बिहिबार १९ माघ २०७९

मंसिर २७ गते मंगलबार बिहान ९ बजेको समय । हलेसी, खोटाङबाट लिम्चुङबुङ, उदयपुर पुग्ने वैकल्पिक मार्ग हुँदै साथी प्रशान्त र म बाइकमा यात्रा गर्दै थियौँ । बीच बाटोमा एउटा बाइक रोकिएको थियो । बाइकसँगै एकजना महिला भुँइमा लडिरहेकी र उनलाई एकजना पुरुषले उठाउन सहयोग गर्दै थिए । हामीले बाइक रोकेर सहयोगका लागि अगाडि बढ्यौँ।

निक्कै नै चिन्तित र साहराविहीन देखिएका ती पुरुषले भने– ‘मेरी सुत्केरी श्रीमती, व्यथा लागेर बाइकमा हेल्थ पोष्ट लगेको, धेरै गाह्रो भएर यता भुँइमै छौँ, हेल्थ पोष्ट धेरै टाढा छ।

‘घाम लागेको तर चिसो हावा चलेको मौसम, जाडो मौसममा रुखबाट पात झरेर उजाड देखिएको जंगल, डोजरले खनेर बालुवा र धुलो मिसिएको बाटो – त्यही मौसम र त्यही बाटोमा लडिरहेकी उहाँ कराउन थाल्नुभो– ‘मलाई गाहो भयो। पेटमा थिच्नु। बच्चा झर्न लाग्यो।’

नभन्दै बच्चाको टाउको निस्किसकेको थियो । बेस्सरी हात समात्नुभयो । उहाँले बल गर्नुभयो । हामीले ज्याकेट भुँइमा बिछ्यायौँ । केही छिनमा बच्चा जन्मियो । बच्चाको आधा जिउँ ज्याकेटमा आधा जिउँ भुँइमा ।

केही क्षण सन्नाटा । बालुवा र धूलो लागेर बाँयापट्टीको आँखा खोल्न नसकेका ती शिशु हात र खुट्टा चलाउँदै रुन थाले । बल्ल शान्ति मिल्यो। ‘बाटोमा जन्मेको यस्को के नाम राख्ने ?’ ‘इन्जिनियर’ बुबाले भन्नुभयो । ‘हो यसले यो बाटो बनाएर अरुको दु:ख मेट्नुपर्छ।’

आमाको लुगाले बच्चालाई छोपिएको थियो, उहाँको बच्चा हेर्न सीधा उभिन सक्ने अवस्था थिएन। हाम्रो जिउँमा अडेस लगाउँदै लामो सास लिनुभयो। एकछिन आँखा बन्द गरेर आराम गर्नुभयो । प्यास लागेर पानी खोज्दै हुनुहुन्थ्यो । आजकै दिन हामीले पानी नबोकेको। नजिकै खानेपानी कतै थिएन।

बच्चा त जन्मियो, तर साल झर्नै बाँकी थियो । बच्चाको साल काट्नुपर्ने, तर कसरी काट्ने ? हामी तीन जना पुरुष, एकछिन त लाचार भयौँ। धन्न मोबाइलमा नेटवर्क थियो। अलि तल कोशीवारी उहाँका आफन्त छिमेकीहरू बस्थे । फोन लाग्यो। महिलाका पतिले पानी, लुगा, धागो र ब्लेड ल्याउनु भने । १५ मिनेटपछि दुईवटा बाइकमा ४/५ जना मानिसहरु आइपुगे । अब भने हामीलाई पनि राहत मिल्यो।

आमा र बच्चा दुवै स्वस्थ थिए। बाइकमा बस्दै हेल्थ पोष्ट जानुको सट्टा सबैजना तल कोशी वारीको घरमा फर्के । हामी पनि सँगसँगै फर्क्यौँ। चिया नास्ता नगरी जानै दिनुभएन।

मनमा अथाहा प्रश्नहरु उब्जिरहेका थिए। ‘कुकुर पनि नहिँड्ने त्यो बाटोमा यस्तै दु:ख पर्दा के गर्ने होला ?’ ‘यहाँका मानिसले हेल्थ पोष्टमा कहिले बच्चा जन्माउला ?’ ‘केही दिन अघि नै हेल्थ पोष्टमा भर्ना हुनुपर्ने किन ध्यान नदिएको होला ?’ ‘स्थानीय सरकार, खोइ कता छ ?’

धेरै प्रश्नका बीच गाउँका काम गर्ने एकजना नर्स दिदीले भन्नुभएको कुरा याद आयो – ‘गाउँमा हेल्थ पोष्टले बच्चा जन्माउनै पर्दैन, बाटोले नै जन्माउँछ।’ उहाँको कुरा बल्ल बुझ्दैछु।

तस्बिर तथा शब्द सगेन्द्र श्रेष्ठको फेसबुकबाट

१७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया