आइतबार ११ मंसिर २०७९

कतार विश्वकप फुटबलको एक प्रमुख उपाधि दाबेदार मानिएको अर्जेन्टिना पहिलो खेलमै अप्रत्यासित हारको सिकार भएको छ । आज मंगलबार भएको समूह ‘सी’को पहिलो खेलमा दक्षिण अमेरिकाको च्याम्पियन अर्जेन्टिनालाई एसियाली देश साउदी अरेबियाले पछि परेको स्थिति उल्टार २–१ को नाटकीय कमब्याक जित निकालेको हो । पहिलो हाफमा पूराका पूरा खेलमा पकड जमाएको अर्जेन्टिनालाई दोस्रो हाफमा साउदीले तिरिमिरी बनाउँदै मात्रै ६ मिनेटको बीचमा चोट दियो । समूह चरणको पहिलो खेलमै अप्रत्यासित हार भोगेपछि अर्जेन्टिना समूह चरणबाटै आउट हुने खतरा बढेको छ ।

खेलअघि यस खेलमा अर्जेन्टिनाले साउदीविरुद्ध आज दर्जनभन्दा बढी गोल गरेर जित्ने धेरैको अनुमान थियो । तर, कहानी ठीक उल्टो भयो । फिफा वरीयतामा आफूभन्दा ४८ स्थान जुनियर टिमसँग अर्जेन्टिनाले ऐतिहासिक खराब रेकर्ड हार पन्छाउन सकेन । अर्जेन्टिनाको फुटबलमा आजको खेल र नतिजा खराब रेकर्डका रूपमा रहनेछ । विश्वकपको मञ्चमा अर्जेन्टिना एसियाली टिमसँग अग्रता गुमाएर पराजित भएको यो नै पहिलोपटक हो ।

पहिलो हाफमा अर्जेन्टिनाले जम्मा ४ गोल गरेकोमा उसका ३ गोलले मान्यता पाएनन् । २ गोल अफसाइड थिए भने १ गोललाई भिएआरले रिभ्यू गरेर रद्द गरिदिएको थियो । अर्जेन्टिनाका लागि पहिलो खेल खेलको १०औं मिनेटमै कप्तान लियोनल मेस्सीले पेनाल्टीमार्फत् गरेका थिए । जसमा उनले हलुका प्रहारमै गोल गरेर यस प्रतियोगितामा टिमको पहिलो गोल दर्ता गराए भने आफ्नो पनि पहिलो गोल दर्ता गराए । पाँचौं विश्वकप खेलिरहेका मेस्सीका लागि चार विश्वकपमा गोल हो । चौथोपटक विश्वकपमा गोल गर्ने क्रममा उनले यस संस्करणको पहिलो गोल पेनाल्टीमार्फत् गरे ।

बक्सभित्र साउदीका खेलाडीले अर्जेन्टिनी खेलाडीलाई समातेर रोक्न खोजेपछि रेफ्रीले भिएआर रिभ्यू गरेर अर्जेन्टिनालाई पेनाल्टी दिने फैसला गरेका थिए । तर, सो फउलमा पेनाल्टी नै दिनेखालको गम्भीर रोकावट भने थिएन । रेफ्रीले हलुका रूपमै पेनाल्टी दिएका थिए । अर्जेन्टिनाले पेनाल्टी पाउँदा साउदीका खेलाडीले आश्चार्यमा पर्दै प्रतिवाद गरेका थिए । पहिलो गोल गरेपछि खेलको २२औं २९औं मिनेटमा अर्जेन्टिनाका लागि युवा खेलाडी लौटारो मार्टिनेजले गोल गरेका थिए । तर, उनका २ वटै गोलले मान्यता पाएनन् ।

२२औं मिनेटको गोलमा अफसाइड दिइयो भने २९औं मिनेटको दोस्रो गोलमा भिएआरले रद्द गरिदियो । पहिलो हाफमा जम्मा अर्जेन्टिनाका ३ गोलले मान्यता पाएनन् । मार्टिनेजले दोस्रो गोल गरेपछि टिमसँग सेलिब्रेसन गरिसकेका थिए । तर, २ मिनेटपछि उनको गोललाई भिएआरले रद्द गरिदियो । साउदीविरद्ध अर्जेन्टिनाले खेल पूरा पूरा एकपक्षीय रूपमा पकडमा राखेको थियो । पहिलो हाफमा साउदी यतिसम्म निरीह बनेको थियो । उसले अर्जेन्टिनाको पोस्टमा एउटा पनि सट प्रहार गर्न सकेको थिएन, अन टार्गेट त परकै कुरा ।

तर, दोस्रो हाफमा साउदीले पहिलो मिनेटबाटै आगो खेल्यो । उसले आक्रामक र तीब्र गतिको खेल खेल्दै दोस्रो हाफ सुरु भएको ३ मिनेटमै गोल गरेर खेल बराबरी बनायो । र, अर्जेन्टिनालाई रातो बत्ती देखाइदियो । सो गोल सालेह अल्सेरीले गरेका थिए । पछि परेको अवस्थामा बराबरी गोल गरेको ५ मिनेटमै साउदीले दोस्रो गोल हान्यो । खेलको ५३औं मिनेटमा सोलम अलदावसरीले शानदार गोल गरेर अर्जेन्टिनालाई अर्को झट्का दिए । १ गोलले पछि परेको अवस्थामा २ गोल गरेर खेल उल्ट्याउन साउदीलाई ६ मिनेटभन्दा धेरै लागेन ।

खेलको ५३औं मिनेटमा दोस्रो गोल खाएर पछि परेको अर्जेन्टिनाले त्यसपछि बाँकी समयभरि १ गोल पनि गर्न नसक्दा उसले हारको कल्पनै नगरेको टिमसँग निकै लज्जास्पद हार भोग्यो । यो हारसँगै अर्जेन्टिनाको अन्तिम १६ प्रवेशमा रातो बत्ती बेलेको छ । किनभने, उसका अब बाँकी २ वटै खेल कठिन छन् । उसले दोस्रो र तेस्रो खेल मेक्सिको र पोल्यान्डसँग खेल्नेछ । अर्जेन्टिनाका लागि पोल्यान्डभन्दा मेक्सिको कठिन प्रतिस्पर्धी हुनेछ ।

४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया