
दृढ इच्छाशक्ति र निरन्तरको लगाव छ भने शारीरिक रुपमा कमजोर हुँदैमा मानिस पछाडि पर्दैन भन्ने उदाहरण बनेकी छन् चीनकी गुई युना। उनी अपांगता भएका मानिसका लागि मात्र होइन सबलांगका लागि पनि प्ररेणाकी स्रोत बनेकी छन्। गुईले सात वर्षको उमेरमा दुर्घटनामा परी दायाँ खुट्टा गुमाइन्। त्यो दुर्घटना सम्झँदा आज पनि उनका आँखा रसाउँछन्।
खुट्टा गुमे पनि उनले आफ्नो यात्रा अविचलित रुपमा अघि बढाइरहिन्। परिणामस्वरुप ३५ वर्षीया गुई अहिले बडी बिल्डरका रुपमा चिनिएकी छन्।गुईले विभिन्न अवार्ड जितिसकेकी छन्। त्यस्तै उनले पारा ओलम्पिकमा पनि भाग लिएकी छन्।
दृढ अठोट र सकारात्मक सोचाइले अघि बढिरहेकी गुई चीनमा धेरैका लागि प्रेरणा बनेकी छन्। टिकटकमा उनका दुई लाख फलोअर्स छन्। त्यसले प्रेरणा दिएको छ– संकल्प बलियो छ भने हरेक बाधा हट्दै जानेछन्।
गुईले सन् २००४ को एथेन्स प्याराओलम्पिकमा लङगजम्म प्रतियोगितामा भाग लिएकी थिइन्। उनले त्यहाँ सातौं स्थान हासिल गरिन्। शारीरिक सुगठन उनका लागि नयाँ क्षेत्र हो। तर अक्टोबरमा सम्पन्न एक शारीरिक सुगठन प्रतियोगितामा उनले पहिलो पुरस्कार जितेकी छन्।
गुई भन्छिन्, ‘म सायद पहिलो स्थानमा शारीरिक तन्दुरुस्ती र खेल कौशलले होइन, आत्मविश्वास र प्रतिस्पर्धामा उत्रने बहादुरीका कारण आएकी हुँ।’ दुर्घटनाका ती दिनबारे उनलाई धेरै जानकारी छैन। यति मात्र याद छ, खुट्टा गुमाएपछि विद्यालयमा उनलाई धेरैलाई मजाक गरेका थिए। कसैकसैले लंगडी त कसैले तीन खुट्टे बिरालो पनि भने।
साथीहरुले कुर्सीबाट लडाइदिएको ती दिन भने उनको दिमागमा ताजै छन्। धेरै अपमान सहनुपरेपछि उनले निश्चित गरिन्– तिमीहरुले मेरो विरोध गर्न सक्छौ तर म यसबाट रत्तिभर डराउँदिन। किनकि मेरो मन कमजोर छैन। नानिङ सरहमा जन्मिएकी गुईलाई उनकी आमाले नै हुर्काइन्। गुई जन्मनुभन्दा अघि नै उनका बाको निधन भएको थियो।
खेल जीवनबाट २०१७ मा अवकाश भएकी गुईले २० कम्पनीमा जागिरका लागि निवेदन दिइन्। तर सबैतिरबाट उनलाई निराशा मात्र हात लाग्यो। उनी भन्छिन्, ‘कम्पनीका मानिसहरुलाई मेरो कारणले उनीहरुको प्रतिष्ठा खराब हुन्छ भन्ने लाग्दो रहेछ।’
गुईले हार मानिनन्। फेरि शारीरिक सुगठन क्षेत्रमा पाइला राखिन्। सुरुसुरुमा उनी अहिले एउटा होम डेकोरेसन कम्पनीको साझेदार बनेकी छन्। उनी जिन्दगीमा भोगेको तिरस्कार र चुनौतीलाई धन्यवाद दिन्छिन् र भन्छिन्, ‘तिनले नै मलाई लड्न सिकाए।’ बाँकि तस्विर तल हेर्नुहोस