समाचार

सडक किनारमा फेला पर्यो पैसा र गहनाले भरिएको ब्याग

काठमाडौ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले सडकमा एक लाख रुपैयाले भरिएको ब्याग फेला पारेका छन् । ब्यागमा नगद पैसा बाहेक मोवाइल र केही गहना पनि थियो । प्रहरीले भेटाएको करिब रु एक लाख नगद, मोबाइल र गहना सम्बन्धित व्यक्तिलाई बुझाइएको छ ।

बिहीबार दिउँसो साढे ४ बजेको समयमा टीकापुर–लम्की सडकखण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दार नरबहादुर ठगुन्नाले सडक किनारमा रातो ढाकाको लेडिज ब्याग फेला पारेका थिए । सो ब्याग नगदले भरिएको थियो ।

फेला परेको झोलाभित्र रु ९९ हजार ६४० नगद, मोबाइल, एक जोर पाउजु र एटीएम कार्ड रहेको थियो । झोला टीकापुर नगरपालिका–१ ब्लक नं १९ का मञ्जु कुँवरको रहेको र उनलाई बोलाई जिम्मा लगाएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए ।

Related Articles

Back to top button
Close