बिहिबार ०७ आश्विन २०७८

हराएको भन्दै खोजी भइरहेकी एक किशोरीको शव फेला परेको छ । सर्लाहीको लालबन्दी–१७ रानीगन्जकी १६ वर्षीया प्रियंका भुजेलको शव घरभन्दा करिब ३ किमि पर स्थानीय कालिन्जोर खोलामा गाडिएको अवस्थामा भेटिएको हो ।

छोरी घर नआएको भन्दै बाबु राजन भुजेलले खोजतलासका लागि गत आइतबार इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए । एसपी सन्तोषसिंह राठौरका अनुसार जाहेरी निवेदन आएपछि खोजतलासका क्रममा गाउँका किशोरीको चिनजानका १९ वर्षीय किसान साह र अनिश दाहाल पनि घर नदेखिएको खुलेको थियो ।

‘केटी हराएको भनिएकै दिनदेखि दुवै कता बेपत्ता भए भन्ने पनि शंकाको विषय भयो । दुवैलाई पक्राउ गरेर ल्याएपछि एउटाको बयानका आधारमा लास भेटिएको हो,’ उनले भने, ‘घरबाट किशोरी बेपत्ता भएको जानकारी पाउनासाथ प्रहरी टोली परिचालन गरेर खोजतलास बढाएका थियौं । सोही दिनदेखि गाउँका दुई युवक पनि घरमा नदेखिएको जानकारी पायौं ।’

घटना संवेदनशील भएकाले प्रहरीले तीनै जनाको खोजी गम्भीरतापूर्वक गरेको उनले बताए । ‘महोत्तरीमा आफन्तको घरबाट लुकेर बसेका युवकहरूलाई ल्याएर केरकार गर्दा कालिन्जोर खोलामा शव गाडेको बताए । त्यसपछि आफन्तसहित जनप्रतिनिधि र प्रहरीको टोली मंगलबार साँझ खोलामा पुग्दा किशोरीको शव उनीहरूले भनेकै ठाउँमा भेटियो,’ एसपी राठौरले भने । पक्राउ परेका युवकहरूले ती किशोरीसँग आफूहरूको पहिल्यैदेखि सम्बन्ध रहेको बयान दिएको उनले बताए ।

यता मृतकका आफन्तले बुधबार प्रियंकाको हत्या निर्मलाको जस्तो नहोस् भन्दै बुधबार पूर्व–पश्चिम राजमार्ग २ घण्टा अवरुद्ध पार्दै प्रदर्शन गरेका छन् । किशोरीका बाबु राजनले पक्राउ परेकाहरूविरुद्ध जबर्जस्ती करणी र हत्या अभियोगमा कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । पीडित पक्षको जाहेरी पछि युवकहरूलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । शवको पोस्टमार्टम रिपोर्ट आएपछि थप कुरा खुल्ने एसपी राठौरले बताए ।

८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया