बुधबार १८ माघ २०७९

काठमाडौं ।

नेकपा एमालेका नेता तथा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले देशलाई स्थायित्व दिन कांग्रेससँग मिलेर सरकार बनाउन पहल गर्ने प्रस्ताव गरेका छन् । निर्वाचन परिणामले फेरि पनि देशको लोकप्रिय एवम् बलियो पार्टी एमाले नै भएको देखाएको दाबी गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘जतिसुकै महागठबन्धन बनाएर नेकपा (एमाले) लाई सिध्याउन खोजिएको भएतापनि त्यो अब असम्भव रहेको तथ्य स्थापित भएको छ र अब गठबन्धनको औचित्य समेत समाप्त भएको छ । सँगसँगै जनादेशले स्पष्ट संकेत गर्दै भनेको छ कि निर्वाचन परिणामबाट पाठ सिक, स्थायी राजनीतिक शक्तिहरु मिलेर अगाडि बढ ।’

देशलाई राजनीतिक स्थायित्व, सुशासन विकास र समृद्विको अभियानलाई तीव्रता दिन बलियो र स्थिर सरकार बनाउन आवश्यक भएको उनकोे भनाइ छ ।

‘सरकार बनाउने र भत्काउने फोहोरी खेल बन्द गर । यो जनादेशलाई आत्मासात गर्दै पहिलो र दोश्रो शक्तिको हैसियतमा जनअनुमोदित नेकपा (एमाले) र नेपाली काँग्रेसले तत्काल संवाद किन नथाल्ने ?’, उनले भनेका छन्, ‘देश र जनताको हित र स्वार्थलाई केन्द्र भागमा राखेर सहकार्य र प्रतिष्पर्धा किन नगर्ने ?’

नेपाली काँग्रेस अस्थिर शक्ति र समुहहरुकै वैशाखी टेकेर देश भाँडमै जावस् भन्ने चाहन्छ ? भन्दै प्रश्न गरेका छन् । देश र जनताको हितार्थ बहस, छलफल र संवाद थाल्न बिलम्ब गर्न नहुने उनको बुझाइ छ ।

७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया