
जनकपुरधाम । कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका राजपुतले यसै साता विवाह गर्ने भएकी छिन् । ‘यसै साता पण्डितलाई दिन देखाएर हेराएर माता जानकी मन्दिरमा विवाह गर्ने तयारी गरेका छौं ।’ उनले भनिन् । आरोपी शिवराज श्रेष्ठसँग मिलापत्र गरेपछि विवाहको तयारी गरेकी हुन् । धनुषा जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा उनले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र गरेकी हुन् ।
त्यसपछि श्रेष्ठले निहारिकालाई श्रीमतीका रुपमा स्वीकारेका छन् । शिवराजको अहिलेको प्रस्तुती, उनको बच्चा र म प्रति देखाएको सद्भावले संगै बस्ने निर्णय गरेको निहारिकाको भनाई छ । ‘छिट्टै नागरिकता, विवाह दर्ता सहितका कागजात पनि बनाउने सहमती भएको छ ।’ उनले थपिन । अझै पनि शिबराजका परिवारका केहि सदस्यहरु नमानेको भए पनि शिवराले हिम्मत देखाएर अपनाउँछु भनेपछि सोच्न बाध्य निहारिकाको भनाई छ ।
निहारिकाले आफू बला त्कृत भएको र कानूनी उपचारका लागि प्रशासनले सहयोग नगरेको भन्दै लामो समयदेखि आन्दोलन गरिरहेकी थिइन् । त्यसक्रममा उनी पटकपटक पक्राउ समेत परेकी थिइन् । उनले आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने, घटनाको सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी काम भएको भन्दै पुनः जाँच गरिनुपर्ने लगायको माग राख्दै अनशन समेत बसेकी थिइन् ।
यो प्रकरण पहिल्यै अदालतसम्म पुगेको थियो । तर, जिल्ला अदालत, धनुषाले २०७८ माघ २४ गते मा श्रेष्ठलाई सफाइ दिएको थियो । त्यसविरुद्ध निहारिका उच्च अदालत जनकपुर पुगेकी थिइन् ।
उनको विरोधपछि बला त्कारको मुद्दामा प्रमाणको मूल्यांकन नगरी आरोपीलाई सफाइ दिएको भन्दै धनुषाका तत्कालीन जिल्ला न्यायाधीश डा. परशुराम भट्टराई जिल्ला अदालत तानिएका थिए । बलात्कार सम्बन्धी मुद्दा उच्च अदालतमा अझै विचाराधीन छ ।
राजपुतले २०७९ साउन २७ गतेमा शीतलनिवास अगाडि आत्मदाहको प्रयास गरेपछि यस विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चासो देखाएकी थिइन् । त्यसपछि बसेको न्यायपरिषद् बैठकले तत्कालीन न्यायाधीश भट्टराईलाई सर्वोच्च अदालत तानेको थियो ।
पछि खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा राजपुतका छोराको डीएनए शिवराजसँग मिलेको थियो । उच्च अदालत जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए जाँच गर्न भदौ ८ गतेमा आदेश दिएको थियो । उनले ‘कुमारी आमा’हरुबाट जन्मिएका बच्चाहरुको स–सम्मान बाँच्न पाउने संवैधानिक अधिकारको सुनिश्चितताका लागि सरकार पहल गर्नुपर्ने पनि माग राखेकी थिइन् ।
त्यसअघि शिवराजले बच्चा आफ्नो नभएको दाबी गर्दै जाँच गराउन आफू तयार भएको बताएका थिए । डीएनए मिलेपछि निहारिकाले अदालतमा अंश मुद्दा दिएकी थिइन् । पहिले उनले डीएनए मिलेको अवस्थामा श्रेष्ठलाई बलात्कारको कसूरमा सजाय हुनुपर्ने बताउँदै आएकी थिइन् ।