बिहिबार १९ माघ २०७९

काठमाडौँ  ।

फिफाले अर्जेन्टिना र नेदरल्यान्ड्सलाई कारबाही गर्ने भएको छ । २२औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत क्वार्टरफाइनल खेलमा अर्जेन्टिना र नेदरल्यान्ड्सका खेलाडीले मैदानमा अनुशासन तोडेका कारण फिफाले कारबाहीको तयारी गरेको छ ।

फिफाले यी दुवै राष्ट्रलाई कारबाहीस्वरूप जनही १६ हजार डलर जरिवाना गर्न लागेको छ ।

विश्वकपको दोस्रो क्वार्टरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराउँदै सेमिफाइनल स्थान पक्का गरेको थियो । निर्धारित समयमा दुवै टोलीले २–२ को बराबरी खेलेका थिए ।

निर्धारित र अतिरिक्त समयमा नेदरल्यान्ड्स र अर्जेन्टिनाका खेलाडी एकआपसमा झगडा गरेका थिए । खेललाई नियन्त्रणमा राख्न स्पेनिस रेफ्री म्याथ्युले विश्वकप इतिहासको एकै खेलमा सर्वाधिक १७ पहेँलो कार्ड देखाए ।

खेलाडीले खेलभावनाविपरीत मैदानमा व्यवहार देखाएका कारण नै खेलमा धेरै पहेँलो कार्ड देखाइएको हो । नेदरल्यान्ड्सले खेल सकिन केही सेकेन्ड बाँकी रहँदा २–२ को बराबरी गोल फर्काएको थियो ।

अतिरिक्त समयमा समाप्तिपछि अर्जेन्टिनाका बेन्चमा रहेका खेलाडी मैदानमा जाँदै नेदरल्यान्ड्सका खेलाडीसँग विवादमा उत्रिएका थिए । खेलमा नेदरल्यान्ड्सका डेन्जेलले दुई पहेँलो कार्डसहित रातो कार्ड पाएका थिए ।

आज हुने यो खेलमा अर्जेन्टिनालाई खेलाडीको प्रतिबन्धका कारण २ जना मुख्य खेलाडीले सेमिफाइनल खेल गुमाउने पक्का भएको छ। अन्तिम आठमा नेदरल्यान्ड्सविरुद्ध खेल दौरान पाएको पहेंलो कार्डका कारण उपाधि दाबेदार टिमका २ जना मुख्य खेलाडी आज क्रोएसियाविरुद्ध खेल्दा उपलब्ध हुनेछैनन्।

टोलीका राइट ब्याक गोन्जालो मोन्टिएल र अर्का डिफेन्डर मार्कुस अकुनाले आज हुने खेल गुमाउने पक्का भइसकेको छ । यी दुवै खेलाडीले क्वार्टरफाइनलसम्ममा २-२ वटा पहेंलो कार्ड पाइसकेका छन् जसका कारण अबको खेलमा उनीहरूमाथि स्वतः प्रतिबन्ध लाग्ने भएको हो।

फिफाको नियम अनुसार क्वार्टरफाइनलका खेलसम्म कुनै खेलाडीले दुई पहेंलो कार्ड पाए एक खेलमा प्रतिबन्ध लाग्ने नियम छ यही नियमका कारण अकुना र मोन्टिएलले आजको खेल गुमाउनेछन् ।

दुई पहेंलो कार्डबाट लाग्ने प्रतिबन्धको नियम सेमिफाइनल र फाइनल खेलमा भने लागू हुनेछैन । अर्थात् क्वार्टरफाइनलपछिका खेल खेल्ने क्रममा दुई पहेंलो कार्डका कारण प्रतिबन्ध लाग्ने नियम छैन। एकै खेलमा दुईटा पहेंलो कार्ड वा सोझै रातो कार्डको नियम मात्रै सेमिफाइनल र फाइनलमा लागू हेनछ

५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया