्वरोजगार बनाउने लक्ष्यसहित तालिम संचालन गरेको नगरपालिकाले जनाएको छ । ९ नम्वर वडाले ४२ जनालाई एक महिने तालिम दिएको छ ।

७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया