बिहिबार १९ माघ २०७९

कतारमा जारी विश्वकप २०२२को खेलमा बेटिङ गराएको आरोपमा एक एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जना एजेन्टलाई पक्राउ गरेको प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका-१ घर भई ललितपुरको सानेपा बस्‍ने २० वर्षीय आदर्श ठाकुर छन्। विश्वकप लगायत खेलमा प्रयोग हुने रूसी बेटिङ एप वानएक्स बेट मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने-गराउने एजेन्टहरू सक्रिय रहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सुचना पाएपछि प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो।

उनीमाथि मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुर पठाएको छ।एसपी कोइरालाका अनुसार विगत ८ महिनादेखि सट्टेबाजीका एजेन्टको रूपमा कार्यरत थिए।

उनले रकम संकलन र भुक्तानीको आधारमा कमिसन पाउँथे। त्यसैले उनले डिजिटल वालेट खोल्न विभिन्न व्यक्तिको नेपाली नागरिकता समेत प्रयोग गरी खाता खोलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

उनले डिजिटल वालेटमार्फत संकलन गर्ने रकम नाबिल, सिद्धार्थ र एनआइसी एसिया बैंकम रहेको आफ्नो खातामा राख्थे।उनले नाबिलबाट ६९ लाख ६ हजार ७७०, सिद्धार्थबाट ४५ लाख ५३ हजार ५२३ र एनआइसी एसियाबाट ८८ लाख २४ हजार १५५ गरी जम्मा २ करोड २ लाख ८४ हजार ४४८ रुपैयाँको कारोबार गरेको अनुसन्धानबाट देखिएको छ।

प्रहरीले ४८५ वटा विभिन्न सेवा प्रदायकहरूका डिजिटल वालेटको कारोबार समेत रोक्का राखेर अनुसन्धान अघि बढाएको छ। प्रविधिको दुरूपयोग गरी बेटिङ, ठगी लगायतका अन्य कानुन विपरीतका काम गर्नका लागि व्यक्तिका परिचय पत्रहरूका समेत दुरूपयोग भइरहेको हुँदा आफ्ना कागजातहरू कहिँकतै कसैलाई दिँदा सावधानी अपनाउन र यस्ता गतिविधीहरू थाहा भएमा प्रहरीलाई जानकारी दिन कार्यालयले अनुरोध गरेको छ।

११५ पटक हेरिएको

तपाईको प्रतिक्रिया