शनिबार १४ जेठ २०७९

थर लुकाउन सक्नेहरूले त लुकाएका छन्, लुकाउन नसक्नेहरूले मुन्टो लुकाएर हिँड्ने गरेका छन्। र, पछिल्लो दशकमा माओवादी जनयुद्धको प्रभाव र अन्य सामाजिक आन्दोलनहरूका प्रभावस्वरूप उत्पीडित समुदायको थोरै संख्याले आफ्नो नाम खुलेर लेख्न र भन्न थालेका छन्।

चलचित्र नायिका निरुता सिंहले केही हप्ता पहिले एउटा नेपाली रियलिटी सोमा नेपाल र भारतीय समाजमा रहेको जात व्यवस्थाबारे दिएको अभिव्यक्ति अहिले सामाजिक संजालमा स्यर भइराखेको छ, चर्चाको विषय भइरहेको छ। कान्तिपुर टेलिभिजनको ‘डान्स च्याम्पियन’ नामको सो कार्यक्रमका प्रतिस्पर्धीहरूले जात र छुवाछुतको ‘थिम’मा आफ्नो नृत्य प्रस्तुत गरेपछि नायिका सिंहले भनिन्, ‘हामी आफूलाई २१ औँ शताव्दीमा छौँ भन्छौँ।

हामीले एकदमै प्रगति गर्यौँ। हामी यो गर्यौँ/त्यो गर्यौँ भन्छौँ, हामी जातपात मान्दैनौँ पनि भन्छौँ। शहरमा बस्छौँ, ठूलाठूला कुरा गर्छौँ। तर आजपनि जातीय विभेद गाउँघर र शहर सबैतिर छ। मेरो नाम निरुता सिंह हो। र, मान्छेहरू सोध्छन्–निरुता सिंह भनेको को हो? कुन जातिको हो? तपाईँ ठकुरी हो? तर म विश्वकर्मा हुँ। उनीहरू सोध्छन्–विश्वकर्मा हो? म गर्वसँग भन्छु–म विश्वकर्मा हो। म कामी हो।’

निरुता सिंहमात्रै होइन, नेपाली–भारतीय समाजमा नाम लुकाएर बाँच्न वाध्य धेरै कलाकारहरू छन्, श्रमजीविहरू छन्। थर(जात) नलुकाउँदा आत्मसम्मान नै धरापमा पर्छ भने, अरु मान्छेले अपमान गर्न थाल्छ भने, पेशा/व्यवसाय अपनाउनै नसकिने अवस्था आउँछ भने उनीहरूले कसरी आफ्नो थर खुलाउन्? पढेका र टन्न पैसा कमाएका मेरा एकाध साथी छन्, जो आज पनि आफ्नो ‘जात’ लुकाएर बसेका छन्। तिनले मन परेको मान्छेसँग विहे गर्नकै निम्ति पनि थर वा जात ढाँटेका छन्। सकेसम्म आफ्नो थर/जात अरुले थाहा नपाउन् भनेर उनीहरूले आफ्नो नामका पछाडि ‘टाइटल’ राखेका छन्। केहीले चाहिँ तथाकथित उच्च जातिकै थर जोडेका छन्।

आजका दिनमा समेत ‘जात पत्ता लाग्दा’ ‘उत्पीडित जात’ले भोग्ने भुक्तमान कहालिलाग्दो छ भने केही दशक र शतकअघि मान्छेले आफ्नो जात/थर/समुदाय लुकाउनै नसक्ने अवस्थामा उत्पीडित जातिले कुन ताडना भोग्नुपर्थ्यो होला? केही पहिले आफ्नो जात खुलाएपछि काठमाडौंभित्र कोठा नपाएकी रूपा सुनारबारे धेरै मान्छेहरूले सुनेकै होलान्। जात थाहा हुनेबित्तिकै काठमाडौंमा समेत मान्छेहरूले कोठा दिँदैनन् भने दुरदराजका गाउँहरूको हालत के होला?

उत्पीडित जातिमाथि कस्तो व्यवहार भइराखको होला?
अरु कुरा किन? उत्पीडत समुदायका मेरै साथीहरू छन् जो यो लेखको विषयवस्तुसँग पूर्णः सहमत हुनेछन्। यस लेखका लागि मलाई मेसेन्जरमा धन्यवाद समेत दिनेछन् तर उनीहरू जात व्यवस्थाको बिरोध गरिएका यस्ता लेखहरू सामाजिक संजालमा शेयर गर्न डराउनेछन्। एउटा त ‘साना जातका मान्छेहरूको सानो चित्त हुन्छ’ भन्ने उच्च जातीय भाष्य समाजमा स्थापित छ।

त्यसो हुँदा उत्पीडित समाजका मान्छेले केही बोल्नेवित्तिकै ‘लौ हेर, साना जातिको सानै सोच, यिनीहरूले जहिल्यै जातीय कुरा गर्छन्’ भनेर उडाइन्छ। अर्थात् अन्यायविरुद्ध बोल्नै निषेध गरेको उच्च जातीय भाष्य र सोचले। जसका कारण उत्पीडितहरू आफूले भोगेका अपमानका कुराहरू सार्वजनिक रूपमा व्यक्त गर्नै चाहँदैनन्। किनकि उच्च जातीय चिन्तन बोकेकाहरू ठान्छन्, ‘उत्पीडनको बिरोध होइन, उत्पीडनलाई सँस्कृति मानिदिएर त्यसको उल्टै प्रशंसा गर्नुपर्छ। समाजलाई व्यवस्थित बनाउन पुर्खाहरूले गरिदिएको वैज्ञानिक ढंगको श्रम विभाजन हो जात व्यवस्था भनेर त्यस गलत परम्परालाई प्रशंसाको पगरी गुथाइदिनुपर्छ।’नेपालमात्रै होइन, भारतका सबैजसो शहरहरूमा ‘जात’ खुलेकै कारण उच्च जातिकाले अन्यलाई होचो अर्घेल्याईँ गर्छन्। धनी–गरीब वा बेग्लै जाति तथा राष्ट्रियता आधारमा संसारका सबै ठाउँमा विभेदहरू छन् तर हाम्रोजस्तो छुवाछुतको व्यवस्था छैन। जहाँजहाँ हिन्दू समाज छ, त्यहाँमात्रै छुवाछुत छ। ‘माथिल्लो जात’को मृतक जलाएको ठाउँमा दलितलाई लास जलाउन नदिएका, मुल सडकबाट लास जान अनुमति नभएका कारण लामो र जंगलको बाटो लास लान परेकाजस्ता सैयौँ समाचार आज पनि भारतबाट आइरहेका छन्। दुई वर्षअघि भारतको भेलोरमा मुल सडकबाट दलितको लास लैजाँदा सडक अपवित्र हुने भन्दै त्यहाँका ठूला जातिले अवरोध गरेपछि दलितहरूले लासलाई डोरीले बाँधेर पुलबाट खसाएर अर्को किनारमा पुर्याएको भिडियो अहिले पनि सामाजिक संजालमा हेर्न पाइन्छ।

हो, नयाँ पुस्ता स्वतः थोरै प्रगतिशील हुन्छ नै तर त्यही प्रगतिशील पुस्तामा पनि खोला र बाटो छुइने चिन्तन आज पनि व्यापक छ। सोही कारण अहिले पनि तथाकथित ‘सानो जात’काले ‘ठूलो जात’को छोरी माग्न सिँगै गाउँ उठेर उसको हत्या गर्छ। नवराज विकलगायतका युवाहरूको हत्याको कारक त्यही प्रष्ट देखिने थर हो। नवराज विक यदि कुनै शहरमा बस्थे र थर लुकाउन समर्थ रहन्थे भने सम्भवतः उनले आफ्नी प्रेमिका सुष्मा मल्ल–ठकुरीसँग निर्धक्क बिहे गर्न पाउथे।

तर हिजोदेखिको अकाट्य र गौरवशाली परम्परा तथा जात व्यवस्थाको ‘पवित्रता’ जोगाउन कसिएकाहरूले ‘त्यो त बाल बिबाह थियो नि’ भनेर रुकुम–नरसंहारको बचाउ गर्न खोजे। तर तथ्य त यही हो कि अहिले पनि समाजमा निर्धक्कसँग कानूनी रूपमा उमेर नपुगेकाहरू बीच धुमधाम विवाह भइरहेका छन्। कानुनी रूपमा विहे गर्ने उमेर नहुँदै जोडीहरू बच्चाका बाउआमा भएका उदाहरण खोजौँ न, जहाँ तहीँ छन्। प्रहरीमा उजुरी नपर्दासम्म १४ वर्षकै बच्चाबच्चीले बिहे गरेपनि त्यो बाल बिबाह ठहरिँदैन। तर अन्तर्जातीय विहेहरूमा भने आफन्त र अभिभावकले उजुरी दिने गर्छन् जसका कारण धेरै अन्तर्जातीय प्रेमहरू विवाहमा परिणत हुनुपूर्व नै झगडा र समस्यामा परिणत हुन्छ। त्यो भाँडिन्छ या कतिले नवराज विकको नियति भोग्नुपर्छ।

मेरै आफन्तहरूले पनि बाल विवाह गरेका छन्। तर यस्ता विवाहहरू समाज र आफन्तबाट संरक्षित छन्। प्रहरी कार्यालयमा उजुरी नदिएका कारणमात्रै ती स्वतः विवाह ठहरिएका हुन्। जातकै कारण हजारौँ वर्षदेखि आर्थिक रूपमा खास खास समुदाय पछि परेको कुरो त छँदेछ, जात वा थरको पहिचान हुनेवित्तिकै त्यस मानिसको हुर्मत लिइने, त्यस मानिसप्रति हेर्ने नजरीयामा एकाएक १८० डिग्रिमा परिवर्तन हुने हुँदा दक्षिण एसियाली हिन्दू समाजमा मान्छेहरूले थर लुकाएरै जीवन बाँचेका छन्।

थर लुकाउन सक्नेहरूले त लुकाएका छन्, लुकाउन नसक्नेहरूले मुन्टो लुकाएर हिँड्ने गरेका छन्। र, पछिल्लो दशकमा माओवादी जनयुद्धको प्रभाव र अन्य सामाजिक आन्दोलनहरूका प्रभावस्वरूप उत्पीडित समुदायको थोरै संख्याले आफ्नो नाम खुलेर लेख्न र भन्न थालेका छन्। दशकौँ नेपाली फिल्ममा काम गरेकी निरुताले पनि सम्भवतः सोही प्रभाव र बलमा ‘म कामी हुँ’ भनेर आफ्नो वेदना पोखेकी हुन्। उसो त मान्छेको जाति होमो सेपियन्स हो। अफ्रिकामा विकसित भएर संसारभर फैलेको यसको जाति एउटै हो। जातीय परिचयहरू पछि विकसित भएका हुन्। जातीय परिचयमै शोषण व्यवस्था आधारित रहेका हुनाले यो विषयलाई आज पनि जोडतोडका साथ उठाउन परेको हो। सकारात्मक विभेदका व्यवस्थाहरू ल्याउन खोजिएको हो।

निरुताको ‘म गर्वका साथ भन्छु, म कामी हुँ’ भन्ने अभिव्यक्तिको प्रतिक्रियामा कतिपयले उनलाई सोधेका छन्, ‘उसो भए यत्तिका वर्ष निरुताले किन जात ढाँटेको?’ आफैँ निरुता सिंह भएर म उत्तर दिन चाहन्छु– बाघले आफूलाई बाँच्न दिँदैन भन्ने थाहा पाएको मृगले आफूलाई झाडीमै लुकाइराख्नुको कुनै विकल्प छ र? र, पनि हामी मृगलाई सोध्दै छौँ–किन तिमी बाघको बथानका अघि झाडीमा लुकेर बसेको? किन आफ्नो असली परिचय लुकाएको?

नोट : जात वा थर भन्नु वा नभन्नु व्यक्तिको निजि मामिला हो। अर्को कुरा, ठूला भनिने जातिका पुरुषले दलित महिलासँग बिहे गर्दा ती दम्पतीबाट जन्मेका सन्तानको थर त ‘ठूला जात’कै हुने नै भयो। यसो हुँदा दलनमा परेका कतिपयको थर तथाकथित ठूला जातिको सँग मिल्नु अनौठो भएन। अर्को कुरा, नेपाल तथा भारतमा कतिपय साना भनिने जातिका थरहरू पहिलेदेखि नै ठूला भनिने जातिकै जस्तै रहेको कुरा जातव्यवस्थाका व्याख्याता तथा लेखक आहुतीले आफ्ना किताबहरूमा उल्लेख गरेका छन्।

९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया