बुधबार २५ साउन २०७९

काममा कति समय खट्ने? सामान्यतया कार्यालयलाई धेरैले छ-आठ घन्टा समय दिन्छन्। तर कतिपय व्यक्तिहरू रोजीरोटीका लागि दिनरात भन्दैनन्। जति धेरै काम गर्‍यो, कमाइ उति बढ्ने भएपछि खटिरहन्छन्।

यसरी दिनरात खट्नेमध्ये एक हुन् ४० वर्षीया रमा घिसिङ। उनको रोजीरोटीको माध्यम हो ‘सहारा राइड सेयरिङ।’रमालाई आफ्नो आम्दानीको यात्रामा साथ दिएको छ सुन्तले रङको होन्डा डियो स्कुटरले।

‘यही स्कुटरमा दैनिक २० जनालाई गन्तव्यसम्म पुर्‍याइरहेकी छु,’ उनले आफ्नो स्कुटर देखाउँदै भनिन्।रमासँग गत साता सुकेधारास्थित सहारा कम्पनीको कार्यालय अगाडि हाम्रो भेट भएको थियो। स्कुटर पार्किङमा राखेर घामको न्यानो लिँदै उनी मोबाइलमा यात्रुको बुकिङ हेर्न व्यस्त थिइन्।

उनको काम अनुभवबारे कुराकानीका लागि अनुरोध गर्दा स्वीकृति दिँदै ठट्यौली पारामा भनिन्, ‘बुकिङको प्रतिक्षामा छु। मोबाइलमा घन्टी बज्नासाथ स्कुटर गुडाउनुपर्छ, के गर्ने होला?’

फेरि थपिन्, ‘ठिकै छ! मेरो अनुभव अरूलाई प्रेरणादायी पनि बन्न सक्छ। बरू कुराकानी पो कताबाट सुरू गर्ने?’हँसिली रमा फरासिली रहिछन्। बेलाबेला ठट्टा पनि गर्छिन्।

‘यात्रुलाई खुसी बनाउनुपर्‍यो। एकपटक राम्रो बन्न सकियो भने यात्राका लागि फेरि फोन आउँछ,’ विगत ६ महिनादेखि यात्रुलाई आफ्नो स्कुटरमा राखेर गन्तव्यमा पुर्‍याउन थालेकी रमाले भनिन्।

रमाका थुप्रै नियमित यात्रु पनि छन्। उनीहरूले अफिस र घर पुर्‍याउने जिम्मै रमालाई दिएका छन्। यसले काममा थप ऊर्जा मिलेको उनी बताउँछिन्। यही कामबाट उनको जीविका धानिएको छ।

‘राइडमा निस्केको दिन दुई हजारभन्दा बढी कमाउँछु। सधैं खट्नुपर्छ भन्ने हुँदैन। सक्दा गर्ने, नसक्दा आराम गर्ने। जागिरमा यस्तो सुविधा हुन्छ र?’ उनी आफ्नो काममा सन्तुष्ट छिन्।

उनका अनुसार राइड सेयरबाटै महिनामा ७० हजार रूपैयाँ कमाउँछिन्। सवारीसाधन, मोबाइल र अरू खर्च कटाएर मासिक ३० हजार बचत गर्छिन्।

‘स्वदेश बसेर ३० हजार बचत गर्न सकिन्छ भने तातो घाममा पसिना बगाउन किन जाने परदेश?’ रमा उल्टै प्रश्न गर्छिन्।

यो सन्तुष्टिमा काम प्रतिको उनको लगावकै देन छ। बिहान दस बजे डेराबाट निस्किने उनी बेलुका फर्किने टुंगो हुँदैन। मोबाइलमा चार्ज टिकेसम्म र बुकिङ आएसम्म राती १२ बजेसम्म पनि सडकमै बस्ने उनी बताउँछिन्।

उनलाई दिउँसोभन्दा बेलुका यात्रा गर्न सहज लाग्छ। सडकमा सवारीसाधन संख्या कम हुने र जाम नहुने भएकाले बेलुका सजिलो महसुस गर्छिन्। दिउँसोको तुलनामा बेलुका यात्रु पनि धेरै आउँछन्।

रमाका अनुसार प्रायः अस्पताल क्षेत्रबाट बेलुकाको बुकिङ आउँछ। सहारा एपमा अरूका लागि पनि बुकिङ गर्न मिल्ने भएकाले एक जना मात्र होइन, कहिलेकाहीँ परिवारलाई नै घर पुर्‍याउनुपर्छ।

रातको समयमा जोकोहीलाई काम गर्न धक लाग्छ। डर पनि हुन्छ। तर उनी निर्धक्क काठमाडौंका सहर स्कुटरमा चहार्छिन्। अहिलेसम्म कुनै नमिठो घटना खेप्नु नपरेकोमा सन्तोक मान्छिन्। बरू उनलाई सडकका खाल्डाखुल्डीले कहिलेकाहीँ अप्ठ्यारो पार्छ, अँध्यारा बाटामा समस्या हुन्छ।

आफूले धेरै यात्रुलाई सेवा दिएवापत कम्पनीबाट बोनस पनि पाएको उनले खुसी हुँदै सुनाइन्। हेलमेट, ज्याकेट, टिसर्ट लगायत उपहार पाएकी छन् उनले। राइड सेयरिङ कम्पनी सञ्चालनमा आएसँगै धेरै महिलाले रोजगारी पाएका छन्। धेरै यात्रुले महिला राइडरलाई प्रोत्साहित पनि गर्ने उनको अनुभव छ।

७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया