समाचार

काठमाण्डौको मेरियट होटेल विश्वकै उत्कृष्ट होटलमा छनोट, जहाँ बसेको एक रातको १४ हजार देखि २ लाख ५० हजार सम्म पर्छ (तस्विरसहित)

काठमाडौं- चेन होटल मेरियट काठमाडौं विश्वकै उत्कृष्ट होटलमा छानिएको छ । विश्वभर रहेका पर्यटकीय गन्तव्य र होटलबारे समिक्षा प्रकाशन गर्ने साइट ट्रिप एडभाइजरले सन् २०२० को ‘ट्राभलरर्स च्वाइस अवार्ड’ नेपालबाट मेरियट काठमाडौंलाई प्रदान गरेको हो ।

ट्रिप एडभाईजरले लाखौं पर्यटकहरुले गरेको समिक्षा, रेटिङ, सुरक्षाजस्ता विषयलाई आधार बनाएर उत्कृष्ट होटल छनौट गर्दै आएको छ । सोही अनुरुप नेपालको एमएस ग्रूपद्वारा संचालित चेन होटल मेरियट काठमाडौं ‘ट्राभलरर्स च्वाइस २०२०’ विजेता बनेको हो । सन् २०१९ को अप्रिलबाट संचालनमा आएको सो होटलले छोटो अवधिमै यस अघि ५ वटा अवार्ड पाइसकेको छ ।

पछिल्लो समय संचालनमा आएको पाँच तारे होटलले ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरेको भन्दै विभिन्न संस्थाबाट अवार्ड पाएको थियो । ट्रिप एडभाईजरले विश्वको होटलमध्ये २०२० मा उत्कृष्ट १० प्रतिशत होटलमा पर्न सफल भएको भन्दै उक्त अवार्डबाट सम्मानित गरेको हो ।

विश्वभर रहेका पर्यटकीय गन्तब्य र होटलबारे समिक्षा प्रकाशन गर्ने साइट ट्रिप एडभाइजरमा हाल १४ लाखभन्दा बढी होटलहर आवद्ध रहेका छन् । जसमध्ये नेपालबाट होटल मेरियट काठमाडौंलाई छनौट गरेको हो । एमएस ग्रूपले बनाएको उक्त होटलमा २१४ कोठा रहेका छन् ।

होटलमा १९३ डिलक्स रुम, २० स्वीट छन् । मेरियट इन्टरनेशनलको क्लासिक लक्जरी सेगमेन्टको उक्त होटलको व्यवस्थापन भने मेरियटले हेर्दै आएको छ । कुल १३ रोपनी क्षेत्रफलमा फैलिएको सो होटल १३ तलाको रहेको छ ।

नक्साल, नागपोखरीबाट केही पाइला दक्षिणतिर अघि सार्दा बायाँ तिर ठडिएको काठमाडौं मेरियट होटलमा ठ्याक्कै नजर पर्छन् । २० वर्षपछि काठमाडौंमा थपिएको यो पाँच तारे होटल १३ रोपनीमा फैलिएको छ । यहाँभित्र पसेपछि विदेशको कुनै सुविधा सम्पन्न होटलभित्र छु कि जस्तो भान हुन्छ । नहोस् पनि किन हस्पिटालिटी क्षेत्रमा संसारमै अब्बल म्यानेजमेन्ट ठानिएको अमेरिकन कम्पनी मेरियट इन्टरनेशनलले यसको व्यवस्थापनको जिम्मा लिएको छ ।

मेरियट इन्टरनेशनल त्यही अमेरिकन चेन ब्राण्ड कम्पनी हो, यस अन्र्तगत संसारभर ७ हजार होटलहरू संचालित छन् । एमएस ग्रुप र मेरियट इन्टरनेशनलबीच बीस वर्षका लागि सम्झौता भएको हो । नेपालमा चिनी र हाउजिङ लगायतका व्यवसायमा हात हालेको एमएस समूहले चार अर्बको लगानीमा काठमाडौं मेरियट होटल शुरु गरेको हो । जसका अध्यक्ष हुन्, शशीकान्त अग्रवाल । एमएस ग्रुप अन्र्तगतको एभरेष्ट हस्पिटालिटी ग्रुपले साढे २ वर्षअघि ठमेलमा फेयरफिल्ड होटल पनि सञ्चालनमा ल्याएको थियो ।

अहिले भने काठमाडौं मेरियट होटलकै प्रसंगमा फर्कौं । शहरको भीडभाडबीच ठडिएको यो भव्य १३ तले होटलभित्र आकर्षक पेन्टिङ, पानीका फोहरा, ठूलो घण्टा देख्न सकिन्छ । जम्मा २ सय १४ वटा कोठा भएको यो पाँच तारे होटल हो । र गएको नयाँ वर्ष वैशाख १ मा सफ्ट लन्च गरिएको हो । होटलमा १ सय ९३ डिलक्स रुम, २० वटा स्वीट रुम, एउटा प्रेसिडेन्सियल रुम छन् । होटलका विशेषताका वारेमा सञ्चालक शशीकान्त अग्रवाललाई भन्छन् ‘लोकेसनका हिसाबले यो होटल सबैभन्दा उपयुक्त स्थानमा रहेको छ ।’

सोल्टी र हयात जस्ता होटलमा मानिसहरूको चाप रहेको र त्यहासम्म मानिसहरु पुग्न धेरैले रुचाउँदैनन् । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट यो होटल खासै टाढा नरहेकाले विदेशी पर्यटकहरुको रोजाइमा पर्ने बताए । यसबाहेक होटलभित्रै जिम, स्पा, ब्यांकेट, स्विमिङ पुल, बेकरी, ब्युटी पार्लर, एरोबिक रुम, रेस्टुराँ, बार, क्याफेटेरिया, सैलुन, टेलिफोन बुथ, लन्ड्री रुम, क्यासिनो लगायतका सुविधा उपलब्ध छन् । केही समयपछि जिम क्लवमा भने सर्वसाधारणका लागि खुल्ने छ ।

२ सय १४ वटा कोठा रहेको काठमाडौं मेरियटभित्र एउटा प्रेसिडेन्सियल रुम छ । यो रुम विदेशी राष्ट्र प्रमुखहरुलाई लक्षित गर्दै बनाइएको हो । जुन प्रयोग गरेवापत एक दिनकै साढे २ लाख रुपैंया“ तिर्नुपर्छ । ‘तर पैसा तिर्ने हो भने जो कोही यो रुममा बस्न सक्छन् ।’ सञ्चालक अग्रवालले सुनाए ‘प्रेसिडेन्सियल रुमले ८ वटा कोठा बन्ने स्थान ओगटेको छ ।’ यो बाहेक अरु कोठाको भने १४ हजार देखि १ लाख रुपैंया“ रेट तोकिएको छ । डिलक्स रुमका १५ हजार र सुइट रुमका लागि पचास हजार रुपैंया“ शुल्क तोकिएको छ ।

सञ्चालक अग्रवालका अनुसार काठमाडौं मेरियट होटलमा स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि बेग्ला–बेग्लै रेट तोकिएको छ । लक्षित बजार यही नै हो भन्ने निश्चित त छैन । खर्च गर्न सक्ने जो कोही यो होटलमा खान, बस्न सक्छन् ।

नेपालमा आफैले व्यवस्थापनको जिम्मा लिएका मल्ल होटल, सांग्रिला होटल, याक एण्ड यति लगायतका अन्यले पनि राम्रै गरिरहेका छन् । पर्यटन क्षेत्रमा एमएस गु्रप नयाँ भएकाले आफैले रिस्क लिन नचाहेर मेरियट इन्टरनेश्नललाई जिम्मा दिइएको अग्रवालले सुनाउँछन् । आफैमा ख्याती कमाइसकेको, अन्तर्राष्ट्रिय ब्राण्ड मेरियट इन्टरनेशनलाई म्यानेजमेन्टको जिम्मा दिएपछि अग्रवाल ढुक्क छन् । होटलको आर्किटेक्ट, इन्टेरियर डिजाइन लगायत कामको जिम्मेवारी मेरियट इन्टरनेशनलले लियो भने सिई कन्सट्रक्सनले होटल निमार्ण जिम्मा लियो ।

होटलको लबिमा बसिरहँदा नेपालको कला, संस्कृति झल्किने खालका पेन्टिङहरु सजाइएका छन् । १३ तले होटलका कोठाहरुबाट समेत काठमाडौंलाई नियाल्न सकिन्छ । उपत्यकाका डाँडाकाँडा र यहाँबाट देखिने हिमश्रृंखला नियाल्नुको मजा अर्कै छ । यो होटलले २ सय २० जनालाई रोजगारी दिलाएको छ ।

सञ्चालक अग्रवालले अझ त्यो संख्या विस्तार गरेर २ सय ८० जना पुर्याउने लक्ष्य राखेका छन् । मेरियट होटलको मेनुमा कन्टिनेन्टल फुडका साथै चाइनिज, जापनिज नेपाली परिकारहरु उपलब्ध छन् । एकै पटक १ हजार जनालाई खाना सर्भ गर्न सक्ने क्षमता छ होटलसँग । अहिले १ सय ६० वटा गाडी पार्किङ गर्न सकिनेछ । तल हेर्नुहोस केहि तस्विर

Related Articles

Back to top button
Close