सोमबार १२ मंसिर २०७९

जस्तोसुकै परिस्थितिमा पनि सहनु र नयाँ गन्तव्यका लागि यात्रा तयगर्दै स्वर्णिम सपनाहरूमा डुबुल्की मार्दै अगाडि बढ्नु नै जीवन रहेछ। छोरा स्वाभिमानको जन्मपछि कैंयन सपनाहरू मानसपटलमा तँछाड मछाड गर्दै जुर्मुराएका थिए।

कहिले छोरा उत्कृष्ट डाक्टर बनेर गरिब, पिछडिएका वर्गको बिरामीको उपचार गरेको त कहिले न्याय नपाएर व्यवस्थापिका र न्यायालय धाइरहेका पीडितलाई न्यायको रुपमा स्वर्णिम अक्षरले कुँदेका तर उजाड बनेका कानुनका ठेलीमा छोरो घोत्लिरहेको सपना देख्थेँ।

उता प्रिय सगुनले प्रशासकीय भूमिकामा बसेर सुशासन र सुव्यवस्थाका लागि निरन्तर कर्मशील भएर देशको राष्ट्रसेवक बनाउने सपना बुन्थिन्। हाम्रा सपनाहरू जे भए पनि छोरो ठूलो भएपछि उसले कोरेका सपनाहरूमा हामी पक्कै सारथी बन्ने र अन्तत: गरिबी, दु:ख, पीडामा मलम लगाउने कार्यमा भने हामी उसलाई पक्कै डोर्‍याउने योजनामा थियौं।

समय कहाँ हाम्रो योजनामा चल्दो रहेछ र! छोरो स्वाभिमान दुई वर्ष पूरा भएपछि बाइलेटरल विल्म्स ट्युमर (किड्नी क्यान्सर) बाट पीडित बने। हाम्रा सपनाहरू चकनाचुर मात्रै भएनन्, हाम्रा आफ्नै यात्राहरू पनि रोकिने अवस्थामा पुगे।

करिब ४ महिना नेपाल उपचार पछि बाबुलाई थप उपचारका लागि अमेरिका लग्यौँ, त्यो पनि प्रिय सगुनको साथमा मात्र। यता मलगायत परिवारजनले भगवानसँग प्रार्थना गर्नुभन्दा अर्को कुनै उपाय लागेन। अमेरिका लगेपछि बाबुमा आएको सुधारले लगभग बाबु जन्मिँदा जत्तिकै खुसीयाली मिलेको थियो परिवार र आफन्तमा।

त्यो विदेशी भूमि, प्राणघातक रोगबाट गुज्रिएको छोरा, एक्लो बसाइ। जतिसुकै पीडादायी भए पनि सुनौलो दिनको पर्खाइमा सगुन पनि दुःख भित्रको सुखको काल्पनिक महासागरमा रमाइरहेकी थिइन्। सेन्ट ज्युड इन्टरनेशनल चिल्ड्रेन्स हस्पिटल एण्ड रिसर्च सेन्टर जस्तो बाल क्यान्सरको विश्व प्रख्यात अस्पताल र ग्लोब रिसर्चमा सहभागी डाक्टरको समूहबाट उपचार गराउँदा छोरो ठिक नहुने भन्ने नै हामी पारिवारलाई लागेन।

बिहान उठेदेखि साँझसम्म नै म विद्यार्थीहरूको साथमा हुन्थेँ। साँझ परेपछि छोराको खुसी सहितको हाँसोले दिनभरिको थकाइ बिर्सिन्थेँ। मनमनै सोच्थेँ, त्यति सानो उमेरमा किमो, रेडियसनको असर कति भएको होला? कहिले हनहनी ज्वरोले सताउँथ्यो त कहिले लगातारको पखाला र बान्ताले सताउथ्यो। तैपनि बाबु खिसिक्क हाँस्न छाडेका थिएनन्।

उता मनमा के कुरा खेल्दो हो, सगुन कहिले बोल्दाबोल्दै रुन्थिन् त कहिले रुँदारुँदै हाँस्थिन्। यता म भने कहिले कक्षामा पढाउँदा पढाउँदै टोलाउँदो रहेछु अनि विद्यार्थीहरूले बोलाएपछि झसंग हुन्थेँ। कैयौं पटक खालि पिरियडमा छोरालाई सम्झेर बर्बर्ती आँसु आउँथ्यो। त्यसपछि बाथरुममा पसेर मुख धोएर फेरि कक्षाकोठामा मुस्कुराउँदै जान्थेँ।

वैशाखको अन्तिममा राति करिब १ बजे मेसेन्जरमा फोन आयो। सगुनको रहेछ। म बोल्न नपाउँदै उनी रुन थालिन्। म निरन्तर बोलिराखेँ, उनले बाबुलाई देखाइरहिन् र रोइरहिन् मात्र। बाबु हाँसी-हाँसी खेलिरहेका थिए। म अवाक भएपछि भनिन्, ‘बाबुको ट्युमर फेरि पलायो, नयाँ ठाउँमा पनि देखिएको छ।’

म भिडिओ अफ गरेर बेस्सरी रोएँ, फेरि आँसु पुछेँ र भिडिओ अन गरेर भनेँ, ‘नआत्तिऊ, बाबुलाई सन्चो हुन्छ।’सगुनलाई शब्दरुपी ढाडस दिएँ र बाबुलाई भिडिओमै भए पनि अँगालो मारेर फोन काटेँ। रातभर निद्रा लागेन। लागोस पनि कसरी? मनमनै सोचेँ, सगुनले कसरी दिन गुजारेकी होलिन्?

आफ्नै काखमा हाँसिरहेको छोराप्रति उनको धारणा के होला? न कसैसँग बोल्नु छ, न कसैसँग गएर दु:ख बिसाउनु छ। यस्तो विषम् परिस्थितिमा म आफैले डाक्टर रिचेल ब्रेन्नानसँग कुरा गरेँ। उहाँले सगुनलाई अंगालो हालेर सुक्क सुक्क गरेको देख्दा म पूर्णत: निरास भएको थिएँ।

डाक्टर ब्रेन्नानले सम्भावना लगभग कम भएको र नयाँ किमोले ३०% काम गर्न सक्ने कुरा गर्नु भयो। त्यसपछि सास रहुन्जेल आश हुन्छ भनेझैँ मैले सम्भावनाको अन्तिमसम्म प्रयास गर्नुहुन अनुरोध गरेँ। बाबुलाई नयाँ किमो सुरु भयो। नयाँ किमो सुरु गरेपछि बाबुलाई थप गलायो, अलिअलि पलाएका कपालका टुसाहरू फेरि झर्न थाले। रगतमा कहिले के, कहिले केको कमी हुन थाल्यो, किड्नी र मुटुमा समेत किमोले असर गर्न सुरु गर्यों।

यता घरमा भने बाबा आमालाई सन्चो हुँदै गएको र छिट्टै नेपाल ल्याउने मात्र कुरा सुनाइरहन्थेँ मैले। यसरी बाबा आमालाई गलत कुरा सम्प्रेषण गर्दा मलाई कम्ता नरमाइलो लाग्थेन तर म बाध्य थिएँ। लगभग असारको पहिलो हप्ता बाबुलाई फलोअपको लागि अस्पताल लैजाँदा अकस्मात आइसियूमा लैजान पर्ने अवस्था भयो।

अघिल्लो दिनसम्म अस्पताल परिसरमा आफूजस्तै क्यान्सर भएका बच्चाहरूसँग दौडिरहेको छोरो भोलिपल्ट अकस्मात आइसियूमा गएको खबरले म मरेतुल्य बनेको थिएँ। मैले छोरालाई अन्तिम अवस्थामा भेट्नलाई दोस्रो पटक अमेरिका दूतावासमा निवेदन गरेको थिएँ र जुलाई १० ( असार २७) मा मेरो अन्तर्वार्ता थियो। बीचमा बाबुलाई पुन: रेडियसन दिँदा बाबु थप गम्भीर बन्दै गए भने डाक्टरले लगभग अब उसलाई सजिलो गराउने भन्दा अर्को कुनै काम गर्न नसकिने बताइरहेका थिए।

मैले म आउन्जेल साससम्म राख्दिन अनुरोध गरिरहेको थिएँ। उहाँहरूले प्रयास जारी राखेको बताउनु भएको थियो। असार २६ गते म काठमाडौँ गएँ र दु:खसुखमा सदा साथमा रहने गोविन्द दाइको कोठामा गएँ। दाइलाई सबै कुरा सुनाएँ। दाइ बोल्न सक्नु भएन। साँझको खानापछि भाइ अर्जुनसग गफिँदै थिए। सुत्ने बेला बाबुलाई देख्न मन लाग्यो र फेरि सगुनलाई कल गरेँ।

बाबुको पेट फुलेको, अक्सिजन लगाएको र लगभग बेहोस अवस्थामा थिए। केहीबेर कुरा गरेर म निदाएछु। बिहान करिव ३:१० मा मेसेन्जरमा कल आयो। सगुनको रहेछ। मनले पूरै सिध्यायो, टाउको चटचटी भयो, हिम्मत गरेर उठाएँ। सगुन रोइरहेकी थिइन्, नर्स यताउति गर्दै हुनुहुन्थ्यो। माहोल पूरै भावविह्वल थियो।

म बोल्ने आँट नगरेपछि सगुनले भर्खरबाट बाबुले सास फेर्न छोड्यो भनेर चिच्याइन्। अब मलाई के गरौँ गरौँ भयो, खप्न नसकेपछि रुनुभन्दा अरु कुनै उपाय भएन।

बाबुलाई आइसियूमा राखेदेखि भाइ भीम तिवारी भर्जिनियाबाट मेम्फिस आइपुगेका थिए। करिब एक घण्टाअघि भीम बस्ने ठाउँ टार्गेट हाउस गएका रहेछन्। मैले तुरुन्त भीमलाई फोन गरेँ, उनी अस्पताल आइपुगे। केहीबेरमा डाक्टरको टोली आइपुगेर बाबुले हामीलाई छोडेको प्रमाणित गर्नु भयो। उहाँहरूले अंगालो मारेर रुँदै बाबुलाई अन्तिम श्रद्धान्जली दिनुभयो र आफूहरूले अनेकन प्रयास गर्दा पनि बाबुलाई बचाउन नसकेकोमा हामीसँग क्षमा माग्नु भयो।

हामी अकमक्क पर्यौं। सायद स्वर्ग भनेकै सेन्ट ज्युड हस्पिटल र भगवान भनेका त्यहीका डाक्टर जस्तो लाग्थ्यो हामीलाई। यो दुनियाँमा त्यहाँ जत्तिको मानवीयता र सहज वातावरण अन्त कतै छैन जस्तो लागेको छ हामीलाई। हाम्रा इच्छाहरू सोध्नु भयो, हामीले बाबुलाई छिटो नेपाल लैजाने वातावरण मिलाइदिन र बाबुको हात-खुट्टाको प्रिन्ट निकाल्दिन भन्यौँ। सबै कुरा सकेपछि बाबुलाई फनेरल होम पठाएर सगुन टार्गेट हाउस आइन्।

करिब बिहान साढे ५ मा गोविन्द दाइ म सुतेको कोठामा आउनु भयो। सायद अर्जुनले सबै कुरा भनिसकेको हुनुपर्छ। दाइले सम्झाउन थाल्नुभयो। मलाई झन्-झन् पीडाबोध भैरहेको थियो। मेरो ८ बजेको अन्तर्वाता भएकोले म गोविन्द दाइसँगै अमेरिका दूतावास तिर गएँ। अर्न्तार्वाता त भयो तर अपसोच भिसा प्राप्त भएन।

बाहिर आउँदा साथी विष्णु ढकाल पनि आइपुगेका रहेछन्। दाइले म अफिस बिदा लिन्छु, आज कीर्तिपुर कोठामा जाऔँ भन्नुभयो। मैले अफिस बिदा नलिन र आफू विष्णुसँग केही समय बसेर कीर्तिपुर आउँछु भनेपछि दाइ अफिस तिर लाग्नु भयो। यता विष्णुले मलाई स्कुटरमा राखेर पशुपति लगेर जलिरहेका लास र रोइरहेका तिनका आफन्त देखाउँदै मानव जीवनको शाश्वत सत्य यही हो भनेर मेरो पीडामा मलमपट्टी लगाउने प्रयास गरे।

अब बाबुलाई नेपाल ल्याउन केही दिन लाग्ने हुँदा म भरतपुर फर्किने निधो गरेँ। भाइ लिलुले जहाजको टिकट काटिसकेका रहेछन्। म असार २९ मा भरतपुर आइपुगेँ। भाइ युवराज एयरपोर्टमा मलाई कुरेर बसेका रहेछन्। म भाइको बाइकमा बसेर कोठामा आइपुगेँ। कोठामा भाइ लिलु, बुहारी बहिनी कल्पना र मेरो प्रत्येक घटनाको सारथी दाजु खिमानन्द सापकोटा हुनुहुँदो रहेछ।

म मनमनै अब बलियो हुनुपर्छ, म आफै नसम्हालिए परिवारको हालत के होला, सगुनको अवस्था के होला भनेर सोचिरहन्थेँ। मेरो पनि त मन हो, एक्लै रुने र पुराना स्मृतिहरू मानसपटलमा केलाउने सिवाय अरु केही भएन। साथीभाइ, सहकर्मी, आफन्त आउने क्रम चलिरह्यो।

कि आमा कि मामा भन्छन्, हो रहेछ। म भरतपुर आएको भोलिपल्टै कान्छा मामा नरदेव काफ्ले बुटवलबाट भरतपुर आउनु भयो। मामा आएपछि मलाई ठूलो धैर्यता मिलेको थियो। एक कर्मशील बुहारी बहिनी कल्पनाको स्याहार, केशव अङ्कलको निरन्तर निगरानी र अद्भुत दर्शनले केही समयलाई भए पनि दिमागमा शून्यता आउँथ्यो।

यता म त साथीभाइ, आफन्तको साथमा थिएँ तर उता सगुनको पीडाले मलाई सताउन थाल्यो। जहाँ पीडा त्यहाँ उपाय भगवानले लगाउँछन् भनेको हो रहेछ। भाइ भीम अमेरिका भएको हुँदा हामी सबैलाई दुःख भित्रको ठूलो राहत मिलेको थियो। दिदीको सम्पूर्ण हेरविचार गर्नेदेखि बाबुको शरीर नेपाल ल्याउन सम्पूर्ण चाँजोपाँजो मिलाउने काम भीमले नै मिलाए।

एउटा भान्जा जसलाई उनले अमेरिका पुगेपछि मात्र भेटेका थिए, उसैको मृत शरीर लिएर दिदीलाई सम्हाल्दै नेपाल आउने कुरा भीमलाई कम्ती पीडादायी थिएन। परेपछि सहनुको कुनै विकल्प नदेखेपछि भीम आफूलाई आफैले सम्हाल्दै सबै प्रकृया सके। करिव १५ दिनपछि साउन ९ गते सगुन र भीम नेपाल आउने र बाबुको शरीर ११ गते कार्गोबाट नेपाल आउने गरी उडान तय भएपछि म साउन ८ गते काठमाडौं गएँ र साथी विष्णु ढकाललाई लिएर ९ गते बिहान २ बजे एयरपोर्ट पुगेँ। ३ बजे सगुन र भीमलाई देखेपछि म मन थाम्न सकिनँ, तैपनि आँसु भित्र लुकाएँ।

मनमा कति धेरै सपना थिए। छोरो सन्चो भएर नेपाल आउँदा फूल बोकेर एयरपोर्टमा स्वागत गर्ने र अंगालो हालेर छोराका प्रत्येक अंगहरू सुमसुम्याउने अनि परिवार, आफन्तसँग हाँस्दै बाबुलाई भेटाउने। तर विडम्बना! भाग्यले त्यस्तो लेखेन।

साउन ११ गते बिहानै उठेँ। भाइ हिमांक मलाई लिन हामी बसेको होटलमा आइपुगेका रहेछन्। भाइसँगै म एयरपोर्ट पुगेँ, बाबुको मृत शरीर रिसिभ गर्न। होटलबाट हिँडेदेखि नै शरीर कामिरहेको थियो। टेलिभिजनमा बाक्सामा आएका मृत शरीरहरू देख्दा मन थाम्न नसक्ने म आफ्नै छोरा बाक्सा भित्र आएको कसरी हेरुँला, कसरी परिवार सामु लिएर जान सकुँला! तर परेपछि सबै सक्नु पर्ने रहेछ।

यस्तै यस्तै कुरा मनमा खेलाउँदै म एयरपोर्ट पुगेँ। एयरपोर्टमा गोविन्द दाइ, लिलु भाइ, इन्द्र अंकल, भुमा दिदी, शिवलाल भिनाजु, दुनाकला दिदी, जीवलाल भिनाजु, सायुज्य बहिनी, अशोक ज्वाइँ, धर्म सर सबै आइसक्नु भएको रहेछ। बाबुको शरीर रिसिभ गर्ने सबै कागजी प्रकृयामा सही गर्दा मन भक्कानिएको थियो, हात कामिरहेका थिए तर बेहोस जस्तो अवस्थामा मैले सबै काम सकेँ।

सायद मेरो नाजुक अवस्था देखेर होला मलाई प्राय: दाइ र अंकलले छोड्नु भएको थिएन। बाक्सा भित्रको छोरा मलाई जिम्मा लगाइदिन एक कर्मचारीले मेरो पछि-पछि आउनु भन्नुभयो। म पछि पछि गए र कागजपत्र देखाई मेरो छोरा स्वाभिमान हो भनेँ। त्यो बक्सा मैले कसरी छुनु? एक्कासि बाक्सामाथि हाम फालेछु। थामिन कैँयन प्रयास गर्दा पनि थामिन सकिनँ।

दाइले अंगालो मारेर छोड्नु भएन। आएका सबै आफन्तको अवस्था अत्यन्तै भावाविह्वल थियो। दैवको लिला कहाँ टार्न सकिँदो रहेछ र? केही समयपछि भाइ नबिन पनि आए। धेरैले पर्वत नै लैजान भन्नु भएको थियो। मैले मनमनै सोचेँ, ९७ वर्षको वयोवृद्ध हजुरबुवाको अगाडि लगेर बाक्सामा आएको पनाति कसरी देखाउन सक्छु र मैले?

अनेकन सोचेँ, मनले मानेन। सक्दै सकिनँ अनि देवघाट नै अन्त्यष्टि गर्ने निधो गर्यौं। लिला र नबिनलाई बाबुसँग एउटा गाडीमा र म, सगुन, भीम, शिला अर्को गाडीमा बसी हामी देवघाट धाम पुग्यौँ। देवघाटमा बाबा आमा, आफन्तजन, साथीभाइ सबै आइसक्नु भएको रहेछ। बाक्सा खोलेर हेर्दा बाबु उठेर बाबा भन्छ जस्तो लाग्यो, सुमसुमाएँ। माहोल अत्यन्त दुःखदायी बन्यो। केही क्षणको रुवाबासपछि बाबुलाई भूसमाधी गरी काजक्रियाको लागि पर्वत गयौँ।

अन्तमा मैले बाबुको उपचारको लागि आवश्यक सहयोग पाउँ भनि एक वर्ष पहिले स्वास्थ्य मन्त्रालयमा लेखेको पत्र सन्चै होला या बाबुजस्तै हामीलाई छोडेर गयो होला? मलाई धेरै जान्ने रहर छ किनकी आफैले आफ्नै सरकारसँग गुहार मागेको पत्रको अहिलेको अवस्था जान्न मन लाग्दोरहेछ।

दसैँको अवसरमा सबैजना घर जाँदा, बाबुकै उमेरका साना बाबुनानीहरू बाटोमा रमाउँदै हिँड्दा मेरा बाबा आमालाई कति धेरै नातिको यादले सताएको होला, म मात्र कल्पना गर्न सकिरहेको छैन। नजिकिँदै गरेको तिहारलाई स्वागत गरिरहेका मखमली फूललाई देख्दा दिदी मिनालाई अनि भान्जी संजीवनीलाई स्वाभिमान बिनाको तिहारले कति रुवाएको होला? आफैले हुर्काएको नाति बिनाको यो दसैंले स्वाभिमानको मावली परिवारमा कति पीडा दिएको होला? म कल्पना गर्न सकिरहेको छैन।

जीवनको यो दरदराउँदो, अकल्पनीय पीडाले होला दिनभरि देखावटी हाँसोमा मुस्कुराउँदै कार्यालयको जिम्मेवारी पूरा गरे पनि साँझ एक्लै पिलपिल मात्र गरिरहन्छिन् प्रिय सगुन। कहिले रातिमा कालु कालु भन्दै बर्बराउँछिन्। अबका प्रत्येक क्षणहरू बालक्यान्सरको क्षेत्रमा, बालबालिकाको क्षेत्रमा कुशल कर्म गरी स्वाभिमानको अभिमान स्मृति गरिरहनेछ।

प्रिय मुटु स्वाभिमान, सायद तिमी हजुरआमा, ठूलीआमा, ठूलोबुवाको साथमा छौ होला। जीवनको शाश्वत सत्य यही हो कि हामी पनि कुनै दिन तिम्रै संसारमा आउनेछौँ जहाँ तिमी त्यो दुनियाँमा परिपक्व बनिसकेका हुनेछौ र हाम्रो सेवामा लाग्नेछौ।

११३ पटक हेरिएको

तपाईको प्रतिक्रिया