समाचार

घटस्थापनादेखि नै दसैं बिदा दिन सचिवहरूको सुझाव

२८ आश्विन, काठमाडौं ।कोरोना भाइरसको फैलिँदो संक्रमणलाई ख्याल गर्दै विभिन्न मन्त्रालयका सचिवहरूले सरकारलाई यस पटक घटस्थापना देखि नै सरकारी कार्यालय बन्द गर्न सुझाव दिएका छन् ।सरकारको नियमित दसैं बिदा भने कात्तिक ७ गते (फूलपाती) देखि कात्तिक ११ गतेसम्म मात्र छ । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारदेखि प्रधानमन्त्री निवास बालुवाटार, कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र, प्रधानमन्त्रीका सल्लाहकार र मन्त्रीहरूलाई समेत संक्रमण भएपछि सचिवहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर सुझाव दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सचिवहरूले मुख्यसचिव शंकरदास बैरागीलाई भेटेर आफ्ना मन्त्रालय र त्यसअन्तर्गतका कार्यालयमा पनि कोरोना संक्रमित देखिएको उल्लेख गर्दै दसैं बिदा लम्ब्याउन सुझाव दिएका हुन् ।‘दसैंमा घटस्थापनादेखि बिदा दिने भन्नेबारे छलफल हुँदै छ । सुझाव आएका छन् । कुनै निर्णय भइसकेको छैन,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने, ‘संक्रमणलाई रोक्न त्यो पनि एउटा विकल्प छ ।’

सचिवहरूले लामो बिदाको माग गरिरहे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले रुचि देखाएका छैनन् । संक्रमणको यस्तो अवस्था कति लामो समय जान्छ भन्ने यकिन नभएकाले यसरी लामो बिदा दिँदा गलत नजिर बस्ने प्रधानमन्त्रीको भनाइ छ ।एक मन्त्रीका अनुसार विगतमा जस्तै नियमित रूपमा नै कार्यालय सञ्चालन गर्ने तर चाडपर्वका बेला धेरै काम गर्नुपर्ने अवस्था नहुने भएकाले थोरै कर्मचारीलाई प्रयोग गर्न सकिने बुझाइ प्रधानमन्त्रीको छ ।कम कर्मचारीबाट काम गराउने, कार्यालयहरूमा सामाजिक दूरी र स्वास्थ्य अनुशासन राम्ररी पालना गर्ने विधिलाई अझ प्रभावकारी बनाउनुपर्ने पक्षमा उनी छन् ।

Related Articles

Back to top button
Close