बुधबार ०६ आश्विन २०७८

पछिल्लो समय महामारीका कारण सिनेमा हलहरु बन्द छन् । सिनेमा निर्माण कार्य पनि ठप्प छ । तर यही समयमा एम नयाँ फिल्य युट्युवमा आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा जुटेको धुमुर्स सुन्तली अर्थात् सीताराम कट्टेल र कुञ्जना घिमिरेले आफ्नो निर्माण निर्देशनमा नयाँ चलचित्र ‘म त मर्छु कि क्या हो’ निर्माण गरेका छन् । यो चलचित्रलाई यतिबेला यी दम्पतीले डिजिटल प्लेटफर्मबाट रिलिज गरेका छन् ।

लगातार पाँच महिनादेखि सिनेमा हल बन्द भएको र अब कहिले खुल्ने भन्ने टुंगो नभएका कारण आफूहरूले यो चलचित्रलाई डिजिटल प्लेटफर्मबाट रिलिज गरेको कुञ्जना घिमिरेले शुक्रबार राजधानीलाई बताइन् ।

‘हामीले यो नयाँ चलचित्रलाई यो हो मुभिज एप्सबाट रिलिज गरेका छौं । हाम्रो चलचित्र म त मर्छु कि क्या हो हेर्नका लागि सुरुमा यो हो मुभीको एप्स डाउनलोड गर्नुपर्छ ।’ कुञ्जनाले भनिन्, ‘त्यसपछि सो एप्समा चलचित्र म त मर्छु कि क्या हो क्लिक गरेर ३ सय २० रुपैयाँ तिरेपछि हाम्रो चलचित्र एक सो मज्जाले हेर्न पाइन्छ ।’

अहिलेको अवस्थामा सिनेमा हल बन्द रहेको र महामारीका कारण अझै पनि बाहिर हिँड्डुल गर्न गाह्रो भएको बेला घरमै बसेर दर्शकलाई चलचित्र हेर्न सजिलो होस् भनेर यो एप्समार्फत रिलिज गरेको पनि कुञ्जनाले बताइन् ।

नेपाली चलचित्र शुक्रबार नै रिलिज गरिने प्रचलनलाई निरन्तरता दिँदै आफूहरूले यो चलचित्रलाई शुक्रबार रिलिज गरेको धुर्मुस अर्थात् सीताराम कट्टेलले राजधानीसँग भने, ‘कोरोना महामारीको बीच रंगशालाको काम रोकिएको मौकामा हामीले यो चलचित्रको छायांकनसँगै निर्माण गरेका हौं । सिनेमा हल नखुल्दा पनि दर्शकले नेपाली चलचित्र घरमै बसेर हेर्न पाउन भनेर हामीले यसलाई डिजिटल प्लेटफर्मबाट रिलिज गरेका हौं ।’

आफूहरूले आर्थिक रूपमा मुनाफाभन्दा पनि दर्शकलाई अहिलेको अवस्थामा मनोरञ्जन र सन्देश दिनका लागि यो चलचित्र निर्माण गरेर रिलिज गरेको पनि उनले प्रकाश पारे । राजधानी दैनिकबाट

८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया