समाचार

सत्तरी वर्षअघि आजकै दिन यसरी ‘बेबी किङ’ बनेका थिए ज्ञानेन्द्र शाह

नेपालको इतिहासमा दुईजना शाहवंशीय व्यक्तिले दुई-दुई पटक राजा बन्ने ‘अवसर’ प्राप्त गरे । यस्तो अवसर प्राप्त गर्नेमध्ये पहिलो थिए, शाह बंशको शासनलाई मजबुत बनाउने नेपाल एकिकरणकर्ता पृथ्वीनारायण शाहका नाति रणबहादुर शाह । अर्काे, राणाहरूको हातमा रहेको शक्ति खोसेर शाहहरूकै हातमा फर्काउने राजा त्रिभुवनका नाति ज्ञानेन्द्र शाह।

नावालक राजा ज्ञानेन्द्रलाई श्रीपेच लगाइँदै

यीमध्ये १८३२ मा बाबु प्रतापसिंह शाहको निधनपछि १८५५ सम्म राजा बनेका रणबहादुर शाहले २ फागुन (१८५५) मा राजीनामा दिएर छोरा गिर्वाणयुद्धलाई राजा बनाए पनि फेरि आफू नै राजा भएको दावी गर्दै द्वैध शासन सुरु गरेका थिए । दरवार हत्याकाण्डमा राजा वीरेन्द्रसहित राजपरिवारका सबै सदस्यको निधन भएपछि २२ जेठ ०५८ मा दोस्रो पटक राजा भएका ज्ञानेन्द्र चाहिँ ठीक ७० वर्ष अगाडि आजकै दिन पहिलो पटक राजा बनाइएका थिए।

अघिल्लो दिन (२१ कार्तिक २००७) परिवारसहित राजा त्रिभुवन शितल निवासस्थित भारतीय राजदूतावासमा शरण लिन पुगेपछि ज्ञानेन्द्रलाई बालककालमै यसरी बेबी किङ (बालक राजा) बन्ने अवसर जुरेको थियो । जबकि, त्रिभुवनपछि राजगद्दीको रोलकक्रममा उनका बाबु महेन्द्र र दाजु वीरेन्द्र थिए।

२१ कार्तिकका विहान ९-१० बजेतिर ‘शिकारका लागि जाने’ भन्दै राजा त्रिभुवन नारायणहिटी दरवारबाट निस्के । साथमा उनका दुई बडामहारानी र अन्य रानीहरू, छोराहरू युवराज महेन्द्र, अधिराजकुमारद्वय हिमालय र बसुन्धरा, नाति वीरेन्द्र लगायत राजपरिवारका अन्य सदस्य थिए । तर, ‘शिकारका लागि’ निस्केको शाही परिवारका ४ वटा गाडी नागार्जुनतिर होइन, भारतीय राजदूतावास रहेको शितलनिवासतिर लाग्यो । र, यही परिस्थितिले नाबालक ज्ञानेन्द्रलाई राजा बन्ने अवसर जुरायो।

राजा त्रिभुवन भारतीय दुतावासमा शरणका लागि प्रवेश गरेपछि सिंहदरवारमा सबै राणाजीहरू जम्मा भई ‘के गर्ने’ भन्ने विषयमा छलफल सुरु गरे । मेजर जनरल अरुण शमशेरलाई नारायणहिटी राजदरवारमा शाही परिवारका कोही सदस्य बाँकी छन् कि छैनन् भन्ने बुझ्न जिम्मेवारी दिएर पठाइयो । मेजर जनरल अर्जुन शमशेर र विजय शमशेरले भने भारतीय दूतवाासबाट त्रिभुवनलाई फकाएर ल्याउने जिम्मा पाए । तर, दुई-दुई पटकको प्रयासमा पनि त्रिभुवनलाई फकाएर ल्याउने सफलता प्राप्त गरेनन्।

त्यसपछि ‘के गर्ने, कसलाई राजा बनाउने’ भन्ने विकल्प खोजी गर्न शीर्षस्थानमा रहेका राणाहरू सिंहदरवारको बैठकमा जुट्न थाले । त्यसक्रममा प्रधानसेनापति बबर शमशेरले राजतन्त्र नै उन्मुलन गरेर जानुपर्ने धारणा राखे । उनी श्री ३ मोहन शमशेरपछि श्री ३ महाराज बन्ने रोलमा थिए । कतिपयले श्री ३ मोहन शमशेरले आफैंले श्री ५ को श्रीपेच लगाउन सुझाव दिए । भारतीय दूतावासमा सैनिक कारवाही गरेर भएपनि त्रिभुवनलाई फर्काएर ल्याउनुपर्छ भन्ने कतिपय भारदारहरूको सुझाव रह्यो।

‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस’ पुस्तकमा डा.राजेश गौतमले उल्लेख गरे अनुसार, श्री ३ मोहन शमशेरले जस्तो उग्रखालका सुझाव पाएका थिए, नेपालका लागि तत्कालिन ब्रिटिस राजदूत फल्कोनरले त्यस्ता सुझावको कार्यान्वयन गर्नु अनुचित हुने सुझाव थिए। बरु राजा त्रिभुवनलाई बैधानिक किसिमबाट अपदस्थ गर्दा उपयुक्त हुने सुझाव ब्रिटिस राजदूतको रह्यो।

सिंहदरवारमा फेरि उच्च पदस्थ राणाहरूबीच पटक-पटक बैठक भइरहे । बैठकपछि विजय शमशेर फेरि ब्रिटिस राजदूतलाई भेट्न लैनचौर पुगे । यस पटकको भेटमा ब्रिटिस राजदूतले त्रिभुवनको अनुपस्थितिमा रिजेन्सी काउन्सिल (राजाको अनुपस्थितिमा शासन गर्न गठित परिषद्) गठन गर्न सुझाव दिए । तर, यसमा विजय शमशेर सहमत भएनन् । विकल्पमा राजदूत फल्कोनरले ‘राणा सरकारले जसलाई राजा बनाउँछ, त्यसलाई ब्रिटेनले मान्यता दिनेछ’ भन्ने बचन दिए।

त्यसैबीचमा राजा त्रिभुवनका माहिला नाति शाहज्यादा ज्ञानेन्द्र मामाघर बागदरवारमा रहेको जानकारी सिंहदरवार पुगिसकेको थियो । एकातिर राणा सरकारले जसलाई राजा घोषणा गर्छ, त्यसलाई मान्यता दिने ब्रिटिस राजदूतको बचन, अर्काेतिर राजा त्रिभुवनकै नाति मामाघरमा रहेको जानकारी।

मोहन शमशेर अब श्री ५ त्रिभुवनका माहिला नाति ज्ञानेन्द्रलाई ‘बेबी किङ’ बनाएर राजतन्त्रलाई निरन्तरता दिने र राणाशासनमाथि आइपर्न सक्ने संकट टार्ने निर्णयमा पुगे । सिंहदरवारमा भएको भारदारहरुको बैठकले भोलिपल्ट (२२ कार्तिक २००७) का दिन शाहज्यादा ज्ञानेन्द्रलाई राजा बनाउने निर्णय गरेपछि रातारात त्यस सम्बन्धी तयारी सुरु भयो।

उतिबेला मोहन शमशेरको दरवारमा खरिदारको जिम्मेवारीमा रहेका नेपाल सरकारका पूर्वसचिव लक्ष्मणप्रसाद रिमाल (९६ वर्ष) का अनुसार, पाटनबाट सूचीकार बोलाएर नाबालक शाहज्यादा ज्ञानेन्द्र गद्दीमा बस्दा लगाउने पोशाक सिलाउन लगाइयो । बागदरवारमा रहेका ज्ञानेन्द्रलाई २१ कार्तिककै दिन सिंहदरवारमा सारिए। त्रिभुवनले श्रीपेच नारायणहिटीमा छाडेर गएका थिए । त्यसैले, छुट्टै श्रीपेचको जोहो गर्नु परेन।

‘त्यस बखतको नेपाल’ का लेखक सरदार भीमबहादुर पाँडेका अनुसार, २२ कार्तिकका दिन दिउँसो २:४५ बजे हनुमानढोकाको नासलचोकमा परम्परा अनुसार ज्ञानेन्द्रको राज्यारोहण भएको थियो । पाँडेले लेखेका छन्, ‘बडा गुरुज्यू हेरम्बराज पाण्डे काठमाडौंमा छँदाछँदै नायब बडागुरुज्यू हेमराज पाण्डेले श्री ५ ज्ञानेन्द्रलाई श्रीपेच पहिर्याए । राजा बनेलगत्तै लेक करजङ्ग राणा र देबबिक्रम राणाहरु श्री ५ ज्ञानेन्द्रका ददाको जिम्मेवारीमा रहे भने बाबुसाहेब दीपक शमशेर र पशुपति शमशेर शाही संगाती बने।’

सलामी फर्काउँदै श्री ५ ज्ञानेन्द्र

रिमालका अनुसार, श्रीपेच पहिर्याएर ज्ञानेन्द्रलाई राजा बनाउने निर्णय २१ कार्तिकको साँझमा भइसकेकाले २२ कार्तिकका दिन विहानै सरकारी कर्मचारीहरुलाई सिंहदरवारमा आउन उर्दी जारी गरिएको थियो।

जब उज्यालो भयो, तयार पारिएको नयाँ पोशाक बालक ज्ञानेन्द्रलाई लगाइदिएर मोहन शमशेरले एक हातले डोर्याएर सिंहदरवारको चोकमा ल्याइपुर्याए । त्यहाँ ज्ञानेन्द्रका लागि एउटा विशेष बग्गी तयार थियो । उनी त्यही बग्गीमा चढाइए । साथमा श्री ३ मोहन शमशेर पनि बसे।

आफ्नो संस्मरणात्मक पुस्तक ‘बितेका ती दिनहरु’ मा रिमालले त्यसपछिका घटना यसरी उल्लेख गरेका छन्, ‘हामी पछि पछि गयौं । सिंहदरवारको ढोकादेखि दुबैतिर लहरै आर्मीलाई सतर्क राखिएको थियो । बाटो एकदम चकमन्न थियो।

मानिसलाई हिँड्नसमेत दिइएको थिएन । भद्रकालीबाट त्रिपुरेश्वर जानेबाटो, धरहरातिर लाग्ने बाटो तथा नयाँ सडकको बाटोमा केही सर्वसाधारण उभिएर हेरिरहेका थिए । अन्यत्र एकदम शान्त थियो । हनुमानढोका पुगेपछि शाहज्यादा ज्ञानेन्द्रलाई हतारमा तयार गरिएको मञ्चमा भएको सिंहासनमा राखियो।’

रिमालका भनाइमा, सुरुमा पण्डितहरुको मंगलोच्चारण र अन्य विधि सम्पन्न भयो । त्यसपछि ज्ञानेन्द्रको शिरमा नायब बडागुरुज्यू हेमराज पाण्डेले श्रीपेच लगाइदिए । श्रीपेच लगाइँदा रोचक दृष्य देखियो । उनी लेख्छन्, ‘नाबालक राजाको शिरमा श्रीपेच मिल्दैन भन्नेमा कसैको ध्यान गएको थिएन, त्यसैले ठूलो साइजको श्रीपेच ज्ञानेन्द्रको आँखा र नाकसम्मै पुगेर ढाकिदियो, यसले गर्दा उनको अनुहार नै देखिएन।

त्यसैले, बडागुरुज्यूले श्रीपेच झिकेर मिलाउने प्रयासमा लागे । तर, कसैले पछाडिबाट ‘ए नझिक्नुहोस्, नझिक्नुहोस्’ भनेर रोक्यो । लगत्तै २-३ गज कपडाको व्यवस्था गरियो, त्यो कपडा ज्ञानेन्द्रको शिरमा वरिपरि बेरियो, ताकि श्रीपेच पहिर्याइएको श्रीपेच स्वभाविक रुपमा शिरमा रहन सकोस्।’

नाबालक ज्ञानेन्द्र २००७ मा पहिलो पटक राजा बनेर नासलचोक (हनुमानढोका दरवार) श्रीपेच लगाएको देखेका रिमालले ५१ वर्षपछि ज्ञानेन्द्रले त्यही नासलचोकमा दोस्रो पटक राजा बनेर ज्ञानेन्द्रले श्रीपेच लगाएको पनि देखे, २२ जेठ ०५८ मा।

यस पटक उनले ज्ञानेन्द्रले श्रीपेच पहिरिएको टेलिभिजनको पर्दाबाट हेरेका थिए । उनी भन्छन्, ‘जसरी पहिलो पटक श्रीपेच शीरमा स्थिर हुन सकेन, ठीक त्यस्तै तरिकाले दोस्रोपटक पनि श्रीपेचको स्थिरता नडगमगोस् भनेर ज्ञानेन्द्रले आफ्ना दुबै हातले श्रीपेचलाई दुबैतिरबाट अड्याउन खोजेका थिए।’

नाबालकै भएपनि राजा बनेका बेला ज्ञानेन्द्र फुर्तिलो खुसी देखिएको प्रत्यक्षदर्शीहरुले उल्लेख गरेका छन् । रिमालले उपरोक्त पुस्तकमा यही कुरा उल्लेख गरेका छन् । ‘नावालक भएपनि ज्ञानेन्द्र पहिलेदेखि एकदम चलाख तर गम्भीर प्रकृतिका थिए’ उनले लेखेका छन्, ‘स्वभाविक रुपमा बालकमा हुने चञ्चलता त्यहाँ देखिएन।’

सार्वजनिक भएका तस्बिरहरूमा पनि श्री ५ ज्ञानेन्द्र ठाँटका साथ श्री ३ मोहन शमशेरसँग हिँडिरहेका देखिन्छन् । साढे तीन बर्षका बालक, आफ्नो परिवारका सदस्य कोही छैनन्। जताततै सैनिक र अपरिचितहरु मात्रै छन्।

अरु सामान्य बालक हुँदो त यस्तो परिस्थितिमा जोडले रोइरहेका हुन्थे होलान् । तर, ज्ञानेन्द्र चाहिँ ढुक्क देखिन्छन् । पाँडेले लेखेका छन्, ‘त्यस बखत श्री ५ ज्ञानेन्द्रको उमेर साढे तीन वर्ष भएपनि निकै तेजिलो देखिन्थे, श्रीपेच लगाएपछि गरिएको अभिनन्दन ग्रहण काइदासँग गरिरहेका थिए । अपूर्व सम्मान र सत्कारले अति हर्षित देखिन्थे।’

मिलेन अन्तर्राष्ट्रिय समर्थन

त्रिभुवनको कदमबाट श्री ३ मोहन शमशेर अवस्य हताश थिए । तर, आवेशमा निर्णय गर्ने काम भने गरेनन् । त्रिभुवनका नाति शाहज्यादा ज्ञानेन्द्रलाई राजा बनाएर भएपनि राजतन्त्रलाई निरन्तरता दिने निर्णयमा पुगे । राजा बनाएलगत्तै श्री ५ ज्ञानेन्द्रको नाममा तुरुन्तै १ रुपियाँ दरको चाँदीको टक चलाउने निर्णय पनि गरे।

अब बृद्ध श्री ३ मोहन शमशेर र नाबालक राजा श्री ५ ज्ञानेन्द्र दुबै एउटै ‘डुंगामा सवार यात्री’ बनेका थिए । ज्ञानेन्द्रले अन्तर्राष्ट्रिय मान्यता पाए मोहन शमशेरलाई आफ्नो शासनलाई निरन्तरता दिन सहज हुन्थ्यो । ज्ञानेन्द्रले मान्यता नपाउँदा उनको शासन पनि धरमराउँथ्यो।

भारतले त्रिभुवनलाई राजदूतावासमा शरण दिएको थियो । त्यसैले, ज्ञानेन्द्रलाई राजाको रुपमा मान्यता दिने कुरै थिएन। अर्काे छिमेकी चीनसँग नेपालको कुटनीतिक सम्बन्ध स्थापना नै भएको थिएन । त्यसैले, चीनबाट समर्थनको अपेक्षा पनि मोहन शमशेरले गरेनन् । चीनले समर्थन गर्दा भारतबाट अझ बित्यास पर्छ भन्ने पनि उनलाई पर्यो होला।

हुन त, बेलायती राजदूत फल्कोनरले राणा सरकारले जसलाई राजा बनाउँछ, त्यसलाई मान्यता दिने बचन दिएका थिए । तर, त्रिभुवनलाई पदच्युत गरेर राजा बनाइएका ज्ञानेन्द्रलाई मान्यता नदिन भारतले अन्तर्राष्ट्रिय लविङ थालिसकेको थियो।

अब बेलायतपनि ज्ञानेन्द्रलाई राजा बनाउने मोहन शमशेरको कदमलाई मान्यता दिनबाट हच्क्यो । पछि उसले नेपाली जनता के चाहन्छन्, त्यो बुझ्न एउटा प्रतिनिधिमण्डल काठमाडौँ पठायो । तर, त्यो प्रतिनिधिमण्डलले देख्यो, नेपाली जनता मोहन शमशेर र नयाँ राजा ज्ञानेन्द्रको पक्षमा होइन, त्रिभुवनकै पक्षमा छन्।

ज्ञानेन्द्रलाई राजाको रुपमा मान्यता दिने एउटा मात्र मुलुक भारतको प्रतिद्वन्द्वी मुलुक पाकिस्तान मात्र थियो । भारतका लागि नेपाली राजदूत सिंह शमशेरलाई पाकिस्तानले श्री ५ ज्ञानेन्द्रलाई राजाको रुपमा मान्यता प्रदान गर्दै नयाँदिल्लीस्थित आफ्नो हाइकमिस्नरमार्फत् पत्र पठाएको थियो।

यस सम्बन्धी समाचार रेडियो पाकिस्तानले कराँचीमार्फत् प्रशारण पनि गरेको पाँडेले ‘त्यस बखतको नेपाल’ मा उल्लेख गरेका छन् । तर, पाकिस्तानले दिएको समर्थन सार्वजनिक गर्न मोहन शमशेर हिचकिचाए।

पाँडे लेख्छन्, भारतको शत्रुलाई भारतले स्वतः आफ्नो मित्रु ठान्ने त्यस बेलामा, पाकिस्तानको त्यो मान्यता नेपालले प्रचार गर्नु माने भारतलाई चिढ्याउनु जस्तो हुन जान्छ भन्ने विचारले नेपाल सरकारले खामोस खायो । पाकिस्तानको मान्यता नेपालले गुपचुप राख्नुको खास कारण हो, ब्रिटेनले मान्यता दिन गरेको ढिलासुस्ती।’

त्यो बेलाको ‘द्वैध शासन’ को स्थिति यस्तो थियो: एकातिर बैधानिक राजा श्री ५ त्रिभुवन चन्द्र शमशेरले छोरा कृष्ण शमशेरका लागि निर्माण गरिदिएको शितल निवासमा थिए भने अर्काेतिर तिनै चन्द्रले निर्माण गरेको सिंहदरवारमा चाहिँ श्री ३ मोहन शमशेरले राजा बनाएका श्री ५ ज्ञानेन्द्र राखिएका थिए।

एउटै मुलुकभित्र दुई-दुई जना राजा रहेको स्थिति ४ दिन रह्यो । २६ कार्तिकमा जब राजा त्रिभुवन सपरिवार नयाँदिल्ली प्रस्थान गरे, त्यसपछि २००७ फागुन पहिलो हप्तासम्म ज्ञानेन्द्र ‘बेबी किङ’ (बालक राजा) को रुपमा नेपालको गद्दीमा निर्वाध रुपमा रहे।

नेपाली कांग्रेसको नेतृत्वमा भएको सशस्त्र संघर्षको सफलता र दिल्ली सम्झौतासँगै ४ फागुन २००७ मा त्रिभुवन स्वदेश फर्केपछि गद्दीमा त्रिभुवनको पुनर्वहाली भयो । त्रिभुवन गद्दीमा पुनर्वहालीमात्र भएनन्, सँगसँगै १०४ वर्षे राणा शासनको अन्त्य भयो । त्रिभुवन नफर्कंदासम्म उनी ‘श्री ५ महाराजधिराज’ थिए, फर्केपछि पूर्ववत ‘श्री ५ शाहज्यादा’ मा रुपान्तरित भए।

जीवनकालमा ज्ञानेन्द्रले दुई दुई पटक राजा बन्ने ‘अवसर’ त प्राप्त गरे । तर, पहिलो पटक राजा बनाइँदा राणा शासनको पतन हुन पुग्यो । दोस्रो पटक राजा हुँदा चाहिँ राजतन्त्र नै पतन भएको ‘दुर्भाग्य’ बेहोर्नु पर्यो।

Related Articles

Back to top button
Close