बुधबार १८ माघ २०७९

फलोअप: उषा खड्गीको समाचार बाहिरिएपछि एक्लै घर फर्किन थाले जीपी
पूर्व मिस नेपाल उषा खड्गीको बारेमा केटिएम दैनिक लगायतका सञ्चारमाध्यमहरूमा समाचार प्रकाशित भएपछि अहिले जीपी घरमा एक्लै बस्न थालेका छन् ।

सम्बन्ध विच्छेद भइसकेपछि पनि एउटै घरमा बस्नुपरेको र सोही घरमा सञ्चारकर्मी समेत रहेका पूर्वपती गणेश प्रसाद तिमलसेना (जीपी) ले नयाँ बेहुली भित्र्याएको भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि अहिले जीपी एक्लै घर आउन थालेको स्रोतको दाबी छ ।

नयाँ बेहुलीलाई अन्तै राखेर जिपी मात्रै घर आउने गरेको स्रोत बताउँछ । स्रोतको जानकारी थप पुष्टि गर्न हामीले खड्गीलाई टेलिफोन सम्पर्क गर्दा उनले भनिन, ‘यो हाम्रो पारिवारिक मामिला हो । म यसलाई मिडिया बाजी गर्न चाहन्न । मेरो छोराछोरीको मानसिकतामा असर नपरोस् भन्ने मात्र मेरो चाहना हो ।’ उनले पनि घुमाउरो पारामा अहिले जीपी एक्लै घर आउने कुरा स्वीकारिन् ।

यसअगाडि केटिएम दैनिकसँगको टेलिफोन कुराकानीमा जीपीले आफू यस विषयमा कुनै प्रतिक्रिया नदिने बताएको हुनाले हामीले उनीसँग सम्पर्क गर्न उचित ठानेनौ । उनले भनेका थिए, ‘यो हाम्रो नितान्त निजी मामिला हो । यस विषयमा म अगाडि पनि बोलेको थिइन् र भविष्यमा पनि बोल्दिन ।’

भक्तपुर जिल्ला अदालतले २०७९ साल जेठ २६ गते खड्की र तिमलसेनाको सम्बन्ध विच्छेद मुद्दामा अन्तिम आदेश दिएको थियो । तर जिल्लाको आदेश चित्त नबुझेको भन्दै तिमलसेना उच्च अदालत पुगेका छन् ।

यही बीचमा उनले मङ्सिर १९ गते सविना अधिकारीसँग विवाह गरेका थिए । दोस्रो तलामा पूर्व पत्नी र तेस्रो तलामा नयाँ बेहुली भएपछि एकैघरमा बस्न गाह्रो भएको भन्दै उषा खड्कीको भनाई उद्धृत गर्दै केटिएम दैनिकले “मिस नेपालदेखि सम्बन्ध विच्छेदसम्म : उषा खड्गीको जीवनका उतारचढाव” शीर्षकमा स्टोरी प्रकाशित गरेको थियो ।

खड्गीले यस विषयमा राष्ट्रिय महिला आयोग, मानवअधिकार आयोग लगायत विभिन्न सङ्घ संस्थाहरूसँग परामर्श लिइरहेको बुझिएको छ ।

९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया