बिहिबार १९ माघ २०७९

काठमाडौं । फ्रेन्च सुपरस्टार केलिएन एम्बाप्पे विश्वकपको ९२ वर्षे इतिहासमा फाइनल खेलमा ह्याट्रिक गोल पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् ।यसअघि १९६६ मा इंग्ल्याण्डका जिओफ हर्स्टले फाइनलमा ह्याट्रिक गरेका थिए ।

फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेइन पीएसजीका एम्बाप्पेले अर्जेन्टिनाले दुईपल्ट अग्रता लिएको अवस्थामा गोल गरी खेल बराबरीमा ल्याए । पहिलो हाफमै अर्जेन्टिनाले २ गोलको अग्रता बनाएर फ्रान्सलाई दबावमा राखेको थियो ।दोस्रो हाफमा सुधारिएको फ्रान्सका लागि एम्बाप्पेले २ गोल गरी खेललाई अतिरिक्त समयमा लगेका थिए ।

उनले ८०औं मिनेटमा पेनाल्टीमा गोल गरे । त्यसको अर्को मिनेटमै गोल गरी खेल बराबरी गरेका थिए ।३० मिनेटको अतिरिक्त समयमा लियोनल मेसीले अर्जेन्टिनाका लागि गोल गर्दा फ्रान्स फेरि पछि परेको थियो । तर, ११८ औं मिनेटमा पेनाल्टीमार्फत नै गोल गरी विश्वकपमा आफ्नो ह्याट्रिक पूरा गरे तथा खेल बराबरीमा ल्याए ।

पेनाल्टी शुटआउटमा फ्रान्सका दुई खेलाडीले गोल गर्न नसक्दा अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी रह्यो । विश्वकपमा ८ गोल गरी एम्बाप्पेले गोल्डेन बुट अवार्ड जितेका छन् ।चार वर्षअघि फ्रान्सलाई विश्वकप जिताउन निर्णायक प्रदर्शन गरेका एम्बाप्पेले विश्वकपमा अहिलेसम्म १२ गोल गरेका छन् ।

यो पनि – हिजोसम्म विश्व फुटबलको सर्वोत्कृष्ट खेलाडी को थियो भन्ने प्रश्न सुन्ने बितिक्कै सबैको मस्तिष्कमा दुई नाम आउँथ्यो । तर आइतबार कतारको लुसेल रंगशालाबाट विश्वकप इतिहास मात्र नभएर समग्र फुटबल इतिहासकै उत्कृष्ट मध्यको खेलबाट विश्वले अर्जेन्टिनालाई च्याम्पियनको रुपमा पाएको छ ।

र अर्जेन्टिनाको उपाधिसँगै सर्वोत्कृष्ट खेलाडी को भन्ने प्रश्नको उत्तरमा निसन्देह मात्र एक नाम पनि ।यो प्रश्नमा शनिबारसम्म क्रिस्टियानो रोनाल्डोप्रति लगाव राख्ने समर्थकले प्रश्नको उत्तर झट्टै ‘रोनाल्डो’ भन्दा एक मनले मेस्सी पनि हो है भन्ने लाग्थ्यो नै । र मेस्सीको खेलप्रति मोहित हुने समर्थकले, ‘मेस्सी’ उत्तर फर्काउँदा रोनाल्डोभन्दा अब्बल नै भन्न सटिक आधार छैन भन्ने एक मनले सोचेकै हुन्थ्यो ।

तर मेस्सीले अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएसँगै मेस्सी र रोनाल्डो वादविवादको औपचारिक अन्त्य भएको मान्नुपर्छ ।रोनाल्डो र मेस्सी दुवै एकै युगमा जन्मनु हामी आम फुटबल समर्थकको लागि भाग्य थियो । सायद यी दुई फरक समयमा जन्मेका हुन्थे त पेलेको युग र म्याराडोनाको युग जस्तै आफ्नो समयको राजा हुन्थे ।

हामी भाग्यमानी छौं कि बाहिर बसेर हामीले मेस्सी राम्रो कि रोनाल्डो भन्ने विवाद गर्न पायौं । कुनै खेल होइन, सिजन होइन, वर्षौंसम्म पायौं ।दुवै एकै समयमा उच्च विन्दुमा पुगेर भिड्दा एक आपसमा धेरै उपाधि बाँडे । तर एक अर्का सँगको प्रतिस्पर्धाले नै यो स्तरसम्म पुग्न सकेको भन्ने आशय दुवैले पटक पटक आफ्नो अन्तर्वार्तामा दिँदै आएका छन् ।

पछिल्लो समय भने रोनाल्डोले आफू अब्बल रहेको दावी सहितका अन्तर्वार्ता दिए । तर मेस्सी कहिल्यै पनि यस्तो प्रश्नमा खुलेर उत्तर दिन चाहेनन् । त्यसैले पनि भनिन्छ, यी दुईको मैदान भित्रको खेल्ने शैली जस्तै मैदान बाहिरको प्रस्तुतिले उनीहरुको व्यवहार र प्रकृति पहिचान गर्न सकिन्छ ।

क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीले पछिल्लो डेढ दशकमा विश्व फुटबलमा जित्न बाँकी सायदै कुनै व्यक्तिगत र क्लब उपाधि छ । राष्ट्रिय टोलीका लागि कमजोर प्रदर्शन गर्दै आएका यी दुई दिग्गजले करिअरको उत्तर्रार्द्धमा भने राष्ट्रिय टोलीमा पनि सफलता हासिल गर्न थाले ।

रोनाल्डोले सन् २०१६ मा युरो जितेपछि सर्वोत्कृष्ट खेलाडी को भन्ने प्रश्नको उत्तरमा उनको दबदबा बढ्न थाल्यो ।एकातर्फ मेस्सी लगातार दुई वर्ष कोपा अमेरिकाको फाइनलमा पराजित हुनु र रोनाल्डोले पोर्चुगललाई अन्तर्राष्ट्रिय उपाधि दिलाउनुले को उत्कृष्ट भन्ने होडमा रोनाल्डोको पल्ला भारी बन्दै गयो ।

तर मेस्सीले क्लब फुटबलमा एकपछि अर्को सफलता हासिल गर्दै गए । व्यक्तिगत उपाधिमा पनि दुई बीचको प्रतिस्पर्धा गजबको रहयो ।विश्व प्रतिष्ठित ब्यालोन डी’ओर को शीर्ष दुईमा यी दुइको रस्साकस्सीले आम फुटबल समर्थकलाई प्रतिस्पर्धाको उच्च विन्दुमा पुर्यायो ।

अझ रोनाल्डो रियल म्याड्रिड गएपछि दुई बीच एल क्लासिकोले ‘प्रतिद्वन्द्वीता’लाई थप रोमान्चक बनाएको थियो । कहिले रोनाल्डो त कहिले मेस्सीले ब्यालोन डी’ओर जिते ।व्यक्तिगत र क्लब फुटबलमा मेस्सीको सफलता तुलनात्मक रुपमा बढी भएपनि अन्तर्राष्ट्रिय फुटबलको पिडाले मेस्सी सर्वोत्कृष्ट भन्ने दावी गर्न सक्ने अवस्था भएन ।

एक समय पटक-पटक प्रयासमा पनि असफल भएपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास नै लिने अवस्थामा पुगेका मेस्सी आज सातौं आकाशमा छन् ।एक समय आफूसँगै खेलाडीको भूमिकामा विश्वकप जित्ने प्रयासमा रहेका लिओनेल स्कालोनीको प्रशिक्षणमा मेस्सीले कोपा अमेरिका र विश्वकप जित्दै आफूलाई अब्बल सावित गरे ।

यतिमात्र होइन, मेस्सीले आफ्नो करिअरको सुरुवातमा डिएगो म्याराडोना र पाब्लो आइमारलाई आफ्नो आदर्श मान्थे । पछिल्लो समय म्याराडोना आफैं मेस्सीको समर्थक भएर निस्के । यसपटक विश्वकपमा सहायक प्रशिक्षकको भूमिकामा रहेका आइमारले मेस्सीको प्रदर्शन देखेर भावुक भएको दृश्य टेलिभिजन स्क्रिनमा आउँदा उनको करिअर कति सार्थक भएको छ भन्ने थप प्रष्ट बनाएको थियो ।

त्यसो त मेस्सी अब्बल खेलाडी हुन् भन्ने सावित गर्न कठिन थिएन, छैन । उनले खेलेका खेलका भिडियो मात्र हेरेर पनि उनी कुन स्तरका खेलाडी थिए भन्ने मेसो पाउन सकिन्छ । मैदानमै मेस्सीको खेल हेर्न पुग्नुहुन्छ भने उनले बिरलै तपाईंलाई निराश बनाउनेछन् । बलसँग उनको चाल मात्र होइन बल नहुँदाको उनको बलको प्रतीक्षामा हुने तयारीले उनलाई अब्बल बनाएको थाहा हुन्छ ।

मेस्सी उत्कृष्ट हुन् भन्ने पुष्टि गर्न उनले कागजमा उल्लेख गर्न सक्ने सफलता पाउनु जरुरि थियो । मेस्सी आफैंले पनि य बुझेका थिए र विश्वकप आफ्नो सपना रहेको पटक पटक बताउँदै आएका थिए । अर्जेन्टिनामा मेस्सीसँगै आक्रमणमा राम्रो खेलाडीको कमी कहिल्यै भएन । तर तुलनात्मक रुपमा गोलरक्षक र डिफेन्समा सोहि स्तरका खेलाडी नहुँदा टोली पछि परेको थियो ।

यसपटक विश्वकपमा मेस्सीकै खेल हेरेर हुर्के बढेका खेलाडीले टोलीको उपाधि यात्रामा महत्त्वपूर्ण योगदान दिए । मेस्सीसँग करिअरको मध्यविन्दुमा जोडिएका र मेस्सीलाई हेरेर करिअरमा पाइला चालेका खेलाडीले उनलाई विश्वकप दिलाए । गोलरक्षक एमिलियानो मार्टिनेजको नै कुरा सुन्ने हो भने उनी आफू विश्वकप जित्न भन्दा बढी मेस्सीलाई विश्वकप जिताउनुपर्छ भन्ने प्राथमिकतामा राख्थे ।

कतिपय अवस्थामा लाग्थ्यो, अर्जेन्टिनाको यस राष्ट्रिय टोलीले मेस्सीलाई विश्वकप जिताउन नसके गल्ती मेस्सी होइन, अन्य खेलाडीको हुनेछ । सन् २०१४ मा अर्जेन्टिना फाइनलमा चुकेपछि मेस्सीको असफलताको कारक भन्दै केहि खेलाडीले निकै मानसिक तनाव झेल्नुपर्यो । हिजोसम्म पनि अर्जेन्टिनाका कुनै खेलाडीले खेलमा खराब प्रदर्शन गरे मेस्सीलाई विश्वकपसम्म पुग्न नदिने हो कि भन्दै नाम जोडिन्थ्यो ।

तर यो टिमले त्यसो हुन दिएन ।सदाझैं मेस्सी यसपटक पनि टिमको केन्द्रविन्दुमा रहे । तर यसपटक टिमले अन्य सारथी पायो । गोलरक्षक, डिफेन्स, मिडफिल्ड र फरवार्ड सबैतर्फ आ-आफ्नो भूमिकामा पक्का खेलाडी आए ।र प्रदर्शन पनि गरे ।मेस्सीको विश्वकप जितको यात्रा उनको कर्मकै कारण सम्भव भएको हो ।

तर यसमा भाग्यको साथ पनि उत्तिकै छ । गोलरक्षक एमिलियानो मार्टिनेज केहि वर्षको अन्तरालमा अर्जेन्टिनाको टोलीमा पर्नुलाई उक्त भाग्यको उदाहरण मान्न सकिन्छ । एन्जो फर्नान्डेज बेन्फिकामा आउनेबितिक्कै उत्तम प्रदर्शन गर्नु । जुलियन अल्भारेजले राष्ट्रिय टोलीको जिम्मेवारीलाई छोटो समयमा खरो उत्रनु । अन्य थुप्रै भाग्यको रेखा यो उपाधिमा जोडिन्छन् । तर मुख्य विन्दु मेस्सीको फुटबल कर्म नै रहयो ।

मेस्सीले यसपटक विश्वकप जिते अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने बताएका थिए । कोपा अमेरिका जितेपछि विश्वकप जित्न सकिन्छ भन्ने विश्वास पलाएको अर्जेन्टिनी टोलीले पनि मेस्सीलाई सुखद बिदाइ गर्न कुनै कसर छोडेन । यहाँसम्म की विश्वकपअघि कतिपय खेलाडीले क्लबबाट चाडै बिदा लिन अनेक वहाना गरेको आरोप समेत लाग्यो । तर अन्तत: मेस्सीलाई विश्वकप दिलाउन सफल भए ।

तर यो बिदाइ भने नहुने भयो ।विश्वकप उचाले लगत्तै ड्रेसिङ रुममा जाने समयमा मेस्सीले अर्जेन्टिनाको मिडियालाई अन्तवार्ता दिने क्रममा आफू सन्न्यास नलिने बताए । एक हातमा विश्वकप उपाधि, गलामा स्वर्ण पदक र छातीमा भर्खर थपिएको तेस्रो तारासहितको जर्सी लगाएर मेस्सीले यो उपाधि जित्न गरेको मिहिनेतको प्रतिफल स्वरूप आफू च्याम्पियनको रुपमा राष्ट्रिय टोलीमा खेलिरहने इच्छा जताए ।

मेस्सी क्लब फुटबलमा फ्रान्सेली लिगको पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्धित छन् । दुई वर्षअघि बार्सिलोनाको बोर्डसँग समस्या नहुँदो हो त उनी आजपनि क्याटलान क्लबको जर्सीमै देखिन्थे होला । त्यसो त उनको सन्न्यासपछि क्लब करिअरको कुरा हुँदा मानसपटलमा उनलाई बार्सिलोनाकै जर्सीमा चित्रण गरिन्छ ।

तर मेस्सीले यो पनि प्रष्ट पारेका छन्, उनी अब बार्सिलोना फर्कने छैनन् ।पिएसजीमा अर्को वर्षसम्म उनको सम्झौता छ । राष्ट्रिय टोलीबाट विश्वकप जितेका उनको लक्ष्य च्याम्पियन्स लिग जित्ने छ । त्यसका लागि यो सिजन र यसमा नसके अर्को सिजन उनीसँग विकल्प छ । यसबीचमा उनको नाम अमेरिकाको मेजर लिग सकरमा पनि जोडिएको छ ।

सन् २०२६ मा अमेरिकाले क्यानडा र मेक्सिकोसँग विश्वकप आयोजना गर्न लागेको हुनाले पनि मेस्सीको त्यसतर्फ जाने सम्भावना बलियो छ । तर करिअरको अन्त्यतिर आफ्नो गन्तव्य बनाएको ठाउँमा मेस्सी अहिले नै जानु फुटबल समर्थकप्रति अन्याय हुन सक्छ ।

मेस्सी जुन स्तरमा खेलिरहेका छन्, उनी युरोपमा अझै पनि उत्कृष्ट खेलाडीमा पर्छन् । विश्वकप जितेसँगै उनको नाम प्रतिष्ठित व्यक्तिगत अवार्डको दावेदार सुचिमा लाहाछाप भइसकेको छ । त्यसका लागि उनकै क्लब सहकर्मी किलीयन एमबाप्पे प्रतिद्वन्द्वी हुनेछन् । यसको अर्थ मेस्सी अझै युरोपमै रहनुपर्छ भन्ने हो ।

पिएसजीले पटक पटक मेस्सीको सम्झौता थप्न चाहेको सार्वजनिक रुपमै बताएको छ । तर मेस्सीले फ्रान्समा रहेर लिग र कप जितिसकेका छन् र च्याम्पियन्स लिग उनको लक्ष्य हो । अबको दुई सिजनमा उनी त्यसमा सफल हुने सम्भावना बलियो छ । तर यदि सक्दैनन् भने उनले अहिले नै अमेरिका प्रस्थान गर्नु फुटबलका लागि न्यायोचित नहुन सक्छ ।

दुई वर्ष अघिसम्म मेस्सी बार्सिलोना छोडेर जान्छन् भन्ने सोच्न पनि नसकिने अवस्था थियो । तर उनी क्याटलान क्लबबाट बिदा भए । र अब फर्कने पनि छैनन् । यस्तो अवस्थामा मेस्सीको खेल्ने शैली बुझेका प्रशिक्षक भएको, मेस्सीलाई आर्थिक रुपमा अनुबन्ध गर्न सक्ने सामर्थ्य बोकेको, मेस्सीको उचाइसँग मेल खाने र मेस्सीकै लक्ष्य बोकेको एक क्लब उनको लागि उपयुक्त गन्तव्य बन्न सक्छ ।

मेस्सी विश्वका सर्वोत्कृष्ट खेलाडी हुन् भन्नेमा दुविधा छैन । अब मेस्सीले आफूलाई विश्वको सर्वोत्कृष्ट प्रतियोगिता र क्लबमा प्रमाणित गरिसकेका छन्, र गर्न बाँकी सायदै केहि होला । तर विश्वकै चर्चित लिगले उनको आशा गरिरहेको छ । विश्वकै धनी मध्यको क्लब उनको आगमन स्वीकार्न तयार हुन्छ नै ।

एक फुटबल प्रेमीले सपना देख्न पाउँछ, र सबै सपना पूरा हुनुपर्छ भन्ने छैन । तर मेस्सीले यदि प्रिमियर लिगको यात्रा गर्छन् र भर्खरै सम्झौता नविकरण गरेका पेप गुआर्डीओलासँग मिलेर म्यानचेस्टर सहरमा नयाँ युरोपेली च्याम्पियन भित्र्याउँछन् भने, सोच्नुस त ?

६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया