शनिबार ०९ साउन २०७८

काठमाडौ। कुरा गर्दागर्दै रमिला श्रेष्ठ एकछिन टोलाउँथिन् र हामीलाई भनिरहन्थिन्– मलाई पहिलाको कुरा धेरै नगर्नु न डर लाग्छ । उनको अनुहारमा तनावका धर्सा देखिएपछि हामीले पनि भूकम्पका विषयमा उनलाई धेरै सोध्न उचित ठानेनौँ । तर, कुरा गर्दै जाँदा उनी आफैँ प्रसंग निकाल्थिन् र सन्दर्भ लम्बिँदै जान्थ्यो ।

तीन दिनअघि उनले फेरि भूकम्प गएको सपना देखिन् । यो तीन वर्षमा उनले भूकम्प गएको सपना सयौँपटक देखिसकिन् । बिहानपख उनलाई बेस्सरी खाट हल्लिएजस्तो हुन्छ र उनी असिनपसिन हुँदै उठ्छिन् । म भूकम्प गएको सपना देखिरहन्छु तीन दिनअघि पनि देखेकी थिएँ । सपनामा खाट हल्लिएजस्तो लाग्छ, आफूले बारम्बार देख्ने सपना सम्झिँदै उनले सुनाइन्, त्यस्तो सपना देख्दा अबचाहिँ बाँच्दिनँ किजस्तो पनि लाग्छ ।

भूकम्पको सपना उनी प्रायः बिहानपख देख्छिन् । सपनाबाट ब्युँझिएपछि उनलाई असाध्यै डर लाग्छ र फेरि निदाउनै सक्दिनन् । बारम्बार देखिने त्यही सपनाले उनलाई लखेटिरहन्छ । यस्तो सपना कहिल्यै नदेखिए पनि हुन्थ्यो भन्ने लाग्छ, तर देखिरहन्छु, उनी भन्छिन् ।

०७२ वैशाख १२ गते उनी साथीसँग धरहरा चढ्न पुगिन् । धरहराको टुप्पोबाट फेदमा मान्छेहरू किरिङमिरिङ देखिन्थे । गाडीको गोलाकार धर्सो टुँडिखेललाई केन्द्र पारेर चलायमान थियो ।

रामेछापबाट काठमाडौं घुम्न आएकी उनलाई धरहरामाथिबाट काठमाडौं हेर्दा मज्जा लाग्यो । तर धरहराको माथिल्लो उचाइबाट काठमाडौं हेर्दा लागेको खुसी धेरै बेर टिक्न सकेन । एक्कासि हावा चलेजस्तो लाग्यो उनी थुचुक्कै भुइँमा बसिन् । त्यसपछि के भयो उनलाई थाहा छैन ।

होसमा आउँदा बेस्सरी घामले पोलेजस्तो भयो । भित्र कहाँ–कहाँ पीडा भएजस्तो, मुख सुकेजस्तो लागेको थियो । फेरि धुम्म भयो । छिनछिनमा होस आउँदै–जाँदै गरेको थियो । होसमा आएका वेला खुट्टा पसारेर बसेको अवस्थाको सम्झना छ,उनलाई । खुट्टा चलाउन खोजिन्, तर सकिनन् । खुट्टा चल्दै चलेन । आफ्नो खुट्टा भाँचिएको थाहा पाउन उनलाई धेरै बेर लागेन ।

ला यस्तो भयो,अब ममी–ड्याडीले मार्नुहुन्छजस्तो लाग्यो,एकदमै डर लागेको थियो,’तीन वर्षअघिको घटना सम्झिँदै उनले भनिन् ।

एकैछिनमा उनलाई कसैले वीर अस्पताल पुर्‍यायो । कसले लग्यो उनलाई अझैसम्म थाहा छैन । साँझपख एकजना दिदीले दिउँसोको घटना सम्झाएपछि बल्ल भूकम्प गएको र आफू धरहराबाट खसेर पनि बाँच्न सफल भएको उनलाई थाहा भयो । त्यसपछि यति धेरै खुसी भएँ कि भन्नै सक्दिनँ,धरहराबाट खसेर पनि बाँचेको कुराले मलाई दोस्रो जुनी पाएजस्तै लाग्यो,उनले सुनाइन् ।

भूकम्पपछिको एक वर्ष भने सुखद रहेन,उनको । भाँचिएको खुट्टा निको भएन । दुवैतर्फ काखीमा वैशाखी च्यापेर जसोतसो घरवरपर डुल्न त सक्थिन्, तर धेरै टाढा हिँड्न सकिनन् । खुट्टामा राखेको स्टिल हल्लिन थालेपछि उनलाई अब कहिल्यै खुट्टा निको हुँदैन जस्तै लाग्यो । मेरो अप्रेसन बिग्रिएछ,हिँड्दा खुट्टामा राखेको स्टिल हल्लिन्थ्यो,डाक्टरले ६–७ महिनामा निको हुन्छ भनेका थिए,तर निको भएन,उनले भनिन्,त्यो एक वर्ष म रोईरोई बाँचेँ,नरोएको दिन नै हुँदैनथ्यो ।

एक वर्षपछि उनलाई निको भयो । काखीबाट वैशाखी उत्रियो । त्यसपछि भने उनलाई विछट्टै खुसी लाग्न थाल्यो । भाग्य’ले दोस्रो जुनी पाएको ठानेकी उनलाई जीवनमा केही गर्नैपर्छ भन्ने लाग्छ । ‘यत्रा मान्छे मर्दा पनि म बाँचेकी छु,जीवनमा केही गर्नैपर्छजस्तो लागेको छ,उनी भन्छिन् ।

घाइते भएर उनी एक वर्ष ओछ्यान परिन् । पढाइ छुट्यो, साथीहरू छुटे । भूकम्प जाँदा १७ वर्षकी उनी रामेछापकै सेतीदेवी उच्च माविमा ९ कक्षामा पढ्दै थिइन् । काठमाडौं घुम्न आएको समयमा दुर्घटनामा परिन् । त्यसपछि बुबासँगै काठमाडौंमा बस्न थालिन् । बाफलको अमरज्योति उच्च माविमा भर्ना भइन् ।

यसपालि एसइई परीक्षा दिएकी उनी एसइई पास भएपछि बिजनेस म्यानेजमेन्ट पढ्ने सोचमा छिन् । लक्ष्यचाहिँ सरकारी जागिर खाने छ, उनको । मलाई जे पनि गर्न सक्छुजस्तो लाग्न थालेको छ,सरकारी जागिर खाने इच्छा छ रमिलाले आफ्नो लक्ष्य सुनाइन् ।

३८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया