समाचार

१४ दिन लकडाउन गर्न आग्रह : ७ दिन अत्यावश्यकबोहकका सेवा, बजार र यातायात बन्द गर्ने निर्णय

बागलुङ । बागलुङ बजारमा कोरोना संक्रमण बढ्न थालेपछि उद्योग वाणिज्य संघले लकडाउन गर्न आग्रह गरेको छ । उद्योग वाणिज्य संघले १४ दिन लकडाउन गर्न जिल्ला प्रशासन कार्यालय र बागलुङ नगरपालिकालाई आग्रह गरेको छ ।संघको हिजो बसेको बैठकले समुदायमा थप संक्रमण फैलिन सक्ने जोखिम रहेको भन्दै लकडाउनको लागि आग्रह गरेको हो ।

संक्रमण थप फैलिन नदिनका लागि आफूहरु व्यवसाय बन्द गर्न तयार रहेको भन्दै संक्रमण न्यूनिकरणका लागि आफूहरुले सक्दो सहयोग गर्ने संघका महासचिव नरेश कँडेलले बताए ।उनले बैंक तथा वित्तीय संस्थासहित अन्य व्यवसाय १४ दिन बन्द गर्ने गरी जिल्ला प्रशासन र बागलुङ नगरपालिकालाई पत्राचार गरेको जानकारी दिए । बागलुङमा अहिलेसम्म ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ सय ७९ जना आइशोलेसनमा छन् ।

बागलुङ बजार एक साता बन्द
कोरोना रोकथामका लागि बागलुङ नगरपालिका–१, २, ३ र ४ वडा आज मध्यरातदेखि लागू हुने गरी एक साताका लागि बन्द गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा आज बसेको सर्वपक्षीय बैठकले सदरमुकामका चार वडामा अत्यावश्यकबोहकका सेवा, बजार र यातायात बन्द गर्ने निर्णय गरेको हो ।

बैङ्क तथा वित्तिय संस्था पनि बन्द हुने जनाइएको छ । यसअघि बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य सङ्घलेसमेत कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बन्दाबन्दी गर्न जिल्ला प्रशासन कार्यालयललाई अनुरोध गरेको थियो । खाद्यन्न, तरकारी, दूध, औषधि, एम्बुलेन्सलगायतका अत्यावश्यक सेवा भने सुचारु रहने छन् ।

दैनिक उपभोग्य सामग्रीको किनमेलका लागि बिहान ७ देखि ९ बजेसम्मलाई समय तोकिएको प्रजिअ न्यौपानेले जानकारी दिनुभयो । यस्तै मध्यपहाडी पुष्पलाल लोकमार्ग र कालिगण्डकी करिडोरमा चल्ने सवारीसाधन भने नियमित सञ्चालन हुनेछन् । ती सवारीसाधनले बजार क्षेत्रमा प्रवेश गरी यात्रु चढाउन र ओराल्न भने पाउने छैनन् ।

सम्बन्धित वडा कार्यालयबाट प्रवाह हुने सेवा पनि बन्दको अवधिमा स्थगित गर्ने निर्णय गरिएको छ । औषधि, खाद्यान्न खरिद र अत्यावश्यक काममाबाहेक घरबाहिर ननिस्कन जनसाधारणलाई अनुरोध गरिएको प्रजिअ न्यौपानेले बताउनुभयो । सरकारी कार्यालय र सार्वजनिक संस्थाले सकभर विद्युतीय माध्यमबाट सेवा दिने र कर्मचारी उपस्थति हुनै पर्ने स्थितिमा भिडभाड नगरी कार्यालय सञ्चालन गरिने भएको छ ।

बैठकले नजिकिएको पर्व तिहारमा खेलिने देउसी भैलोलाई पनि रोक लगाउने निर्णय गरेको छ । बागलुङ बजार क्षेत्रमा सङ्क्रमण बढेकाले समुदायमा फैलनबाट रोक्न नचाहेर पनि बन्दाबन्दी गर्नुपरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । उहाँका अनुसार सदरमुकाममा मात्र अहिले २५ जना सक्रिय सङ्क्रमित छन् ।

Related Articles

Back to top button
Close