बिहिबार ०७ आश्विन २०७८

नेकपा ९एकीकृत समाजवादी० अध्यक्ष माधवकुमार नेपालले जबरजस्ती एमसीसी पास गर्न खोजिए सरकार ढालिदिने चेतावनी दिएका छन् । आफूले भनेको नमाने तत्काल सरकारबाट बाहिरिएर सरकार ढालिदिने चेतावनी दिएका हुन् ।

कुर्सी र सत्ताका लागि आफूहरुले देशको सुरक्षामा आँच आउने कुनै पनि सम्झौताको समर्थन नगर्ने उनले घोषणा गरेका हुन् । नेपालगञ्जमा आयोजना गरिएको युवा संघ नेपाल लुम्बिनी प्रदेश भेलाको उद्घाटन तथा पिपुल्स भोलियन्टियर घोषणा कार्यक्रममा सम्बोधन गर्दै नेता नेपालले यस्तो घोषणा गरेका हुन् ।

उनले एमसीसी उपाध्यक्ष फतिमा सुमारलाई पनि आफूले परियोजनाले नेपालको स्वाधिनता, सुरक्षा स्वतन्त्रता र सार्वभौमसत्तामा कुनै पनि प्रभाव पार्ने छैन भन्ने कुरामा विश्वस्त नभएसम्म स्वीकार नगरिने बताएको उल्लेख गरे ।

अध्यक्ष नेपालले एमसीसी प्रति लक्षित गर्दै देशको स्वाधिनता, स्वतन्त्रता र सुरक्षामा आँच आउने कुनै पनि सम्झौता आफ्नो पार्टीलाई स्विकार्य नभएको समेत बताए । संविधान, व्यवस्था र संघीयता समाप्त गर्ने षडयन्त्र गरिएपछि सो जोगाउन पाँच दलीय गठबन्धन बनेको बताउँदै उनले आगामी निर्वाचन र त्यसपछि पनि गठबन्धन कायम रहने बताए ।

मुलुकमा पाँच दलको वाम लोकतान्त्रिक गठबन्धन र केपी ओलीको एमाले, राप्रपा लगायतको दक्षिणपन्थी गठबन्धन गरेर दुई गठबन्धन रहेको बताउँदै उनले दक्षिणपन्थीहरु हराएर जाने दावी गरे ।

केपी ओलीले विदेशीसँग लम्पसार भएर आफू सत्तामा टाँसिरहनका लागि मात्रै दुई पटक प्रतिनिधिसभा भंग गर्नुका साथै संघीयता समेत समाप्त पार्ने षडयन्त्र गरेको आरोप नेता नेपालको थियो ।

नेकपा एमाले केपी ओलीको निजी कम्पनीमा परिणत भएपछि आफूहरुले एकीकृत समाजवादी गठन गरेको बताउँदै पार्टीको गठनसंगै देशभरी नयाँ तरंग फैलिएको बताए ।

कार्यक्रममा युवा संघका केन्द्रिय अध्यक्ष नरेशकुमार साही, पूर्वमन्त्री दलबहादुर सुनार, युवा संघ लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापा लगायत केन्द्रिय सदस्यहरुले पनि एकिकृत समाजवादी पार्टी देशकै ठूलो पार्टी बन्ने बताएका थिए ।

नेता नेपालले बाँकेमा पार्टीको जिल्ला कार्यालयको शुभारम्भ गर्दै कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न वर्गिय संगठनका अगुवाहरु तथा पार्टी नेता तथा कार्यकर्ताहरुसंग भेटघाट समेत गरेका थिए ।

९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया