बिहिबार ०७ आश्विन २०७८

काठमाडौं, १८ भदौ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा ल्याएको सुन सहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

बिहीबार साँझ प्रहरीले डोल्पा ठुलो भेरी नगरपालिका ७ घर भएका ३३ वर्षीय विष्णु बहादुर शाहीलाई नियन्त्रणमा लिएको हो। उनको साथबाट प्रहरीले ७ सय ७० ग्राम सुन बरामद गरेको हो।

फ्लाई दुबईको विमानबाट आएका शाहीलाई विमानस्थल भन्सार कार्यालयको एक्सरेमा प्रहरीले जाँच गर्ने क्रममा लगेजभित्र रहेको इमरजेन्सी लाइटमा सुन फेला परेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै प्रहरीले सुन लिन आएका स्याङ्जा पुतली बजार घर भएका ३८ वर्षीय भूपेन्द्र पौडेललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यस्तै, जागिर लगाईदिन्छु भनि विभिन्न ५ जना व्यक्तिहरू मार्फत् नगद ७ लाख ५५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा यमूनामाई गाउँपालिका १ बस्ने ४२ वर्षीय विनय राउत कुर्मीलाई सोही गाउँपालिकास्थित सुकदेवचौकबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

विनयले पीडितहरूलाई गत वैशाख २० गते दिउँसो गौर नगरपालिका ८ स्थित झोलुङगेपुल नजिक बाँसघारीमा बोलाई चिनजान गरी प्रलोभन र गफलतमा पारी मेरो प्रहरीमा राम्रो सम्पर्क छ, भगौडा प्रहरीको खाली ठाउँमा जागिर लगाईदिन सक्छु, सो भएन भने विदेशमा राम्रो काममा पठाई दिन्छु भन्दै उक्त नगद ठगी गरी फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीउपर जिल्ला अदालत रौतहटबाट ठगी सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमती प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

१४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया