मंगलबार ०२ कार्तिक २०७८

पोखरा । “प्लिज, आमासँग केही कुरा नसोधिदिनुहोला है,” आफन्तको आवाज थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोस्टमार्टम वार्डबाहिर राधाकुमारी मगर अचेतजस्तै थिइन् । बेलाबेला आँसु पुछिरहन्थिन् । अनुहार मलिन थियो । पोस्टमार्टम वार्डमा उनका आँखा पुगिरहन्थे । त्यही वार्डमा उनका कान्छा छोराको निर्जीव शरीर थियो ।

धादिङको नीलकण्ठ नगरपालिका–२, सिउडीबारका राजाराम मगर चार वर्षअघि नेपाली सेनाको जवानमा भर्ती भएका थिए । उमेर १९ वर्ष पुग्दै थियो । उनका बुवा पनि नेपाली सेनामै थिए । एकजना दाजु उनीभन्दा तीन वर्षपहिले नै भर्ती भएका थिए ।

कक्षा–१२ पास भएर बसेका उनले नेपाली सेनाले विज्ञापन खुलाएको थाहा पाए । छनोटका लागि रौतहट पुगे । पहिलोपटकमा नै उनी सफल भए । नेपाली सेनाको जवान पदमा भर्ती भए । उनको सुरुको दरबन्दी रसुवाको कालीजङ गणमा भयो ।

उनी गणमा नै रहँदा एक–डेढ वर्षपछि नेपाली सेनाले पाराग्लाइडिङ खेलतर्फ राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन देशभरिबाट नै छनोट प्रक्रिया सुरु गर्‍यो । त्यसबारे उनले बुवा कुलबहादुरलाई बताएका थिए । देशभरिका सात/आठ सय जनामध्येबाट २० जनामा उनी छनोट भए । “देशभरिबाट नै छनोट भएँ भनेर भनेको थियो, अब म यतै अगाडि बढ्छु भनेको थियो,” कुलबहादुरले भने ।

छनोट भएपछि राजारामसहित १७ जवान, एकजना पदिक (जमदार) र दुईजना अधिकृतसहितको टोली दुई वर्षअगाडि पाराग्लाइडिङ अभ्यासको लागि पोखरा आयो । निरन्तर एक वर्ष अभ्यास पनि भयो । लकडाउनका कारण एक वर्षसम्म अभ्यास रोकियो । अभ्यास रोकिएपछि उनी दरबन्दी रहेको गणमा पुगेका थिए । लकडाउन केही खुकुलो भएपछि दुई महिनाअघि मात्रै सेनाले रोकिएको अभ्यास सुरु गर्‍यो ।

उनका ब्याची साथी भन्छन्, “दुई महिनाअघि हामीलाई बोलाएको हो, अभ्यास सुरु भएको चाहिँ एक महिनाजति भयो ।” अन्य दिनजस्तै सोमबार पनि राजाराम अभ्यासका लागि पुगे । तर, दुर्भाग्य ! सोमबारको अभ्यास उनको लागि अन्तिम बन्न पुग्यो ।

पाराग्लाइडिङमा आकाशतर्फ उडेका राजाराम दु’र्घटनामा परे । प्राविधिक गडबडीका कारण फेवातालमा गएर डु’ब्न पुगे । नेपाली सेनाले तत्कालै उ’द्धार टोली पठायो । नेपाली सेनाको पश्चिम पृतना विजयपुरका जनसम्पर्क अधिकृत प्रेम पौडेलले भने, “हामीले उद्धार त गर्‍यौँ, तर उहाँ बाँच्न सक्नु भएन ।”

फेवातालमा डुबेका उनलाई पोखराकै रानीपौवास्थित सैनिक अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पताल पुग्दासम्म उनी जी’वितै थिए । तर, अ’वस्था निकै गम्भीर भइसकेको थियो । “बोल्नसक्ने स्थिति थिएन, उपचारकै क्रममा उहाँको नि’धन भयो,” पौडेलले भने ।

नेपाली सेनाबाट अवकाश पाएपछि कुलबहादुर नीलकण्ठ नगरपालिका–२ मा खेती–किसानी गरेर बसेका छन् । कुलबहादुरले १५ वर्षअघि हवल्दारबाट अवकाश लिएका थिए । दुई छोरा ऋषि र राजाराम दुवै सेनामा थिए ।

घरमा चयनको वातावरण थियो । सोमबार पनि कुलबहादुर नियमित घरधन्दामै थिए । रसुवाको कालीजङ गणबाट अपराह्न साढे ४ बजेतिर फोन आयो । फोनमा भनिएको उनी सम्झिन्छन्, “तपाईंको छोरा पाराग्लाइडिङ दु’र्घट’नामा पर्नुभएको छ । अवस्था गम्भीर छ, पोखरा अस्पतालमा जानुहोस् ।”

कुलबहादुर राति नै श्रीमती र आफन्तसहित पोखरा आए । तर, पोखरा आइपुग्दा छोराको ज्या’नमा प्रा’ण थिएन । राधाकुमारी अचेतजस्तै अवस्थामा पुगिन् । बल्लतल्ल सम्हालिएका कुलबहादुरले भक्कानिँदै भने, “त्यति बोल्दैनथ्यो, आँटिलो थियो ।” कम बोल्ने राजाराम कहिल्यै नबोल्ने गरी बिदा भइसकेका थिए ।

घ’टना कसरी घट्यो, कुलबहादुरलाई थाहा छैन । छोराका साथीहरुले भनेको सुनेको आधारमा उनले भने, “अभ्यास गर्दा रोलिङ हुन्छ रे, ग्लाइडिङको डोरी समातेको समात्यै गरेको थियो रे, उक्त डोरीचाहिँ छाड्नुपर्थ्यो रे ।”

भक्कानिएका बाबुलाई देखेर उनका आफन्तले भने, “प्लिज, आमासँग चाहिँ कुरा नगरिदिनुहोला ।” पश्चिमाञ्चल अस्पतालको उक्त पोस्टमार्टम वार्डबाहिर राजारामका आफन्त र साथीहरु थिए ।

नेपाली सेनाले हेडक्वार्टरबाट नै पाराग्लाइडिङ प्रतियोगितामा सहभागिता गराउनको लागि भनेर अभ्यास कार्यक्रम स्वीकृत गरेको थियो । सोही अभ्यास तालिममा छनोट भएर राजाराम आकाशमा गोता लगाउँदै थिए । उनका साथीहरु पनि अभ्यासमा नै थिए । दु’र्घट’ना नभएको भए राजाराम पनि आजदेखि एसआईभी तालिम लिँदै हुने थिए । यो तालिम हवाई खेलकुद संस्था (ना)ले दिने तयारी भएको थियो । उक्त दु’र्घट’नापछि अहिले उनीहरुको अभ्यास तालिम पनि रोकिएको छ । “खै, अब कहिलेदेखि अभ्यास सुरु हुन्छ, थाहा छैन,” राजारामका साथीले भने ।

राजारामले सुरुमा उडान भरे, आकाशको माथिमाथि र एक्कासि तल झरे, कहिल्यै नफर्कने गरी । उनका साथीहरु भन्दै थिए, “हामी त आकाशमै थियौँ… ।”

आकाशबाट धर्तीमा खसेका राजारामको देहलाई नेपाली सेनाले मंगलबार रामघाटमा अन्त्येष्टि गरेको छ । नेपाली सेनाका तर्फबाट पाराग्लाइडिङ प्रतियोगितामा सहभागी बन्ने र देशको नाम राख्ने उनको इच्छा पनि रामघाटमा नै दफन भयो ।

३३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया