बिहिबार १९ माघ २०७९

दोहा– कतारमा जारी विश्वकपका क्रममा लुसेल रंगशालाको आठौं तल्लाबाट खसेर एक आप्रवासी कामदारको निधन भएको छ।

निधन भएका व्यक्ति २४ वर्षका थिए। उनी सुरक्षाकर्मीको रुपमा काम गर्न केन्याबाट कतार पुगेका थिए। जोन न्याउ किब्यु नाम गरेका युवा गत शनिबार ड्युटीकै क्रममा आठ तल्लाबाट खसेका थिए। उपचारका लागि उनलाई तीन दिनदेखि अस्पतालमा राखिएको थियो।

तर विश्वकप आयोजक समितिले मंगलबार राती उनको निधन भएको घोषणा गरेको छ। मृतक किब्युकी बहिनी एन वाञ्जिरुले आफ्नो दाजुलाई न्याय दिलाउन आफूसँग पैसा नभएको विदेशी समाचार एजेञ्सी सीएनएनलाई जानकारी दिएकी छिन्। ‘न्याय पाउन हामीसँग पैसा छैन तर के भयो भनेर जान्न चाहन्छौं’, उनले भनेकी छिन्।

सीएनएनले प्राप्त मेडिकल रिपोर्टअनुसार निधन भएका केन्याली आप्रवासीलाई दोहाको हमाद जनरल अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो।

कागजपत्रमा उनलाई टाउकोमा गम्भीर चोट लागेको र अनुहार नचिन्ने अवस्थामा रहेको बताइएको छ।

विश्व कपको सर्वाेच्च कमिटीले किब्युको निधनको पुष्टी गर्दै भनेको छ, ‘हामी यो कुरा सार्वजनिक गर्दा निकै दुःखी छौ‌।चिकित्सा टोलीको प्रयासको बाबजुद र तीन दिन सघन हेरचाह इकाईमा रहे पनि मंगलबार १३ डिसेम्बरमा उहाँको अस्पतालमा निधन भयो।’

सर्वाेच्च कमिटीले मृतकको आफन्तलाई खबर गरिसकेको बताएको छ। ‘हामी यस दुःखद घडीमा उहाँको परिवार, सहकर्मी र साथीहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ।

साउदी अरेबियाले प्रयोग गरेको प्रशिक्षण केन्द्रमा गत साता दुर्घटनामा अर्का एक जनाको पनि निधन भएको थियो। प्रतियोगिता सुरु भएयता दुई आप्रवासी कामदारको निधन भइसकेको छ।

७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया