आइतबार ०६ आषाढ २०७८

काठमाडौं – आज शुक्रवार मध्याह्नसम्म सामान्य रहेको काठमाडौंको मौसमी अवस्था एक्कासी परिवर्तन भयो । बिहान घाम लागेदेखि नै हल्का गर्मी महसूस भइरहेकोमा दिउँसो अचानक घामको प्रकाश छेकियो र तापक्रममा कमी आउँदा वायुमण्डल पनि धुमिल भयो ।

एक्कासी वायुमण्डललाई बाक्लो तुवाँलोले ढाकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडानहरू प्रभावित भए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार दिउँसो २ बजेदेखि विमानस्थलमा उडान तथा अवतरण बन्द गरिएको छ ।

भिजिविलिटी नपुगेका कारण उडान र अवतरण नै बन्द गरिएको कर्णले बताएका छन् । काठमाडौंबाट भरतपुरका लागि उड्नुपर्ने ३ उडान रद्द भए अन्य उडान पनि रद्द भएको छ ।

‘आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्,’ कर्णले भने, ‘आउने र जाने दुबैथरि उडान रोकिएका छन् ।’ भिजिबिलिटीमा समस्या देखिएपछि घरेलु उडानहरू दिउँसोदेखि नै रोकिएका कर्णले बताएका छन् ।

मौसमी अवस्थामा सुधार नभए काठमाडौंतर्फ आउँदै गरेका अन्तर्राष्ट्रिय उडानका विमानलाई डाइभर्ट गर्नुपर्ने अवस्था आउने कर्णले बताएका छन् ।

लामो समय वर्षा नभएका कारण वायुमण्डलमा धुलोका कण भए पनि धुलोकै कारण यसरी तुवाँलो नलागेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका मौसमविद् राजु प्रधानांगले भने, ‘वायुमण्डलमा धुलोका कण त थिए नै तर अहिले काठमाडौंको वायुमण्डलमा धुलोका कण मात्र होइन, धुँवा पनि मिसिएजस्तो देखिएको छ ।’

देशका विभिन्न स्थानमा डढेलो लागेका कारण वायुमण्डलमा धुँवा मिसिएर तुवाँलो बनेको हुनसक्ने उनले बताएका छन् । महाशाखाले शुक्रवार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा ‘देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको’ उल्लेख गरिएको छ ।

महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा रहेकाले यसले मानव स्वास्थ्यलाई नराम्रो असर पार्ने जानकारहरू बताउँछन् ।

१८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया