मंगलबार १८ आश्विन २०७९

काठमाडौं – पूर्वअर्थमन्त्री जनार्दन शर्माको छानबिन पेचिलो बन्दै गएको बेला गृहमन्त्रालयले सिंहदरबारको गेटको सीसीटीभी फुटेज १६ दिनभन्दा धेरै नरहने भनी पत्र पठाएको छ । शर्मामाथि छानबिन गरिरहेको समितिले साउन ८ गते सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको थियो ।

आज गृहमन्त्रालयले समितिलाई पत्र पठाएर सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज १६ दिनभन्दा धेरै नरहने जवाफ दिएको हो । छानबिन समिति बैठकले थप प्रमाण जुटाउने क्रममा जेठ १४ गते राति सिंहदरबार आउजाउ गरेकाहरू हेर्न दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने भएको थियो ।

छानबिन समितिका एकजान सदस्यले भने, ‘हार्ड डिक्स फरेन्सीक ल्याबमा पठाएपछि हामीले सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाएका थियौं । तर, फुटेज १६ दिनभन्दा धेरै नरहने भनेर भर्खरै जवाफ आएको छ ।’

गृहमन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले जवाफ गोप्य रहने बताए । उनले भने, ‘हामीले समितिलाई पत्र पठाइसकेका छौं । यो पत्र गोप्य भएकाले के कसो हो भनेर भन्न मिल्दैन ।’

समितिले प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको अर्थमन्त्रालयको सीसीटीभीको हार्डडिस्कको रिकभर भिडिओसहितको रिपोर्ट हिजो आइसकेको छ । जेठ १४ गतेको सीसीटीभी फुटेज रिकभर भए पनि । मन्त्रालय छिरेको मान्छे भने नचिनिएको बताइएको छ । समितिले आज साँझ फरेन्सिक ल्याबका विज्ञसँग छलफल गर्दैछ ।

रिकभर फुटेजमा प्रष्ट नभएपछि सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज केही सघाउने अपेक्षा समितिले राखेको थियो । तर, गृहले १६ दिनभन्दा धेरै गेटको फुटेज नरहने भनेर जवाफ पठाएको हो ।

यसभन्दा पहिले पनि अर्थमन्त्रालयले आफ्नो मन्त्रालयमा सीसीटीभी फुटेज १३ दिनभन्दा धेरै नरहने बताएको थियो । समितिले फरेन्सिक ल्याबमा पठाएपछि फुटेज रिकभर भएको थियो ।

सीसीटीभी जडान तथा सञ्चालन कार्यविधि २०७५ अनुसार सीसीटीभी फुटेज ३ महिनासम्म सुरक्षित राख्नुपर्ने व्यवस्था छ । गृहले तयार पारेको कार्यविधि अनुसार अति सुरक्षित र सम्बेधनशिल माथिएको सिंहदरबारमा पनि कतै १३ दिन त कतै १६ दिन मात्रै सीसीटीभी फुटेज रहने गरेको छ ।

कार्यविधिको सार्वजनिक प्रयोगसम्बन्धी बुँदा नम्बर ५ मा सीसीटीभीबाट खिचिएका दृश्यहरू कम्तीमा ३ महिनासम्म सुरक्षित राख्नुपर्ने उल्लेख छ । तर, सिंहदरबारले नै सीसीटीभी जडान तथा सञ्चालन कार्यविधको पालना गर्दैन ।

८० पटक हेरिएको

तपाईको प्रतिक्रिया